arrow

झलनाथ खनाललाई खुला पत्र 

logo
संजिव कार्की,
प्रकाशित २०७८ असार २७ आइतबार
JN-khanal-Snjeev.jpg

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हाल उपचारत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने खबर बाहिरिएपछि विभिन्न कोणबाट टिप्पणी भइरहेको छ । जसलाई विभिन्न सामाजिक अभियन्ताहरुले सरकारको गलत निर्णय भनेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री गगन थापाले उपचार खर्च राज्य कोषबाट दिने काम कानून विपरीत भएको भन्दै आलोचना गरेकाछन् । असार ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेता खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले जनस्वास्थ्य सेवा ऐन, २०७५ ले गरेको व्यवस्थालाई सरकारले बेवास्ता गरेको आरोप लागिरहेको छ । यस विषयमा लेखक संजिव कार्कीले हाम्राकुरामार्फत खुल्ला पत्र लेखेका छन् । 

आदरणीय झलनाथ कमरेड,

अभिवादन !

सर्वप्रथम यहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु । तपाईँलाई उसै पनि धेरै समयदेखि रोगहरूले गाँजेको लामो समय भयो । जुन कुरा धेरैलाई थाहा नहोला । भर्खरै कोभिड १९को दोस्रो प्रकोपले यहाँलाई दुःख दियो र अस्पताल भर्ना भएर वैशाखको अन्त्यतिर बल्लतल्ल निको हुनु भएको छ । खोला तर्ने क्रममा तपाईँ कसैको बुई चढेको फोटो बाहिरियो र तपाईँलाई उपहास गरियो तर त्यसरी बुई चढ्नु रहर र सोख नभएर तपाईँको रोगको बाध्यता भनेर बुझ्ने चेष्टा कसैले गरेनन् । त्यति बेला पनि तपाईँलाई मर्का परेको छ । तर यो किन र कसरी भनेर बुझेर खण्डन कसैले गरेन । म त्यता जान्न तर मर्का बुझेको छु भन्न खोज्या मात्रै हो ।

अनेकौँ समस्याले स्वास्थ्यलाई असर गरेको कारण अहिले नेपालमा उपचार सम्भव नभएर भारतको दिल्ली स्थित एपोलो अस्पतालमा उपचाररत हुनुहुन्छ । पक्कै पनि भारतमा उपचार सस्तो छैन र यो सुनिएको पनि छैन कि तपाईँको औषधि उपचारको खर्च म तिर्छु भनेर कुनै व्यापारी त्यहाँ पुगेको होस् । यस्तो बेला तपाईँको स्वास्थ्यसँग जोडिएको विषयमा केही असहमति र टिप्पणी गर्नुपर्दा म आफैसँग खेद प्रकट गर्दछु । मानवीय भावनामा आघात पर्न गएमा माफी माग्दछु । मेरो पनि तपाईँको उमेर समान कै पिता पटक पटक बिरामी भएर घरमा स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ । म बिरामी घरको हालत र परिवारको मनोदशाबारे थोरै भए नि ज्ञान राख्दछु ।

पिता समानका मान्छेसँग प्रश्न सोध्ने अधिकार त सामाजिक मान्यतामा वर्जित नै हो तर म समाजका असजिला र अवैज्ञानिक परम्परामा आफ्नो विवेकले भ्याएसम्म सवाल जवाफ गरेर तार्किक परिणत पुग्नुपर्छ भन्ने सोच बोक्छु तसर्थ गुनासो, प्रश्न र सुझाव लोकतान्त्रिक शैली हो भनेर बुझ्दछु । जुन कुरा जनवादी केन्द्रीयता छोडेर बहुदलीय प्रतिस्पर्धामा आएपछि तपाईँहरूले पनि अवलम्बन गरेको कम्युनिस्ट पार्टीको प्रजातान्त्रिक करणको अभ्यास हो । प्रश्न सोध्ने र जबाफ दिने प्रक्रियाले जबाफदेहिताको विकासमा सहयोग पुर्‍याउँछ भन्ने विश्वास छ, यसर्थ अन्यथा लिनुहुन्न ।

आदरणीय कमरेड,

नेपालको प्रजातान्त्रिक र वामपन्थी आन्दोलन, नेपालमा बहुदलीय व्यवस्था हुँदै, जन्म श्रेष्ठताको अभ्यास र परम्परा त्यागेर राजतन्त्रको बिदाइ गर्दै गणतन्त्रको यात्रा गराउन यहाँ र यहाँको पुस्ताले जुन कुर्बानी र त्याग गर्‍यो, जत्रो जोखिम मोल्यो त्यसको सम्मान र मर्यादा गर्दै यहाँहरू जस्ता सम्मानित नेतालाई देशले पनि मन्त्री, प्रधानमन्त्री पार्टी अध्यक्ष जस्ता गहन र महत्त्वपूर्ण अभिभारा विभिन्न समयमा सुम्पेर त्यो गुणको पैँचो तिरेको छ । देशलाई हामीले धेरै दियौँ देशले हामीलाई केही दिएन भन्ने अवसर कम्तीमा तपाईँको पुस्ताका नेता कार्यकर्ता जो जुनसुकै पार्टीका हुन तिनलाई अपवाद बाहेक भन्ने ठाउँ छैन । यसमा जनतालाई गर्व नै छ ।

हिजो जेलनेल खपेका, निर्वासन लखेटिएका, दुःख पाएका नेताले देश हाँक्ने मौका पाए तर दुर्भाग्य के रह्यो भने व्यवस्था परिवर्तनको लागि सर्वस्व सुम्पन तयार नेता कार्यकर्ता जनताको अवस्था सुधार्न, शिक्षा स्वास्थ्य रोजगार दिन भने आफ्नो बुता प्रयोग गर्न सकेनन् । बरु स्वास्थ्य शिक्षाको व्यापारीकरण गर्न नीति बनाए । देशमा बिचौलिया दलाल र माफिया राज चलाउन परोक्ष प्रत्यक्ष हात दिए । फलस्वरूप आज नेताले लिने सुविधा, बिरामी हुँदा राज्य कोषबाट लिने रकमको चौतर्फी विरोधको सामना गर्नु परेको स्थिति छ ।

यदि स्वास्थ्य, शिक्षा रोजगारी र सुरक्षा राज्यले सजिलै आफ्नो दायित्व भित्र राख्थ्यो भने आफ्ना नेता कार्यकर्ताको उपचार जहाँ जसरी गरे पनि प्रश्न उठ्ने थिएन । सामान्य विलासीबारे पनि कमै प्रश्न उठ्थे । देश नै जुरुक्क उठेर विरोध गर्दैनथ्यो । बिरामी र उसको उपचार जस्तो संवेदनशील विषय आज कति उपहास व्यङ्ग्य र विरोधको विषय बनेको छ त्यस्तो किन भयो रु गम्भीरतापूर्वक लिनु भएको, सोच्नु भएको छ ? के नेपालीहरूमा मानवीय संवेदना सकिएर नै यस्तो अवस्था आएको हो रु कि मानव हृदय यन्त्र जडित यान्त्रिक मानव अर्थात् हृदयहीन भएर हो ? हात्ती, घोडा, कमिलाको दुखाइ शरीरको आकारमा निर्भर रहन्छ कि उसको संवेदनामा रु पीडा सबैलाई बराबर हुन्छ । होइन भने सर्वसाधारण र निमुखा मान्छेको रोग भोक र शोक अनि वरिष्ठ मान्छेहरूको रोग भोक र शोकलाई किन फरक फरक दृष्टिकोण राख्छ सत्ता ? 

राज्यलाई कर तिर्ने मामिलामा सबै बराबर हुने अनि सेवा सुविधा लिने कुरामा चैँ राज्यको सैद्धान्तिक अवधारणा भन्दा जाने छुट कसरी पाइन्छ ? झन् जनताप्रति समर्पित र  जनता नै सब थोक भन्ने कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई यो सुहाउने विषय हो कि बिझाउने विषय हो ? राज्यमा स्वास्थ्य र शिक्षाको व्यापारीकरण कुन कम्युनिस्ट देश र सिद्धान्तको अनुकरण हो ? नेतालाई मस्ती जनतालाई सधैँ सास्ती के यो कुनै मानवीय व्यवस्था हो रु

पुँजीवादी देश जसमा मानवीयता कम हुन्छ भनेर तपाईँहरू भन्नुहुन्छ त्यस्तो देशहरूले पनि हिच्किचाएको स्वास्थ्य शिक्षाको व्यापारीकरण कम्युनिस्ट पार्टीले राज गरेको मुलुकमा फस्टाउनु र कम्युनिस्ट नेता कार्यकर्ता नै मुख्य व्यापार साझेदार देखिनु कति आश्चर्य र विस्मयको कुरा हो रु कमरेड खनाल सरकारले दिने आराम सहयोग लिने कुरालाई प्राडो चढेर सिलाभरको बटुकोमा भिख माग्न हिँडेको खनाल भनेर चित्रण गरेको देखेर दुःख लागेको छ । के यो दुःख तपाईँ, तपाईँ सम्बद्ध पार्टी अनि तपाईँको परिवारजनलाई लागेन होला र रु अवश्य लाग्यो लाग्छ र लाग्नुपर्छ ।

डियर कमरेड ,

सरकारको उक्त घोषणालाई यहाँले स्वीकार गरेको अस्वीकार गरेको समाचार त सुनिएको छैन तर अस्वीकार नगर्दासम्म स्वीकार गरेको बुझिन्छ त्यसैले यस्तो खेस्रा गरेको छु यसलाई आधार मानेर विज्ञप्ति निकाल्न सविनय अनुरोध गर्दछु । आज तपाईँले देखाउनु भएको त्याग अस्वीकारले ठुलो मानक खडा गर्दछ र भोलि कसैले पनि आपद् नपरी राज्य कोषबाट पैसा लिने कुरालाई निरुत्साहित गर्दछ । एउटा नैतिक बन्धन र मानक खडा गर्न पनि तपाईँले उदाहरणयोग्य निर्णय लिनुपर्ने छ । कसैले न कसैले निर्णय लिनु नै पर्थ्यो र त्यो निर्णय र घोषणा गर्ने ऐतिहासिक अभिभारा तपाईँले लिने अवसर आएको छ यसलाई नचुकाउनु होला ।

असहजता र अभावमा राज्य हुनुपर्छ होइन भने सीमित वर्ग र पहुँच हुनेले मात्रै राज्य कोषबाट रकम लिने कुरा अपराध जत्तिकै हो, आर्थिक अपराध । जनतालाई स्वास्थ्य शिक्षाबाट वञ्चित नगरिएको हुन्थ्यो भने मैले जति शब्द लेखेको छु त्यति नै अपराध र पापको भारी बराबर हुन्थ्यो । धर्मात्मालाई पापीले औँला देखाउनु जत्तिकै । त्यसैले मैँले नमागेको सल्लाह दिएको छु कृपया ग्रहण गर्नु होला । यो सल्लाह तपाईँको भलोमा मात्रै केन्द्रित छैन आम मान्छेको भलाइ र सरोकारमा निहित छ ।

मेरो उपचार खर्च पार्टीले बेहोरिदिने निर्णय सम्म ठिकै थियो । यद्यपि म दोधारमै थिए पार्टीका लाखौँ कार्यकर्ताको रकम एक व्यक्तिको उपचारको लागि कसरी स्वीकार गरौँ रु सहयोग त आर्थिक अवस्था अत्यन्तै कमजोर भएका र उपचार खर्च गर्न नसक्ने पहुँच नहुनेका लागि हो मेरो त्यस्तो अवस्था छैन । तापनि पार्टीको सम्मान हो लिन पनि सकिन्थ्यो भन्ने लाग्दा लाग्दै सरकारले मेरो उपचार खर्च राज्यको ढुकुटीबाट तिरिदिने कुराको निर्णय बाहिरिएको सुने । नेपालको जन स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा लेखिएको प्रावधानको बर्खिलापमा गएर सरकारले खर्च उपलब्ध गराउने कुराले झन् पीडा बोध भयो रोग अरू बल्झिए जस्तो लाग्यो । जुन ऐनमा ‘कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गराउनुपर्ने भएमा सोका लागि सरकारी कोषबाट खर्च उपलब्ध गराउन मिल्दैन ।’ यस्तो बुझ्दा बुझ्दै म कसरी स्वीकृत प्रदान गरौँ ?

सरकारले आफ्नो उपचार खर्च बेहोरी दिने निर्णय सुन्ने बित्तिकै आफ्नो उपचार म आफैँ गर्छु सरकार जनताको उपचार गर्न ध्यान केन्द्रित गर्न लागोस् भन्दै सरकारलाई धन्यवाद दिएर जनताको स्वास्थ्यमा केन्द्रित हुन सल्लाह दिने डाक्टर केसीको सम्झना भयो । एउटा नाथे डाक्टर जसको आफ्नो घरबार छैन,सम्पत्तिको जोहो छैन त्यस्तो मान्छेले समेत अस्वीकार गरेको, मोह नराखेको सरकारी रकम म कसरी ग्रहण गर्न सक्छु र ? म त कम्युनिस्ट पार्टीको नेता । आर्थिक अवस्था पनि मेरो मजबुत नै छ ।

यसर्थ सरकारको सदाशयताको लागि हार्दिक धन्यवाद दिँदै सहयोग रकम नलिने घोषणा गर्दछु । सरकारको रकमले उपचार गर्दा जीवनजल र सिटामोल खान नपाएर मरेका,सामान्य उपचार गर्दा घर खेत सकिएका, ऋणले चुर्लुम्म डुबेर आत्महत्या गरेका, ऋण,तिर्न, रगत, आँसु,पीप निचोरेर बसेका र कहिल्यै अस्पतालको मुख देख्न नपाएर छटपटी गर्दै बाँचेर मरेका नागरिकको श्राप लाग्छ । ती निमुखा प्राणीको दर्द भरिएको अनुहार झलझली आँखामा नाच्यो। झन् हाम्रो पार्टीका अध्यक्षको उपचारमा खर्च भएको करोडौँ रुपैयाँको बारेमा प्रश्न गरेर सधैँ घोचिरहेको सुन्नु पर्दा मलाई मेरो उपचार खर्च आफै वहन गर्ने मनसुवा छ ।

पूर्व राष्ट्रपति रामवरण यादव, स्वर्गीय खुम बहादुर खडका, सुजाता कोइराला र अरू थुप्रै राजनीतिज्ञ साथीहरू जसले आफ्नो आर्थिक हैसियत बलियो भएर पनि स्वास्थ्य उपचारको नाममा राज्यको ढुकुटी रित्तै पार्न मदत गरे तिनकाप्रति आम मान्छेको आक्रोश र घृणा देखेर पनि मेरो मन राज्य लाई भार पार्ने काम गर्न मानेन । तर राज्यले सहयोग गर्न नै हुँदैन भन्ने कुरामा मेरो सैद्धान्तिक विमति छ राज्य सहयोग गर्नका लागि नै हो गर्नुपर्छ तर जसलाई  साँच्चिकै आवश्यकता छ आर्थिक अभाव छ तिनलाई भने हेर्ने दायित्व राज्यको हो ।

अस्ति भर्खरै मृत्युवरण गरेका युवा राजनीतिज्ञ उज्ज्वल थापाको परिवारले पनि सरकारले दिने उपचार खर्च नलिने घोषणा गरेकोले पनि मलाई अरू सोच मग्न बनाएको छ । आफै सामर्थ्य राख्नेले देशलाई अनावश्यक आर्थिक भार दिनु हुन्न । म मेरो परिवार आफ्नो खर्च आफै जुटाउनु सामर्थ्य राख्छौँ अतः सविनय धन्यवाद सहित सरकारले दिने उपचार खर्च नलिने प्रतिबद्धता गर्दछु । यसैबीच मेरो स्वास्थ्यको चिन्ता चासो र प्रार्थना गर्ने सबै नेपालीप्रति मेरो पार्टीका नेता कार्यकर्ता साथै अन्य पार्टीका नेता कार्यकर्ता साथीहरूप्रति आभारी छु ।’

डियर कमरेड,

एउटा गरिब नेपाली आफ्नो उपचार गर्न आफैले सकेको खर्च गर्छ । उसले आफ्नो घरको परेवा, कुखुरा, सुँगुर, बुङ्गुर, बाख्रा, पाठा, हल गोरु,गाई,भैँसी जाय जेथा, ढुङ्री, मुन्द्री तिलहरी,औँठी,घर खेत जो सँग जे छ बेच्छ त्यतिले नि नपुगे पत्याउन्जेल ऋण धन गर्छ र उपचार गराउँछ जब सबै सकिन्छ र केही नलागेपछि मात्रै सहयोगको याचना गर्दै सार्वजनिक हुन्छ । यस्तो दूर अवस्थामा उपचार गर्ने नेपालीको प्रतिनिधि कमरेड भएर आफू चैँ राज्यको ढुकुटीबाट उपचार गर्न कुन नैतिकता कानुन विधि र विधानले दिन्छ भन्नुस् त ? विपन्न र गरिब नेतालाई उपचार गराउनु पर्छ त्यसको विरोध हुन्न र गरिन्न तर सबै थोकले पुगिसरी आएका नेताले किमार्थ राज्यलाई दोहन गर्न हुन्न ।

कमरेड  झलनाथ,

तपाईँलाई थाहा छ चित्र बहादुर केसी टाइपका नेताको उपचारमा जति खर्च लागे पनि राज्यले गरिदिँदा कहीँ विरोधको स्वर सुन्नु पर्दैन किन रु किनकि उनी पारदर्शी छन् । गरिबिको किनारामा छन् आम मान्छेको मनमा असल भनेर चिनिन्छन् । जस्तो छन् त्यस्तै शैलीमा बाँच्छन् । त्यसैले नेताको उपचार नै राज्यले गर्न मिल्दैन हुँदैन मेरो बुझाइ होइन । आवश्यकता र औचित्यपूर्ण हुनुपर्छ भन्ने मात्रै माग हो ।

प्रिय सरकार,

सरकारलाई पनि मेरो जिज्ञासा राख्दछु । स्वास्थ्य सेवा क्रमशः निःशुल्क गर्दै जाने समाजवादी व्यवस्था निर्माणको झलक दिन सरकारले कमरेड झलनाथबाट सुरुआत गरेको हो भने मेरा आजसम्मका विमति प्रश्न र खबरदारी फिर्ता लिन्छु । यदि होइन भने पहुँचवाला शक्तिशाली र सम्भावित राजनीतिक जोड घटाउलाई ध्यान दिएर मात्र यस्तो सहयोगको चारो फालिएको हो भने तीव्र निन्दा सहित घृणा व्यक्त गर्दै गरिब र निमुखाको सरकार नभएकोमा आपत्ति प्रकट गर्दछु ।

प्रिय सल्लाहकार कमरेड, पारिवारिक र निकट रहने मित्रहरू !

कमरेड बिरामी हुनुहुन्छ । उहाँलाई यति बेला के सोच्ने र के गर्ने निर्णय लिन अप्ठ्यारो परेको हुन सक्छरु पारिवारिक सदस्यहरूलाई समेत असहजता भएको छ तसर्थ अरू निकट र सल्लाहकार कमरेड र मित्रहरूले यस्तो बेला कस्तो निर्णय लिने । कमरेडले लिने निर्णयले देशमा कस्तो प्रभाव पर्छ । कति दूरगामी निर्णय लिन सहयोग गर्ने त्यो आफ्नो र उहाँको क्षणिक स्वार्थ  तातो राजनीतिक लाभ नहेरी देशको हितार्थ सुझाउन , पारिवारिक कमरेडहरूलाई सम्झाउन पनि हार्दिक अनुरोध छ ।

आदरणीय झलनाथ कमरेड,

आदर्श फलाक्दा, सिद्धान्तको ठेलीमा लेख्ने, घोषणापत्रमा सजाउने विषय भन्दा व्यवहारतः  कम्युनिस्ट भनेका पैसा र पद सबैभन्दा ठुलो हुने, शक्ति, सत्ता र बाहुबल संसारमा सबैभन्दा उत्तम मान्ने जात, त्यसका लागि पार्टी, जनता,देश सम्पूर्णलाई भड्खालोमा हालेर भए पनि शक्ति, सत्ता ,पद र पैसा जसरी भए पनि, बेइमानी,धोखा धडी वा भ्रष्टाचार जे गरेर भए पनि हत्याउनै पर्छ, अरू कसैलाई कहिल्यै अवसरै दिनुहुन्न भन्ने जात रहेछ भन्ने अनुभव गर्ने जमातलाई त्यस्तो होइन र सबै कम्युनिस्ट राजनीतिज्ञ खराब मात्रै हुँदैनन् भन्ने देखाउन पनि यहाँले सान्दर्भिक र बहु आयामिक महत्त्वको राजनीतिक कदम चाल्नुहुनेछ ।

हाम्रो देशका नेताहरूलाई राज्यबाट अनावश्यक सेवा र सुविधा लिन लिप्त भएको चार्ज लाग्दै आएको छ । पुरुष भएर सुत्केरी हुने महिलाको सुविधा लिएको देखि घर हुँदा पनि घर भाडा लिएको, रातो पासपोर्टको बेचबिखन गरेको जस्ता थुप्रै कुरामा सांसद र नेताहरू मुछिएका र नाम नै चलेका नेताको नाम आएको यहाँलाई थाहा नै छ । त्यसैले पनि यी तमाम कुरालाई ठिक ठाउँमा ल्याउन यहाँले गर्ने घोषणा र अस्वीकृतिले व्यापक अर्थ राख्छ । त्यसैले यो अनुरोध बिन्तीपत्र या याचना जे भने पनि लेख्ने जमर्को गरे । अन्त्यमा मानवीय संवेदनामा चोट पुग्न गएमा मेरो शब्दार्थ होइन भावार्थ बुझेर क्षमा दिनुहुनेछ भन्दै पुनः स्वास्थ्य लाभको कामना गर्दै बिदा माग्दछु ।

जय नेपाल ।

तपाईँको भलो चाहने रैती 

सन्जिव कार्की

 



नयाँ