arrow

बालुवाटार र खुमलटारका एकैदिनका दुई भेटको सार्थकता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
deuba-prachanda-sita.jpg
तस्वीर–प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्दै, देउवाको ट्वीटरबाट ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार एकै दिन दुई चरणमा भेटवार्ता भयो । बिहान ११ बजेतिर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार छिरे । दिउँसो प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटार पुगे । 

प्रचण्ड बालुवाटार पुग्नुअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेका थिए । नेपाललाई भेटेर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका हुन् । त्यतिबेला जसपा अध्यक्ष उपेन्द्र यादव भने नेपाल निवास पुगेका थिए । 

यसरी हेर्दा प्रचण्ड र देउवा बीचको यो भेटघाटलाई सत्ता गठवन्धन आबद्ध दलहरुबीचको छलफल होला भनेर अनुमान लगाउन सकिन्छ । सत्तामा आउनुअघि यी शीर्ष नेताहरुबीच तारन्तार यसरी नै भेट र संवाद भएका थिए । 

तर मंगलबारको बालुवाटार निवास र खुमलटार निवासमा भएका भेटवार्तामा केही फरक राजनीतिक कुराहरु पनि भएका छन् । जुन दृश्य पर्दा पछाडि छ । 

बालुवाटार स्रोतका अनुसार बालुवाटारमा भएको भेटवार्ताका क्रममा सरकारले बजेटका सन्दर्भमा ल्याउने स्वेतपत्र, सरकारका योजना, सरकार विस्तार, विगतका सरकारले गरेका निर्णयप्रति लिइने नीति लगायतका विषयमा संवाद भएको छ । 

यी त बाहिर आइसकेका विषय हुन् । तर सो भेटमा प्रचण्डले सरकारले गर्ने कामकारवाहीका विषयमा आवश्यक राय दिने गरी उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव पनि प्रधानमन्त्री देउवा समक्ष राखेका छन् । यो भने दृश्य पछाडिको विषय थियो । 

सत्ता गठवन्धनमा आउनुअघि विपक्षमा रहँदा नै प्रचण्डले सो प्रस्ताव गर्दै आइरहैकै थिए । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो प्रस्ताव मान्न त के सुन्न पनि तयार भएनन् । 

मंगलबार प्रचण्डले देउवा प्रधानमन्त्री बनेको आठौं दिनमा पुनः देउवा समक्ष सोही प्रस्ताव गरे । प्रचण्डको सो प्रस्तावमा देउवाले मुख खोलेनन् । तर सरकारका काम कारवाहीबारे योजना बनाएर अघि बढ्ने बारेमा भने सहमति भयो । 

सात महिनापछि बालुवाटार छिरेका प्रचण्डसँगको संवादका क्रममा नै देउवाले आफू प्रचण्ड पत्नी सीतालाई भेट्न आउने सुनाए । त्यसपछि भेट छोट्याउँदै प्रचण्ड बालुवाटारबाट खुमलटार निस्किए । त्यसपछि प्रधानमन्त्री देउवाले आन्तरिक केही भेटघाट सके र प्रचण्ड निवास हानिए । 

देउवा र प्रचण्डबीच राजनीतिक मात्रै होइन पारिवारिक सम्वन्ध पनि सुमधुर छ । देउवा दिउँसो प्रचण्ड निवास पुग्दा त्यो देखियो । देउवालाई प्रचण्डले श्रीमती सीतालाई चिनाउँदै भने, ‘उहाँ प्रधानमन्त्री शेरबहादुर देउवा जी, तिम्रो स्वास्थ्य बुझ्न र तिमीलाई भेट्न आउनु भएको । आरजू पनि आउनुहुन्छ ।’’

देउवाले दुई हात जोडेर नमस्कार गर्दै भने, ‘राम्रै छ ?

सो क्रममा प्रधानमन्त्री देउवाले प्रचण्ड पत्नी सीताको स्वास्थ्य लाभको कामना गरे । र त्यसपछि संवाद राजनीतितिरै मोडियो । प्रचण्ड र प्रधानमन्त्री देउवाबीच केही सहजतापूर्वक र स–सम्मान संवाद भए ।

सो भेटमा प्रचण्डले आफ्नो आसनका लागि राखिएको सोफाको स्थान नै नियमित भन्दा फरक पारे । र देउवासँगै अघि पर्ने गरी आमने सामने भएर संवाद गरे । 

सो क्रममा पार्टीभित्र आन्तरिक छलफल गरेर केही दिन भित्रै मन्त्रीपरिषद् विस्तार गर्ने सहमति बन्यो । सो अनुसार बुधबार माओवादीले सरकारका लागि योजना पनि सार्वजनिक गरेको छ । 

छिट्टै जसपाको विवाद टुंगिएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने पक्का छ ।

यसअघि कांग्रेस र माओवादी केन्द्र (देउवा–प्रचण्ड) को सरकारले पहिलो पटक स्थानीय तह, प्रदेश र संघीयको चुनाव गराएको थियो २०७४ सालमा । प्रचण्ड देउवा आलोपालो प्रधानमन्त्री भएका थिए । 

त्यसबीचमा राजनीतिक उथलपुथल भए पनि सत्तामै भएका कारण दुईबीचको सम्बन्ध गाढा भयो । त्यो स्थानीय तहको चुनावमा पनि छर्पष्ट देखियो । 

प्रतिनिधिसभाको निर्वाचनको बेलामा माओवादीले एमालेसँग चुनावी एकता गरेको भए पनि प्रचण्ड र देउवाबीचको सम्बन्ध चिसिन पाएन । 

त्यसको सार अहिले देखिएको छ । यो कतिसम्म लम्बिन्छ त्यो भविष्यले बताउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ