- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वि.सं.२००७ सालका क्रान्ति नायक वीपी कोइराला नेपालमा पहिलो पटक २०१५ सालमा सम्पन्न भएको आम निर्वाचनमा तत्कालीन काँग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जन निर्वाचित प्रधानमन्त्री बनेका थिए र जनहितका पक्षमा उनले ल्याएको लोकप्रिय नीति तथा कार्यक्रमबाट तत्कालीन राजा महेन्द्र रुष्ट बनेपछि प्रधानमन्त्री सहित दलीय व्यवस्थामा प्रतिबन्ध लगाइएको थियो ।
यस्तो पृष्ठभूमिमा एउटा गैर राजनीतिक परिवार अर्थात् पारिवारिक विरासतको राजनीति भन्दा नितान्त बाहिरबाट राजनीतिमा स्थापित भएका देउवा अहिले पाँचौं पटक मुलुकको प्रधानमन्त्री भएका छन् । जुन सामान्य कुरा थिएन, होइन । स्वयं देउवाले समेत यो घटनालाई अस्वाभाविक रूपमा लिँदै जनहितका पक्षमा अनपेक्षित कार्यहरू गर्नुपर्ने देखिन्छ ।
आफ्नो राजनीतिक स्वार्थका सन्दर्भमा वीपीले भनेका थिए- ‘म राजनीतिमा लाग्नुको एउटै स्वार्थ भनेको सम्पूर्ण नेपाली जनताहरूको स्तर मेरो समान बनाउनु हो, यो बाहेक राजनीतिमा मेरो अरू कुनै स्वार्थ छैन ।’ नवनियुक्त प्रधानमन्त्री देउवाले वीपीको यही स्वार्थलाई केन्द्रमा राखेर काम गर्ने हो भने उनका लागि यो समय नयाँ इतिहास रच्ने सुनौलो अवसर बन्नेछ । जुन देउवाका लागि सम्भवतः अन्तिम अवसर हो । त्यस्तै विगतमा आफू नेतृत्वको सरकारले गरेका कमी कमजोरीहरूलाई सुधार्ने र जनहितका पक्षमा यथेष्ट कामहरू गर्दै नेपाली काँग्रेसलाई जनताको भरोसा योग्य पार्टी बनाउने जिम्मेवारी पनि अहिले देउवाकै काँधमा आएको छ ।
हुन त आफ्नो चाहना नहुँदा नहुँदै पनि देउवालाई परिस्थितिले प्रधानमन्त्री बनायो । किनकि काँग्रेसले अहिले सत्ता मागेको थिएन, सत्तामा भएकाहरूबीचको लडाइ र अहङ्कारले गर्दा देउवा सत्तामा पुगेका हुन् । तथापि मेरो चाहना थिएन भनेर जनहितका पक्षमा काम नगरी बस्ने छुट देउवालाई छैन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि त्यसको विरुद्धमा परेको रिट निवेदनमा सम्मानित सर्वोच्च अदालतले २०७८/०३/२८ गतेका दिन फैसला सुनाउँदा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनी परमादेश जारी भएपछि प्रधानमन्त्री नियुक्त भएका देउवाले २०७८/०४/०३ गते बोलाइएको संसद्को पहिलो बैठकमा नै शानदार रूपमा विश्वासको मत लिन सफल भए । जुन घटनालाई निकै महत्त्वका साथ हेरिएको छ भने करिब दुई तिहाइ समर्थन प्राप्त सरकारको बहिर्गमन र कोभिड सङ्क्रमणबाट आक्रान्त मुलुक तथा जनताहरूले नयाँ प्रधानमन्त्रीबाट धेरै आशा गरेका छन् ।
देउवा आफैंले नेतृत्व गरेको पार्टीसँग सामान्य बहुमत समेत छैन, थिएन । त्यसैले काँग्रेस आफूलाई प्राप्त जनमतको सम्मान गर्दै प्रतिपक्षमा नै बसेको थियो । तर केपी ओलीको निरंकुशताबाट आजित भएका पुष्पकमल दाहाल, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई लगायतले देउवाको नेतृत्व खोजेपछि फेरी एक पटक काँग्रेस यो देशको अभिभारा बोक्ने जिम्मेवारीमा पुगेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री बनेका देउवालाई आफ्नै पार्टी काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न गर्न, कोरोना सङ्क्रमणको महामारीबाट सर्वसाधारण जनताहरूलाई बचाउन, यथाशक्य छिटो सबै नागरिकहरूलाई खोप उपलब्ध गराउन, ओली सरकारले क्षतविक्षत पारेको अर्थतन्त्रलाई बलियो बनाउन, ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको सामना गर्न र गठबन्धनमा आबद्ध दलहरूलाई खुशी बनाउँदै मुलुकमा निर्वाचन गराउने सम्मको यात्रा निकै कठिन तथा जोखिमपूर्ण देखिन्छ ।
त्यस्तै देउवाको विगतलाई हेर्ने हो भने धेरै अपेक्षा र भरोसा गर्न सकिने अवस्था छैन । तथापि देउवाका लागि अहिले नयाँ इतिहास रच्ने अवसर भएकाले देश, जनता र काँग्रेसका लागि जस्तोसुकै त्याग गर्न पनि देउवा तयार हुनुपर्ने बाध्यताको बोध उनलाई अवश्य हुनुपर्दछ । नभए उनको लागि त पाँच पटकसम्म मुलुकको प्रधानमन्त्री भएको व्यक्तिका रूपमा इतिहास रहला, तर देश र जनताले के पाए ? भन्ने प्रश्न उठ्ने वातावरण निर्माण हुने हो भने उनी प्रधानमन्त्री बन्नुको कुनै अर्थ रहँदैन ।
आधुनिक नेपाल निर्माणका लागि प्रजातान्त्रिक समाजवादको प्रयोग गरेका वीपी कोइरालाको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएकाले देउवा यही बाटोमा अग्रसर हुनुपर्ने देखिन्छ । किनकि मुलुकले लामो समय राजनीतिक उथलपुथलहरूमा बिताएको कारण यो नीतिको जरा गहिरो गरी फैलन पाएको छैन । त्यस्तै नेपालको सन्दर्भमा वीपीले राष्ट्र र प्रजातन्त्रलाई जसरी देशको मेरुदण्डका रूपमा व्याख्या गरेका थिए, त्यसलाई कार्यान्वयन गर्नुको अर्को विकल्प समेत देउवा सँग छैन र देउवाले वीपी नीतिकै विकल्प खोज्ने समय पनि यो होइन ।
जबसम्म ९० प्रतिशत गरिब एवं विपन्न जनताका प्रतिनिधि राज्यको नीति निर्माण तहमा पुग्दैनन्, तबसम्म जनता कुनै न कुनै रूपमा शोषित र पीडित भइरहन्छन् भन्ने वीपीको पार्टी काँग्रेसलाई परिस्थितिले सत्तामा पुर्याएको यो अवस्थामा तहगत हिसाबले तीन तहका राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको शासन भोगेका, पञ्चायती शासकहरूबाट कठोर यातना पाएका देउवाले वीपीले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न सक्ने हो भने उनको उचाइ पनि वीपी सरह हुनेछ ।
सबै नेपालीको एउटा सानो घर होस्, गरी खान पुग्ने खेतबारी होस्, एउटा दुहुनो गाई होस्, छोराछोरी स्कुल पढ्न पाउन्, बिरामीले स्वास्थ्य उपचार गर्न पाउन् भन्ने वीपीको प्रजातान्त्रिक समाजवाद भित्रको महत्त्वपूर्ण पाटोमा अहिले सम्पूर्ण नेपाली जनताहरूले कोभिड विरुद्धको भ्याक्सिन यथाशक्य छिटो लगाउन पाउन्, मुलुकमा राजनीतिक स्थिरता सहितको विधिको शासन होस् र भ्रष्टाचारमुक्त स्वतन्त्र समाजमा नागरिकहरू जिउन पाउन् भन्ने अवधारणा थपिएको छ, थप्नुपर्ने अनिवार्य आवश्यकता छ । यसलाई देउवाले गम्भीर रूपमा मनन गर्नुपर्दछ । किनकि इतिहास त्यसै रचिँदैन, त्यसको लागि निस्वार्थ ठुलो योगदान दिनुपर्दछ ।
जनताले आफ्ना अधिकारहरूको स्वतन्त्र प्रयोग गर्ने अवसर नपाउँदा सम्म राष्ट्रियता बलियो बन्दैन । त्यसैका लागि लोकतन्त्र र राष्ट्रियता आवश्यक पर्दछ भने राजनीतिक अधिकार सहितको आर्थिक समानता बाट मात्रै मुलुकको समृद्धि सम्भव हुन्छ । त्यसैले राष्ट्रलाई समृद्ध बनाउन सकिएन भने लोकतन्त्र अर्थहीन र राष्ट्रियता खोक्रो हुन्छ भन्ने वीपीको धारणालाई देउवाले अब प्रयोगमा ल्याउन सक्नुपर्दछ । ‘जति बेला राष्ट्रमा कुनै पनि किसिमको सङ्कट आइलाग्छ, त्यति बेला हामी सबैले बितेका अप्रिय विवाद, घटना, अनुभव तथा मतभिन्नतालाई बिर्सेर एकताको सूत्रमा बाँधिनुपर्दछ, किनकि राष्ट्र रहेन भने हामी रहन्नौं, त्यसैले राष्ट्रको रक्षा, देशको उन्नति, जनताको सुख र समृद्धिमा सबै नेपालीहरू एकताबद्ध भएर लाग्नुको अर्को विकल्प छैन ।’ भन्ने वीपीको भनाइलाई सार्थक तुल्याउने समय काँग्रेसको अगाडि आएको छ ।
अब गणतन्त्रका पहरेदार शक्तिहरू विगतमा जस्तै एकताबद्ध नहुने हो भने वर्तमान गणतन्त्र र सङ्घीय व्यवस्था समेत धरापमा पर्न सक्ने खतरा बढ्दै गएको छ । यो मुलुकमा त्यस्तो अतिवादले राज गर्यो, जसले आफू र आफ्ना सहयोगी बाहेक सबैलाई अप्रजातान्त्रिक र अराष्ट्रिय तत्त्व भन्दै निषेध गर्ने परिपाटी तथा प्रवृत्तिले आज अर्को अतिवादको अन्त्य भएको छ र त्यसको निरन्तरता मुलुकको चाहना होइन । त्यसैले आफूलाई राष्ट्रवादी र अरूलाई राष्ट्रघाती भन्ने चरित्रको अवसान नहुँदासम्म मुलुकमा राजनीतिक स्थिरता सम्भव देखिँदैन । यसर्थ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनलाई केन्द्र विन्दुमा राखेर विगतमा प्राप्त उपलब्धिहरूको रक्षा गर्नु देउवा नेतृत्वको सरकारको प्रमुख जिम्मेवारी हो ।
काँग्रेसले जसरी जनताको तन्त्रलाई राजनीतिको केन्द्र बनाएको छ, त्यसको विपरीत कम्युनिष्टहरु समुच्चा जनताको होइन, एकदलीय तथा वर्गीय सत्ताको पक्षमा उभिएको अवस्था अहिले पनि विद्यमान देखिन्छ । त्यसैले काँग्रेस केवल सत्ता प्राप्ति, सरकार वा सत्ताको टिकाउ वा सत्ताको सिँडी मात्रै हुनुभएन, जसबाट राष्ट्रियताको बलियो जगमा लोकतन्त्रको नेपालरूपी बगैँचाले सबै नेपालीका माझ कुनै भूगोल, जाति, वर्ग, लिङ्ग वा क्षेत्रमा विना भेदभाव स्वास्थ्य, शिक्षा, आवास, रोजगारी, प्रभावकारी आर्थिक नीति सहितको समृद्धि तथा समतामूलक समाज निर्माण गराउने वातावरण बनाउनुपर्दछ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसको जुन भूमिका र स्थान छ, त्यसलाई काँग्रेसले सधैँ जोगाउन सक्नुपर्दछ भने नेपालको राजनीतिलाई जनताप्रति उत्तरदायी राज्य व्यवस्थाका आधारमा सामाजिक न्याय र नागरिक राज्यको स्थापना गर्ने अभियानमा समेत नेपाली जनतालाई सदैव एकताबद्ध गराइरहनु काँग्रेसको ऐतिहासिक दायित्व पनि हो । हिजोसम्म काँग्रेसको सङ्घर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले काँग्रेसले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियो । तर अहिले लोकतन्त्र, गणतन्त्र, सङ्घीयतासँगै आर्थिक समृद्धिको अभिभारा पनि काँग्रेससँगै जोडिएको छ र काँग्रेसले अवलम्बन गरेको व्यवस्था समाप्त हुने हो कि भन्ने शङ्का बढिरहेको अहिलेको संवेदनशील अवस्थामा देश र जनता प्रति मजाक गर्ने अधिकार काँग्रेस वा देउवालाई छैन ।
अन्त्यमा, प्रधानमन्त्रीमा देउवाको पाँचौं इनिङ आफ्नो प्रगाढ इच्छा भन्दा ज्यादा समय, परिस्थिति, नागरिक आन्दोलन, प्रचण्ड र माधव नेपाल लगायतको सङ्घर्ष अनि निवर्तमान प्रधानमन्त्री केपी ओलीको पटक पटकको असंवैधानिक संसद् विघटनका कारण सम्भव भएको हो । त्यसैले शासन चलाउने तरिकाको दृष्टिले ओलीको शासनभन्दा देउवाको शासन फरक छ भन्ने देखिएन भने देउवा पनि ओली सरह नै हुन्छन् । देउवा सरकारले ओली सरकारले विधि मिचेर गरेका असंवैधानिक कामहरू सच्याउन सके संविधान, कानुनी राज्य र लोकतन्त्रप्रति जनताको भरोसा बढ्छ ।
आफ्नो जीवनको करिब उत्तरार्द्धमा पाँचौं पटक प्रधानमन्त्री बनेका देउवा अनुभवी नेता हुन् जसले देशभित्रका पार्टी र वैदेशिक शक्तिहरूलाई सन्तुलनमा राख्ने क्षमता बोकेका छन् । देउवा अडान लिनुपर्ने ठाउँमा अडान लिने र आवश्यकता अनुसार लचकता देखाउने नेता हुन् । त्यसैले रणनीतिमा आफूले अभिभावकको भूमिका निर्वाह गर्ने र कार्यान्वयनका लागि मन्त्रिमण्डल तथा सल्लाहकार समूह बलियो बनाउन सके भने देउवाले इतिहास रच्न सक्छन्, रच्नुपर्दछ ।