arrow

देउवाद्धारा डिजिटल धन्यवाद !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
vote-of-thanks-deuba.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिने सबैलाई डिजिटल धन्यवाद दिएका छन् । आइतबार राति १० बजेपछि भारी बहुमतसहित विश्वासको मत प्राप्त गरेको प्रधानमन्त्री देउवाले आफूलाई मत दिएर जिताउनेलाई धन्यवाद दिएका हुन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले लेखेका छन्, ‘प्रतिनिधिसभामा मलाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिनुभएका सबै माननीय सांसदज्यूहरुलाई हार्दिक धन्यवाद ।’

विश्वासको मत लिनुअघि उनले पहिले प्रस्ताव पेश गर्दा र पछि संसदमा उठेका प्रश्नको जवाफ दिने बेलामा संवोधन गर्ने अवसर पाए पनि त्यसपछि भने उनले सामूहिक बोल्ने अवसर पाएका छैनन् । सोही कारण उनले सामाजिक संजालको प्रयोग गरेर आफूलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।

देउवाले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको थियो। एक मत तटस्थ खसेको थियो । मतदानमा २४९ सांसदले भाग लिएका थिए । 

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहे पनि देउवाले नियुक्ति भएपछिको पहिलो बैठकमै विश्वासको मत लिएका हुन् । उनी गत सोमबारमात्रै प्रधानमन्त्रीमा नियुक्त भएका थिए । मंगलबार शपथ लिएका थिए । 

त्यसपछि आइतबारका लागि प्रतिनिधिसभाको पहिलो बैठक बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ