arrow

 तामाकोसी पाँचौँ जलविद्युत आयोजनामा लगानी गर्न त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
elec-.JPG

काठमाडौँ । दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबिच एमओयूमा हस्ताक्षर भएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसी प्रसाद गौतमले एमओयूमा हस्ताक्षर गरेका छन् ।

करिब १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमानित लागत रहेको आयोजनामा कोषले ७० प्रतिशत (करिब ११ अर्ब ३३ करोड) रुपैयाँ ऋण लगानी गर्ने छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत सेयर निष्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।

तामाकोसी पाँचौँ ४५६ मेगावाटको  मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो ।  त्यसैले तामाकोसी पाँचौँले बाँध, बालुवा थिग्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोसीको विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युत् गृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नु पर्ने छ ।

विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत् उत्पादनको अनुमति २०७४को जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक (एआईआईबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माण पूर्वका कामहरू भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ