arrow

त्रियुगा नदीको वितण्डा: उडायो सपना सबै हुरीले...

logo
केदार कटुवाल
प्रकाशित २०७८ असार २१ सोमबार
Tri-yuga-pool.jpg

उदयपुर । थुप्रै ठाउँमा पुल भत्किएको समाचार अखबार, रेडियो र टेलिभिजनबाट सुनेका चौदण्डीगढी-५ का स्थानीयले असार १९ गते आफ्नै आँखा अगाडी त्रियुगा नदीले पुल भत्काएपछि निराश भएका छन् । पुलको अभावमा सास्ती खेपिरहेका उनीहरुपक्की पुलबाट सयर गर्ने सपना सिसा फुटे झैं भएको छ ।

हिउँदमा पैदल तर्न सकिने तर बर्षादमा डुङ्गाको सहारा लिनुपर्ने बाध्यतामा रहेका स्थानीयमा त्रियुगा नदीमा २०६६/०६७ सालदेखि एउटा झिनो आशा पलाएको थियो । मोटरेबल पुलको निर्माण सुरु भएपछि स्थानीयको एउटा सपना पुरा हुने अपेक्षा गरेका थिए । ११ बर्षदेखि धैर्यता र प्रतिक्षाको प्रतीक थियो त्रियुगाको पुल । व्यग्र प्रतिक्षाको घडी पूरा हुनै लाग्दा असार १८ र १९ को अबिरल वर्षासंगै आएको भेल बाढीले बगाएपछि पक्की पुलबाट यात्रा गर्ने सपना हुरीले उडाएको हो । 

निर्माण अवधिमा कतिपय स्थानियले आर्थिक देखि भौतिक सहयोग गरेका थिए । स्थानीय बृद्धबृद्धा दिनभर निर्माणाधिन पुलमा बसेर बसेर साँझ घर फर्कन्थे । पुल भत्कने दिन पनि सयौं युवा देखि बुढापाका त्रियुगा नदि किनारमा बसेका थिए ।

मुसलधारे बर्षा र नदीमा अट्टाइ नअट्टाइ भेलबाढी आएपनि पुललाई कुनै क्षति नपुगोस भन्दै कुल देवता, ईष्ट देवता, गाउँ छिमेकका देबी देवता र देउरालीलाई पुकारा गर्दागर्दै दक्षिणतर्फको दोश्रो पिल्लर बाङ्गियो । दुइवटा स्पान नदीमा झर्‍यो । मलिन स्वरमा स्थानीय मंगलु चौधरीले दुखेसो सुनाए ।

बिगतमा यो भन्दा ठुला भेलबाढी आए ,तर पुल थामिएकै थियो । यसैबर्ष सकिन लागेको पुल बगायो । दैबिक प्रकोप र प्राकृतिक बज्रपात पनि हामीमाथि नै आइलागेको बेल्हाका उपेन्द्र चौधरीले गुनासो सुनाए ।

२०६६ सालमा तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिजय कुमार गच्छदारले शिलन्यास गरेको उक्त ११ बर्ष देखि निर्माण कार्य हुँदै आएको थियो । पुल निर्माण सम्पन्न गर्नका लागि अन्तिम पटक २०७६ चैत्र २० गते एक बर्षका लागि म्याद थप भएको हो । दशक विते पनि निर्माण कम्पनीको सुस्तताले काम अघि बढ्न सकेको थिएन ।

ढिलासुस्तीका कारण निर्माण कम्पनीले एक करोड रुपैंयाँको जरीवाना समेत तिरेको आयोजनाले बताएको छ । चौदण्डी गढीको केन्द्र बेलटार बजारलाइ पूर्व पश्चिम लोक मार्गसंग जोड्ने यो पक्की पुल भत्कँदा यसका निकटवर्ती बजार खोटाङको दिक्तेल, चिसापानी, खोटाङ बजार, सिम्पानी, भोजपुरको आमचोक, रामप्रसाद गाउँपालिका र सप्तरीको सप्तकोसी, कन्चनरुप नगरपालिका बासिन्दालाइ प्रत्यक्ष प्रभाव परेको छ ।

चौदण्डीगढी नगरपालिकाको सिवाइ, बेल्ही, सुन्दरपुर हडियालगायत हजारौं सर्बसाधारण बर्षौसम्म जोखिम उठाएर नदी तर्न बाध्य हुनुपरेको छ । पुल निर्माण कम्पनी महालक्ष्मी/लोकप्रिय जेबीले आर्थिक बर्ष २०७०/७१ निर्माण सम्झौता गरेको हो । भ्याट बाहेक ९ करोड ९५ लाख लागत रहेपनि मूल्य समायोजन हुँदा लागत बढेर ११ करोड २७ लाख पुगेको गााईघाट–दिक्तेल सडक आयोजनाले बताएको छ ।

पुलको डिजाइन माटो परीक्षणको जिम्मा स्वाइल कन्सल्टेन्सी कम्पनी काठमाडौंले जिम्मा लिएको हो भने प्राबिधिक तथा आर्थिक जिम्मेवारी गाइघाट दिक्तेल सडक आयोजनाको हो। मदन भण्डारी लोक मार्गमा पर्ने बलामा-ज्यामिरे खोलामा पुल नबन्दा पनि यस बर्षदेखि त्रियुगा पुल सम्पन्न हुन लागेकोमा स्थानीयको हर्षित मुद्रा निराशामा बदलिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ