arrow

मन्त्रीपरिषद् विस्तारमा अझै समय लाग्ने : माधव नेपालले मागे चार दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको छ । गठबन्धन आबद्ध सबै दलको सहभागितामा सरकार विस्तार गर्ने विषयमा शीर्ष नेताहरू सहमत भएपछि मन्त्रीपरिषद् विस्तारमा अझै केही दिन समय लाग्ने देखिएको हो । 

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन आबद्ध दलका शीर्ष नेतृत्वको बैठक बसेको थियो । सो बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालले चार दिन समय मागेको भन्दै केही दिन कुरेर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न देउवालाई आग्रह गरेका थिए ।
 
एमाले नेता नेपालले भने आफ्नो दल भित्रको अवस्था हेरेर सरकारमा जाने नजानेबारे निर्णय दिने गठबन्धन आबद्ध दलका नेताहरूलाई भन्दै आइरहेका छन् । उच्च स्रोतका अनुसार प्रचण्डको सो आग्रहपछि प्रधानमन्त्री देउवा मन्त्रीपरिषद्लाई पूर्णता दिनबाट रोकिएका छन् । तर देउवाले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ हुँदा आलोचना भइरहेको भन्दै जतिसक्दो छिटो निर्णय गरेर अघि बढ्नु पर्ने भनेका छन् । 

‘सोमबारको बैठकमा प्रचण्डले माधव नेपालले चार दिन समय मागेको सुनाउनु भयो, त्यसपछि मन्त्रीपरिषद् विस्तारमा उहाँलाई केही दिन कुर्ने भन्ने सहमति भयो, तर प्रधानमन्त्री भने अब धेरै दिन नलगाऔँ भन्नेमा हुनुहुन्छ,’ स्रोतले भन्यो । 

सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव मन्त्रीपरिषद् विस्तारबारे पावर सेयरिङ टुङ्गो लगाउन भन्दै बैठक बसेका थिए । मङ्गलवार (आज) भने बिहानै प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । 

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले सरकारको नेतृत्व गरेको आज मङ्गलवार २२ दिन पुगेको छ । सरकारमा हालसम्म प्रधानमन्त्रीसहित चार फुल मन्त्री र एक राज्यमन्त्री गरी छ जना छन् । स्वास्थ्य मन्त्रालय राज्यमन्त्रीको भरमा छ । 

हालको सत्ता गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जसपा, नेकपा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा गरी पाँच दल आबद्ध छन् । यो गठबन्धनबाट सरकार विस्तारमा ढिलाइ हुँदा सरकारको आलोचना हुँदै आइरहेको छ । 

सत्ता गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाले भने सरकारमा नजाने बताइसकेको छ । यस्तै मुख्य नेतृत्वकर्ता दल काँग्रेसबाट अझै कोको मन्त्री बन्ने टुङ्गो लागेको छैन । काँग्रेसमा गुट अनुसार मन्त्रीको लिस्ट बनाउनु पर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन् । 

यसै गरी माओवादी केन्द्रमा मन्त्रीका लागि आकाङ्क्षी धेरै हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हैरानीमा छन् । जसपाले समेत सरकारमा पठाइने मन्त्रीका बारेमा निर्णय लिन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ