arrow

जसपामा मेलमिलापको सम्भावना टर्‍यो

logo
आकाश शर्मा,
प्रकाशित २०७८ असार २१ सोमबार
jasapa-rajpa-thakur-yadav.jpg
फाइल तस्बिर

काठमाडौँ। मेलमिलापको लागि निर्वाचन आयोगले मङ्गलवार बिहान ११ बजे जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई बोलाएको छ। आयोगले बोलाएकोमा दुवै पक्षका शीर्ष नेताहरू मङ्गलवार आयोग पुग्ने भएका छन् । तर तत्काल मेलमिलापको सम्भावना टरेको दुवै पक्षले निष्कर्ष निकालेको छ। 

मङ्गलवार दुवै पक्षलाई सहमति कोलागि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। दुवै पक्षले मेलमिलाप गर्न इन्कार गरे भने के हुन्छ भनी सोधिएको जिज्ञासामा उनले भने,‘त्यसपछि आयोगले सुनुवाइ सुरु गर्छ।’

ठाकुर र यादव पक्ष दुवैले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। दुवै पक्षले एकले अर्कोलाई पार्टीबाट निकाला गरेका छन्। आफूले गरेको निकाला वैधानिक भएको दुवै पक्षको दाबी छ। दुवै पक्षले आफू बहुमतमा भएको र बहुमतको आधारमा अर्को पक्षलाई निकाला गरेको दाबी गरेका छन्।

ठाकुर पक्षका नेता केशव झाले अब उपेन्द्र यादव पक्षसँग मिल्ने सम्भावना करिब करिब अन्त्य भएको बताए।‘अहिले उहाँहरू र हाम्रो धार नै फरक भएको छ। उहाँहरू संविधानले दिएको उपलब्धि समेत समाप्त गर्न खोज्नु भएको छ ’झाले भने,‘हामी मधेस आन्दोलनको माग पूरा गर्न लागेका छौँ।’ उपेन्द्र यादव पक्षधर नेताहरू निर्दलयताको बाटोमा जान खोजेको झाले आरोप लगाए।

यादव पक्षका नेता रामसहाय यादवले पनि गल्ती, कमीकमजोरी ठाकुर पक्षका नेताहरूबाट भएको बताउँदै गल्ती, कमजोरी स्वकार गरेर ठाकुर पक्षका नेताहरू आएमा आफूहरूले सहमति कोलागि सोच्न सक्ने प्रतिक्रिया दिए। गल्ती कमजोरी स्वीकार नगरे मेलमिलापको लागि सोच्न पनि नसकिने उनको भनाइ छ। ‘उहाँहरूबाट गल्ती कमजोरी भएको छ। त्यसलाई उहाँहरूले स्वीकार गरेर आउनु भयो भने सहमति कोलागि हामीले सोच्न सक्छौ’ यादवले भने।

दुवै पक्षले अलग अलग पार्टी कार्यालय बनाएका छन्। ठाकुर पक्षले पुरानो राजपाको पार्टी कार्यालय बबरमहललाई आफ्नो पार्टी कार्यालय बनाएको छ। यादव पक्षले पुरानो समाजवादीको पार्टी कार्यालय बालकुमारीलाई आफ्नो कार्यालय बनाएको छ। यादव पक्षका नेताहरूले बालकुमारी पार्टी कार्यालयबाट महन्थ ठाकुर र राजेन्द्र महताको नेम प्लेट र कोठा समेत हटाएका छन्। यतीसम्म कि, दुवै पक्षले एक अर्कोको नाम हटाएर कार्यकारिणी समितिको सूचि बनाएका छन्। 

पार्टी भित्र विवाद सुरु भए पछि एक पक्षका नेताहरू अर्को पक्षसँग भेटघाट र बोलचाल गर्ने गरेका छैनन्। पार्टीभित्र तिक्तता बढ्दै गए पछि दुई पक्षका नेताहरूलाई मिलाउन मध्यस्थकर्ता पनि कोही तयार भएका छैनन्। तत्काल पार्टीभित्र मेलमिलापको सम्भावना टरेको सबैले निष्कर्ष निकालेका छन्। अब प्रश्न एउटा मात्रै छ, आधिकारिकता कसले पाउने।

दुवै पक्षले आधिकारिकताको विषयलाई आफ्नो प्रतिष्ठा बनाएका छन्। पुरानो राष्ट्रिय जनता पार्टीका नेताहरू पुरानो राजपा ब्युँझाउन इच्छुक छन् तर जसपाको आधिकारिताको विषयलाई उनीहरूले आफ्नो प्रतिष्ठासँग जोडेका छन्।

आधिकारिकतालागि पार्टीको नाम भन्दा पनि चुनाव चिन्ह दुवै पक्षलाई प्यारो बनेको छ। जसपाको चुनाव चिन्ह छाता हो। आधिकारिकता जसले पाउँछ, छाता उसको हुन्छ। छाता चुनाव चिन्ह दुवै पक्षलाई मन परेको छ। मधेसमा छाता चुनाव चिन्ह लोकप्रिय भएको दुवै पक्षको बुझाई छ।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादव बहुमतमा छन्। तर अर्का अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवकै सहमतिमा २०७७ पुस ७गते आफूलाई कार्यकारिणी समितिको फेरबदल र पुनर्गठन गर्ने अधिकार आफूलाई दिएको दाबी गर्दे यादव पक्षका कार्यकारिणी सदस्यहरूलाई पार्टीबाट हटाइ आफू निकट २० जना कार्यकारिणी सदस्य थप गरेका छन्।

थप गरेको कार्यकारिणी सदस्य समेत जोड्दा आफूसँग ३८ जना कार्यकारिणी समितिका सदस्यहरूको साथ र समर्थन रहेको दाबी ठाकुर पक्षको छ। तर ठाकुर पक्षको यो दाबीलाई यादव पक्षले किर्ते र जालसाजीको आरोप लगाएको छ। २०७७ पुस ७ गतेको बैठकमा ठाकुरलाई कार्यकारिणी समितिको फेरबदल र पुनर्गठन गर्ने अधिकार नदिइएको यादव पक्षको भनाइ छ।

विघटित संसदीय दलमा भने ठाकुर बहुमतमा छन्। ३२सदस्यीय संसदीय दलमा ठाकुरको पक्षमा २० जना र यादवको पक्षमा १२ जना सांसद छन् तर ठाकुरको पक्षलाई साथ दिएका राज किशोर यादव र अमृता अग्रहरीले  पछिल्लो समय ठाकुरलाई साथ दिएका छैनन्। यद्यपि, उनीहरू यादव कित्तामा पनि पुगेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ