arrow

प्रदेश प्रमुख फेर्ने तयारीमा सरकार, भागबण्डामा सहमति 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
pradesh-1.jpg

काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठवन्धन आबद्ध शीर्ष नेताहरुबीच प्रदेश प्रमुख हेरफेरको विषयमा सहमति बनिसकेको उच्च स्रोतले हाम्राकुरालाई जानकारी दिएको हो ।

‘गठवन्धन आबद्ध नेताहरुबीच शीर्ष तहमा सैद्धान्तिक सहमति बनिसक्यो, तर कुन प्रदेशमा कसलाई बनाउने भन्ने नाममा टुंगो लागेको छैन, छिटै तय हुन्छ’ सरकारका एक मन्त्रीले हाम्राकुरासँग भने ।

ती मन्त्रीका अनुसार सत्ता गठवन्धनको प्रमुख घटक कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव समूह तथा जसपाबीच प्रदेश प्रमुख भागबण्डामा सहमति बनिसकेको छ । जसअनुसार कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूहले दुई दुई तथा जसपाले एक प्रदेशमा प्रदेश प्रमुख लिने गरी सहमति बनेको छ ।

सो विषयमा मंगलबार विहान एमाले नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि छलफल भएको थियो । नेता नेपालले भने सो विषयमा कुनै निर्णय दिइसकेका छैनन । उनले छलफल गरेर निधो दिने बताएका छन् ।

यस्तै आजै मंगलबार विहान प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच पनि सो विषयसहित मन्त्रिपरिषद् विस्तार बारेमा छलफल भएको बताइएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखलाई पदमुक्त गर्ने र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार सरकारले सातै प्रदेशमा आफू अनुकुलको प्रदेश प्रमुख ल्याउन खोजेको हो ।

यसअघि केपी ओली नेतृत्वको सरकारले सातै प्रदेशमा प्रदेश प्रमुखहरु हेरफेर गरेको थियो । हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा.अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ