arrow

पोखरा-काठमाडौंको बस भाडा ५३७ पुग्यो, अन्यत्रको कति ?

logo
हरि पन्त
प्रकाशित २०७८ साउन २ शनिबार
hhh.jpg

पोखरा । सरकारले गत असार २७ गते बढाएको लामो दूरीको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिसहित विभिन्न १३ वटा सूचकका आधारमा बढाइएको भाडा यातायात व्यवस्था विभागले शुक्रबार साँझ सार्वजनिक गरेको हो ।

असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट समायोजन गरिएको नयाँ भाडा २० देखि २८ प्रतिशतसम्म बढाइएको विभागले जनाएको छ । यो भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा मात्र लागू हुनेछ ।

स्थानीय तहको भाडा समायोजनको अधिकार विभागसँग नरहेकाले बढेको भाडा अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक गाडीको हकमा मात्र लागू हुने विभागले स्पष्ट पारेको छ ।

विभागलेले सार्वजनिक गरेको सवारी भाडा सुची अनुसार पोखरा काठमाडौंको भाडा ५३७ पुगेको छ । यसअघि यही दूरीको भाडा ४२८ रुपैयाँ रहेको थियो ।

यसैगरी पोखरादेखि धनगढीसम्मको भाडा ११ सय ९९ रुपैयाँ रहेकोमा बढाएर १५ सय चार रुपैयाँ पुर्याइएको छ । पोखरादेखि गौरसम्म ६१४ बाट बढाएर ७७०, पोखरादेखि कृष्णनगरसम्म ५७१ बाट बढाएर ७१६, पोखरादेखि जनकपुरसम्मको भाडा ७०६ बाट बढाएर ८८६ पुर्याइएको विभागले उल्लेख गरेको छ ।

यस्तै, पोखरा-धरान एक हजार ४ बाट बढाएर १२ सय ६०, पोखरा-नारायणगढ २६७ बाट बढाएर ३३५, पोखरा-भैरहवा ५३० बाट बढाएर ६६५, पोखरा-महेन्द्रनगर १३ सय ८६ बाट बढाएर १७ सय ३९ पुर्याइएको छ । 

यसैगरी पोखरा-सुर्खेत ११ सय ४५ रुपैयाँबाट बढाएर १४ सय ३७, पोखरा-सुनौली ४४१ बाट बढाएर ५६६, पोखरा-मलंगवा ६२५ रहेकोमा वृद्धि भएर ७८४, पोखरा-तुलसीपुरको भाडा ७२२ बाट बढेर ९०५, पोखरा-बुटवलको भाडा ४०० बाट बढेर ५०२ रुपैयाँ पुगेको छ । 

यता, पोखरा-कोठियाघाटको भाडा १०१८ बाट वृद्धि भएर १२ सय ७७ रुपैयाँ, पोखरा-विराटनगरको भाडा १०१९ रहेकोमा वृद्धि भएर १२ सय ७८ रुपैयाँ र पोखरादेखि लुम्विनीसम्मको भाडा ४९५ बाट वृद्धि भएर ६२१ रुपैयाँ पुयाइएको छ । 

यस्तै, पोखरा-नेपालगञ्जका लागि ८९८ रहेकोमा बढेर ११ सय २६ र पोखरा-नारायणगढ हुँदै नेपालगञ्जका लागि ९८९ बाट बढेर ११ सय ४१ रुपैयाँ पुगेको छ । यस्तै, काठमाडौं-बागलुङको नयाँ भाडा ७६४, काठमाडौं-स्याङ्जा ६४०, काठमाडौं-वालिङको नयाँ भाडा ७३४ रुपैयाँ कायम गरिएको छ ।

विभागले लामा दूरीका सवारी भाडा वृद्धि गरे पनि छोटा दूरी अर्थात प्रदेश भित्र सञ्चालन हुने सवारी भाडा वृद्धि गरेको छैन । यसको जिम्मेवारी प्रदेश सरकारलाई नै दिएको छ । 

सन्तुष्ट छैनन् व्यवसायी

सरकारले सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशत वृद्धि गर्दा सर्वत्र आलोचना भएको छ । एकैपटक भारी मात्रामा भाडा वृद्धि भएपछि विद्यार्थीहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् ।

भाडा वृद्धि हुँदा यातायात व्यवसायी भने सन्तुष्ट छैनन् । व्यवसायीको बुझाइमा ३५ प्रतिशत भाडा वृद्धि हुनुपर्थ्यो । २० देखि २८ प्रतिशत मात्र वृद्धि हुँदा पूर्ण सन्तुष्ट हुने ठाउँ नभएको व्यवसायी बताउँछन् ।

पोखरास्थित पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले २८ प्रतिशत भाडा वृद्धि गरिएको भए पनि वैज्ञानिक हिसावले ३५ प्रतिशत वृद्धि गर्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘२०६९ भदौपछि बल्ल भाडा वृद्धि गरिएको हो । त्यो पनि वैज्ञानिक हिसावको छैन । यो सन्तोषजनक हो तर पूर्ण सन्तुष्ट हुने अवस्था छैन ।’

अध्यक्ष केसीले १० वर्षमा एकैपटक भाडा वृद्धि गर्दा नागरिक आत्तिने र तर्सिने अवस्था आएको बताए । नियमानुसार प्रत्येक दुई/दुई वर्षमा भाडा समायोजन गर्नुपर्ने हुन्छ । तर १० वर्षसम्म वेवास्ता गरिनु राज्यको कमजोरी भएको अध्यक्ष केसीले बताए ।

पोखराबाट सञ्चालन हुने सवारीको नयाँ भाडादर सूची



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ