arrow

अस्मिता हत्या प्रकरण : १५ दिनभित्रै हत्यारा पत्ता लगाउन माग गर्दै प्रम देउवालाई ज्ञापन पत्र

logo
राम धामी,
प्रकाशित २०७८ साउन १५ शुक्रबार
asmita-dhami-case.JPG

डडेलधुरा । हत्या गरिएकी स्वास्थ्यकर्मीको हत्यारा यथाशीघ्र पत्ता लगाउन माग गर्दै डडेलधुराको परशुराम नगरपालिकाका स्थानीयले १५ दिने अल्टिमेटमसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । 

शुक्रवार डडेलधुरा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै गत असार २ गते हत्या गरिएकी स्वास्थ्यकर्मी अस्मिता धामीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै अस्मिता धामी हत्या प्रकरणमा स्थानीय स्तरमा गठित न्यायिक सङ्घर्ष समितिका पदाधिकारीहरूले हालसम्म हत्यारा पत्ता लगाउन प्रभावकारी अनुसन्धान हुन नसकेको र सो हत्याकाण्ड पनि निर्मला पन्त हत्या प्रकरणजस्तै बन्न सक्ने आशङ्का बढ्न थालेको जनाएका छन् । 

बीभत्स रूपमा हत्या गरिएको अवस्थामा शव फेला पारिएकी परशुराम नगरपालिका-८ स्थित जमेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रकी कार्यालय सहयोगी २८ बर्षीया अस्मिता धामीको हत्या भएको लामो समय बितिसक्दा पनि हालसम्म प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनसमेत सार्वजनिक नगरेको न्यायिक सङ्घर्ष समितिका संयोजक धनबहादुर बोहराले बताए ।

गत असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव चार दिनपछि परशुराम नगरपालिका-९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो । घटना घटेको डेढ महिना बित्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै सङ्घर्ष समितिले पाँच बुँदे मागसहित प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो ।

तत्काल अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, करिब दुई महिना अवधिसम्म पनि कसैलाई पनि गिरफ्तार नगरी कानुनी कारबाही नगरेको हुँदा अपराधी पत्ता लगाई कारबाही गर्नुपर्ने माग सङ्घर्ष समितिले राखेको छ । मृतक अस्मिता धामीका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यसका साथै मदिरा सेवन गरी अपराध गर्ने गरेको हुँदा डडेलधुरालाई मदिरा निषेधित जिल्ला घोषणा गर्नुपर्ने मागसमेत प्रधानमन्त्री देउवासँग राखेको सङ्घर्ष समितिका संयोजक बोहराले जानकारी दिए । समितिले अघि सारेका मागहरू १५ दिनभित्रमा पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत ज्ञापन पत्रमार्फत सरकारलाई दिएको छ । 

माग पूरा नगरिए भदौ १ देखि ३ गतेसम्म इलाका प्रशासन कार्यालय जोडबुडामा धर्ना दिने, ४ गते जोगबुडा बजारमा नारा-जुलुस गर्ने, ५ गते जिल्लाभरिका सरकारी कार्यालयमा तालाबन्दी र ६ गतेदेखि अनिश्चित समयसम्म डडेलधुरा जिल्ला बन्द गर्ने सङ्घर्ष समितिले सरकारलाई चेतावनी दिएको छ ।

डडेलधुरा प्रधानमन्त्री देउवाको गृह जिल्ला भएकाले पनि अस्मिता न्याय पाउने अपेक्षा सङ्घर्ष समितिले गरेको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए । उनले प्रहरीले अहिले अनुसन्धान गरिरहेकाले यसबारेमा थप बोल्न नमिल्ने पनि बताए । 
 
घटनास्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाए पनि त्यसबाट कुनै ठोस् प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ । प्रहरी उनको भिसेरा रिपोर्ट कुरिरहेको छ । जसको रिपोर्ट हालसम्म नपुगेको प्रहरीले जनाएको छ । यससँगै प्रहरीले अझै अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ