arrow

राष्ट्र हितका लागि संविधान संशोधन : सभापति देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १ शनिबार
deuba-06-02.jpg
फाइल तस्बिर

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र हितका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् । 

सोमबारदेखि जिल्ला भ्रमणमा रहेका उनले शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको खुलासा गरे ।

उनले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरू दलहरूलाई पनि समेटिने बताए । अरू दलहरूलाई पनि समेटेर दुई तिहाई पुर्याउने र संविधान संशोधन गर्ने सहमति भएकाले देउवाको भनाइ छ । 

गठबन्धन भत्किने कुराहरू आमसञ्चार माध्यमबाट सुन्ने गरेको भन्दै सभापति देउवाले त्यस्तो नहुने बताए । उनले भने, ’प्रेसबाट गठबन्धन फुट्ने कुरा मैले पनि सुन्छु, प्रेसमा मात्रै छ, अरू कही छैन ।’

यो गठबन्धन २०८४ सम्मै जान्छ भन्ने पत्रकारहरूको प्रश्नमा सभापति देउवाले भने, ’दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो,  त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा, मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमति भएको छ ।’

वर्तमान सरकारले राजनीतिक प्रतिशोधले सहकारी ठगीका रुपमा कसैलाई थुन्यो भन्नु गलत भएको सभापति देउवाको भनाइ थियो ।

’हाम्रा साथीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । बयानहरू लिइरहेको छ,’ उनले भने, ’यसमा कुनै राजनीतिक प्रतिशोध छैन, प्रहरीले कानुनबमोजिम काम गरिरहेको छ ।’

सहकारीमा दोषी भएका जो कोहीलाई पनि नियमअनुसार कारबाही गरिनुपर्ने बताउँदै सभापपति देउवाले शिवशिखर सहकारीले डडेल्धुरामा ४२ करोड रकम हिनामिना गरेको सवालमा बदमासी गर्नेलाई कारबाही गरिने र रकम बचतकर्ताले आफ्नो वचत पाउने बताए । देउवा मङ्सिर १ गते लाग्ने उग्रतारा मेलापश्चात् मात्रै काठमाडौँ फर्किने उनको सचिवालयले जनाएको छ ।



नयाँ