arrow

पार्टी एकताबद्ध बनाउने घोषणा गर्न लागेका छौँ : नेम्वाङ

logo
रासस,
प्रकाशित २०७८ असार २४ बिहिबार
uml-meet-oli-baluwatar.jpg

काठमाडौँ । नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ ।
 
कार्यदलको बिहिवार दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो । एमाले नेता सुवास नेम्वाङले बिहिवार साँझ पुनः कार्यदलको बैठक बसी पार्टीभित्रका सबै समस्या समाधान गरिने बताए । 

दिउँसो बसेको कार्यदलको बैठक थप गृहकार्य गर्न साँझ ७ बजे सिंहदरबारमा पुनः बस्ने छ । यसअघि कार्यदलको तयारी र आपसी परामर्शका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । 

“भरसक बिहिवारै पार्टीभित्रको विवाद समाधानलाई निष्कर्षसम्म पुर्‍याउने हाम्रो जोड हुन्छ”, कार्यदलका नेता नेम्वाङले भने, “जो भइरहेको छ, ठीक भइरहेको छ, सहमतिका आधारमा संयुक्त वक्तव्य आउने कुरा ठूलो  होइन, पार्टी एकताबद्ध बनाउने घोषणा गर्न लागेका हौँ ।” 

उनले पार्टीभित्रको विवाद समाधान गर्न छलफल निरन्तर जारी रहेको र सकारात्मक भएको  बताए । उनले कार्यदलमा गरिएको सहमतिको गृहकार्यबारे शीर्षनेतासँग पनि बैठक बस्नुअघि छलफल गरिने जानकारी दिए । 

एमालेका सचिव गोकर्ण विष्टले छिट्टै विवाद समाधान गर्दै एकताको घोषणा गरिने बताए । उनले लामो समयदेखिको अनौपचारिक छलफललाई कार्यदलको बैठकमार्फत कार्यकर्ता र शुभेच्छुकको चाहनाबमोजिम एकताको कामलाई सार्थक निष्कर्षमा लैजान लागिएको बताए ।

नेता विष्टले भने, “आपसी अविश्वास र बेमेल तथा अप्ठ्यारो स्थितिबाट पार गर्दै हामी निचोडमा पुग्न लागेका छौँ  ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ