arrow

प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै, समर्थन गर्ने भन्दा विश्वासको मत दिने सांसद धेरै हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
sher-bahadur-deuba-pm.JPG
तस्वीर–फाइल ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा केही दिन भित्रमा नै विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह तथा जसपाको उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको गठवन्धनबाट १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री बनेका देउवाले प्रतिनिधि सभामा केही दिन भित्रैमा विश्वासको मत लिने भएका हुन् ।
 
प्रतिनिधि सभा बैठक आइतबारबाट शुरु हुँदैछ । २८ असारमा सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै पुनर्स्थापना गरिदिएको थियो भने देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । 

देउवा  २९ असारमा प्रधानमन्त्री बनेका थिए । संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनै पर्छ । प्रधानमन्त्री देउवालाई सत्ता गठवन्धन आबद्ध सबै दलले विश्वासको मत दिने प्रतिबद्धता जनाइसकेका छन् ।
 
केही दिनयता निरन्तर भइरहेको गठवन्धनका शीर्ष नेताहरुको भेटघाट र छलफलबाट पनि विश्वासको मत लिने वातावरण कायम रहेको भन्दै तत्काल संसदबाट विश्वासको मत लिएर सरकार अघि बढ्नु पर्ने मत आउन थालेको छ । 

‘प्रधानमन्त्री बनाउँदा सघायौं, अब विश्वासको मतमा पनि सघाउँछौं भन्नेमा माधव पक्ष र उपेन्द्र पक्षसहित गठवन्धन दृढ छ, प्रधानमन्त्रीले यसै साता विश्वासको मत लिनुहुन्छ’, कांग्रेस नेता मीन विश्वकर्माले भने ।
 
उनले मन्त्रीमण्डल विस्तार पहिले कि विश्वासको मत पहिले भन्नेमा भने पाँच दलीय गठवन्धनमा आबद्ध नेताहरु बीच शीर्ष तहमा छलफलमा र बहस जारी रहेको बताए । देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै तत्कालीन विपक्षी गठवन्धनमा रहेका १४६ सांसदले समर्थन गरेकोमा अहिले सो संख्या नाघ्ने सत्ता पक्ष बनेको गठबन्धनको दाबी छ ।
 
‘पहिले १४६ सांसदले हस्ताक्षर गर्नु भएको थियो, अहिले त्यो संख्या बढ्ने क्रममा छ, एमाले र जसपाबाट केही साथीहरु विश्वास दिनेमा बढ्नु हुन्छ, हामी ढुक्क छौं,’ माओवादी केन्द्रका एक नेताले भने ।
 
प्रधानमन्त्रीमा देउवालाई सघाउन कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको माधव पक्षका २३, जसपा यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका थिए । तर अहिले माधव नेपाल पक्ष र जसपाको यादव पक्षमा अझै केही सांसद थपिने सम्भावना रहेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ