arrow

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिंदै कार्यदलः माधव नेपाल समूह अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
satta-karadal7.jpg

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको पाँच दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिंदैछ ।

कार्यदलले सम्भवत आज सोमबार साँझ कार्यक्रमलाई अन्तिम रुप दिइ सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसै कारण प्रधानमन्त्री शेरबहादुर देउवा पनि सोमबार कुनै औपचारिक कार्यक्रममा सहभागी नहुने बताइएको छ । देउवाले गठवन्धन सरकारको न्यूनतम कार्यक्रमको आजै टुंगो लगाउन निर्देशन दिएपछि कार्यदल यसैमा खटिएको हो ।

वालुवाटारमा भएको सोमबारको वैठकमा गठवन्धनका सबै घटक सहभागी भएपनि नेपाल समूह भने सहभागी छैन । आइतवार भने डा. विजय पौडेल नेपाल समूहबाट वैठकमा सहभागी भएका थिए ।

२९ असारमा देउवा प्रधानमन्त्री बनेपछि गठवन्धनमा रहेका दलहरुबीचको सहमतिबाट सरकारका काम कारवाहीलाई सहयोग गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्सीय कार्यदल बनाइएको थियो ।

सो कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको हो । कार्यदलले मस्यौदामा छुटेका विषयलाईसमेत समावेश गर्ने गरी छलफल गरिरहेको छ । यसपछि तयार न्यूनतम साझा कार्यक्रम शीर्ष तहमा बुझाइने छ ।

कार्यदलका संयोजक खड्काले सरकारले गर्ने कामका विषयको सन्दर्भमा रहेर न्यूनतम साझा कार्यक्रम तयार गर्ने काम भइरहेको जानकारी दिए । 
‘सरकारसँग सम्वन्धित विषयमा न्यूनतम कार्यक्रमको ड्राफ्ट बनाएका छौं, कार्यदलका सदस्यहरुबीच यस विषयमा छलफल र संवाद गरिरहेका छौं, सरकारले केके गर्ने भन्ने कुरा हामीले साझा कार्यक्रममा ल्याउँदैछौं,’ कार्यदलका संयोजक खड्काले भने ।

सरकारको साझा कार्यक्रममा अहिलेको अवस्थामा जनताको स्वास्थ्य सरोकारसँग प्रत्यक्ष जोडिएको कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी अघिल्ला सरकारले विभिन्न निकाय र क्षेत्रमा गरेका देशभरका राजनीतिक नियुक्तिका विषयलाई प्रक्रिया पुर्याएर कसरी खारेजीको प्रक्रियामा लैजाने भन्ने विषय पनि उल्लेख छ ।

यस्तै जनता समाजवादी पार्टी, नेपालले विगतदेखि नै उठाउँदै आइरहेको संविधान संसोधनको मुद्दाका विषयलाई पनि सरकारको साझा कार्यक्रममा राखिंदै छ । न्यूनतम साझा कार्यक्रममा सरकारको प्राथमिकता के हो भन्ने स्पष्ट पारिने कार्यदलले जनाएको छ ।

कार्यदलमा कांग्रेसबाट डा.मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादीबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ