arrow

सुजिता हत्या प्रकरण : बाबुकै संलग्नतामा देवरले हत्या गरेको निष्कर्ष

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ साउन १८ सोमबार
sujita-thakur.jpg

जनकपुरधाम । सुजिता हत्या प्रकरणमा सुजिता ठाकुरका आफ्नै बाबुसहित थप तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। सुजिता हत्यामा संलग्नता देखिएपछि बाबु कामेश्वर पाण्डेय, सुजिताकी नन्द अन्जु ठाकुर र स्थानीय प्रमोद मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देवर रुपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । बाबु कामेश्वर र देवर रुपेशले आफ्नो इज्जत र प्रतिष्ठाको विषय बनाउँदैकै मिलेमतोमा सुजिताको हत्या गरेको एसपी आचार्यले जानकारी दिए। 

उनले भने ,'घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन । त्यसलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको पाइयो,’ यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

त्यस्तै सुजिताका नन्द अन्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मद्दत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म उनका देवर रुपेशसहित सात जनालाई पक्राउ गरिसकेको एसपी आचार्यले जानकारी दिए।

रुपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ