arrow

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ताः केपी ओलीले गरेका राजनीतिक नियुक्ति खारेज गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
prachanda-deuba.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच केही बेरअघि भएको भेट वार्ताका क्रममा सो सहमती भएको हो । त्यसअघि माधव नेपालको सहमति लिएर प्रचण्ड वालुवाटार पुगेका थिए । सो विषयमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहमत छन् ।

‘प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भयो, भेटमा यसअघिको ओली सरकारले गरेका राजनीतिक नियुक्तिको निर्णय खारेज गर्ने विषयमा छलफल भयो, उहाँहरु सो विषयमा सहमत रहनु भएको छ,’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले हाम्राकुरासँग भने ।

सरकारले पहिलो र दोस्रो पटक प्रतिनिधि सभा विघटनपछि तत्कालिन ओली सरकारले गरेका केही राजनीतिक निर्णय खारेज गरिसकेको छ ।  गत शुक्रबार सरकारले तत्कालिन केपी ओली नेतृत्वको सरकारले ११ देशका लागि नियुक्त गरेको राजदूतको निर्णय फिर्ता गरेको थियो ।

यस्तै शनिबार बसेको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवालीको नेतृत्वमा भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गर्ने निर्णय पनि खारेज गरेको थियो ।

गत वर्षको ५ पुसदेखि ११ फागुन र यस वर्षको ८ जेठ देखि २८ असार भित्र गरिएका देशलाई गम्भीर असर पर्ने सबै राजनीतिक निर्णय सरकारले खारेज गर्ने भएको हो । सरकारले गत शनिबार नै संवैधानिक परिषद् सम्वन्धी अध्यादेश ल्याउने तत्कालिन सरकारको निर्णय पनि खारेज गरिसकेको छ ।

सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गर्ने निर्णय खारेज गरेसँगै देशभरका ७७ जिल्लामा नै गठन गरिएका भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिहरु पनि खारेज भएका छन् ।

आयोगका अध्यक्ष ज्ञवाली गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहालसँग पराजित भएका थिए ।

आयोगको अध्यक्ष भएपछि उनले राज्यमन्त्री सरह सुविधा पाएका थिए । यस्तै आयोगमा केन्द्रमा १२ सदस्य नियुक्त गरिएको थियो । यस्तै देशभर गरी सो आयोगमा २३१ जना भर्ति गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ