arrow

सरकारबाटै ढिलासुस्ती

गत वर्ष विपद्को क्षतिः यस वर्ष सहयोग

एक वर्षसम्म पनि पाँच जिल्लाबाट विवरण अझै आएन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
pahiro-ghar3.jpg

काठमाडौं । गत वर्षको मनसुनजन्य विपद्का घटनाबाट क्षति पुगेका नीजि घर बनाउन सरकारले यस वर्ष मात्रै रकम सुनिश्चित गरी पठाएको छ ।

सरकारले गत वर्ष बाढी तथा पहिरोबाट भत्किएका र क्षति पुगेका नीजि आवास निर्माणका लागि गत वर्ष २६ पुसमा कार्यविधि बनाएको थियो । तर गत बैशाख मध्य तिर मात्रै अर्थमन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो । बैशाखमा २० करोड र केही दिनअघि १० करोड निकासा गरी २२ जिल्लामा ३० करोड पठाइएको हो ।

सरकारको संयन्त्रमार्फत आउनु पर्ने विपद्को क्षतिको गत वर्षको विवरण अझैसम्म पनि पाँच जिल्लाबाट भने नआएको पाइएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत विपद्को विवरण केन्द्र सरकारलाई आउने गर्छ ।

तर दोलखा, गुल्मी, अर्घाखाँची, दाङ र हुम्लाबाट भने गत वर्षको क्षतिको विवरण अझैसम्म केन्द्रमा आइ पुगेको छैन । तर विवरण आएका २२ जिल्लामा भने सरकारले ३० करोड रकम पठाएको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले गत वर्ष बाढी तथा पहिरोबाट क्षती पुगेका म्याग्दी, धनकुटा, भोजपुर, स्याङ्जा, बाजुरा, पर्वत, मोरङ, बाग्लुङ, पश्चिम रुकुम, दार्चुला, कालिकोट, रोल्पा, कास्की, जाजरकोट, संखुवासभा, लमजुङ, मकवानपुर, बझाङ, तनहुँ, गोरखा, नुवाकोट र सिन्धुपाल्चोकमा नीजि आवास निर्माणका लागि ४ हजार ९ सय ३७ लाभग्राहीका लागि २९ करोड ९९ लाख २६ हजार २५० रुपैयाँ पठाइएको जानकारी दिए ।

तीन तहकै सहयोग

केन्द्र सरकारबाट गएको सो रकम बाहेक स्थानीय तह अन्तर्गत आ-आफ्ना क्षेत्रमा पर्ने गाउँपालिका, नगरपालिका र महानगरपालिका तथा प्रदेश सरकारलेसमेत नीजि आवास निर्माणका लागि सहयोग गर्ने छन् ।

केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म गरी तीन वटै सरकारको सहभागितामा विपद्बाट क्षति भएका नीजि घरको पुर्ननिर्माण हुने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले जानकारी दिएका हुन् । घर निर्माणमा प्राविधिक सहयोग भने प्राधिकरणले नै गर्ने उनको भनाइ छ । 

कहाँ कति पठाइयो ?

प्राधिकरणबाट प्राप्त विवरण अनुसार केन्द्र सरकारकातर्फबाट गत वर्षको विपद्बाट क्षति पुगेका घर निर्माणका लागि सिन्धुपाल्चोकमा ८३९ लाभग्राहीका लागि ३ करोड ६३ लाख २६ हजार २ सय ५० रुपैयाँ निकासा गरी पठाइएको छ । म्याग्दीमा १ करोड ४५ लाख ३० हजार पठाइएको छ । त्यहाँ २४७ लाभग्राही छन् ।

यसैगरी धनकुटामा १ करोड ८८ लाख ५५ हजार रुपैयाँ पठाइएको छ । त्यहाँ १८१ लाभग्राही छन् । यस्तै भोजपुरमा १३१ लाभग्राहीका लागि ७६ लाख २५ हजार रुपैयाँ पठाइएको छ ।

यसैगरी स्याङ्जामा २ करोड १८ लाख ९७ हजार ५ सय पठाइएको छ । सो जिल्लामा २७४ जना लाभग्राही रहेको प्राधिकरणले जनाएको छ । बाजुरामा २१७ लाभग्राहीका लागि १ करोड २१ लाख ७० हजार,  पर्वतमा ८५ लाभग्राहीका लागि ५८ लाख ३५ हजार रुपैयाँ पठाइएको छ ।

यस्तै मोरङमा ४९ लाभग्राहीका लागि ४४ लाख ५७ हजार ५ सय रुपैयाँ पठाइएको छ । यसैगरी बाग्लुङमा ५०४ लाभग्राहीका लागि ३ करोड ६ लाख ८० हजार, पश्चिम रुकुममा ८३ लाभग्राहीका लागि ४६ लाख ७० हजार, दार्चुलामा ५१ लाभग्राहीका लागि ४३ लाख ५५ हजार, कालिकोटमा ९४७ लाभग्राहीका लागि ५ करोड ४६ लाख ६५ हजार, रोल्पामा ७४ लाभग्राहीका लागि ४३ लाख ७५ हजार पठाइएको छ ।

यसैगरी कास्कीमा १९७ लाभग्राहीका लागि १ करोड १४ लाख ६० हजार, जाजरकोटमा ७३ लाभग्राहीका लागि ४३ लाख ८० हजार, संखुवासभामा ९७ लाभग्राहीका लागि १ करोड ४१ लाख, लमजुङमा २४८ लाभग्राहीका लागि १ करोड ४३ लाख १० हजार, मकवानपुरमा १५० लाभग्राहीका लागि ९० लाख, बझाङमा २२ लाभग्राहीका लागि १३ लाख २० हजार, तनहुँमा २४७ लाभग्राहीका लागि १ करोड ४० लाख २५ हजार, गोरखामा ९२ लाभग्राहीका लागि ५२ लाख ५ हजार, नुवाकोटमा १२९ लाभग्राहीका लागि ५६ लाख ८५ हजार रुपैयाँ पठाइएको प्राधिकरणले जनाएको छ ।

सो रकम सम्बन्धित वडाबाट जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण पठाएर बैँकमा खाता खोलेपछि समितिले सिधै रकम खातामा पठाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ