arrow

कोरोना भन्दा भोकमरीको पिर : सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट मुगलान पसे एक लाख बढी नेपाली

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ साउन २१ बिहिबार
gaurifanta-naka.jpg

कञ्चनपुर । यो वर्षको साढे ३ महिना भित्र सुदूरपश्चिम प्रदेश स्थित नेपाल-भारत सीमा नाका डोकेबजार गौरीफन्टा हुँदै रोजगारीका लागि मुगलान पस्नेको सङ्ख्या एक लाख नाघेको छ । गरिबी , भोकमरी र बेरोजगारीका कारण जहान परिवारको पालन पोषण गर्न आवश्यक पैसा कमाउन रोजगारीका लागि भारत मुगलान पस्ने सुदूरपश्चिम वासीको सङ्ख्या २०७८ को वैशाख यता ३ महिना २० दिन भित्र मात्रै १ लाख ६ हजार ८५ पुगेको छ । 

कञ्चनपुरको डोकेबजार - गौरीफन्टा नेपाल भारत नाकामा व्यवस्थित आवागमन र सुरक्षाको व्यवस्थापनका लागि खटिएको प्रहरी चौकी डोकेबजारले सङ्कलन गरेको तथ्याङ्क अनुसार यो नाका हुँदै भारतका विभिन्न स्थानहरूमा जाने सुदूरपश्चिमवासीको सङ्ख्या सबै भन्दा बढी असार महिनामा ५२ हजार ८५१ जना र साउन महिनाको २० गते सम्म ३५ हजार ९१३ जना रहेको छ । 

त्यसै गरी वैशाख महिनामा ४ हजार १२१ र जेठ महिनामा १३ हजार २०० जना रोजगारीका लागि भारत पस्नेको तथ्याङ्क रहेको छ । रोजगारीका लागि भारतका दिल्ली , पन्जाब , महाराष्ट्र , तमिलनाडु , गुजरात , केरल लगायतका विभिन्न स्थानहरूमा जाने नेपालीहरूको सरदर दैनिक सङ्ख्या १ हजार देखि २ हजार जना रहने नेपाल प्रहरीको डोकेबजार सीमा नाका सुरक्षाको जिम्मा पाएको परासन प्रहरी चौकी डोकेबजारका इन्चार्ज प्रहरी नायव निरीक्षक खडक जंग शाहीले बताए । 

स्वदेशमा रोजगारीको अवसर नपाए पछि रोग , भोक र शोकले मर्नु भन्दा मुगलान पस्नु बेस भन्दै कोरोनाको कहर बिच भारत जानू सुदूरपश्चिमवासीको बाध्यता बन्दै आएको छ । मुलुकमा थुप्रै राजनैतिक परिवर्तन आए पनि रोग , भोक र सन्तानको शिक्षा दीक्षाका लागि आर्थिक जोहो गर्न भारतका गल्ली गल्लीहरूमा भौँतारिनु पर्ने सुदूरपश्चिमवासीको व्यथामा भने परिवर्तन आएको छैन । 

स्वदेशमा रोजगारी पाउने वातावरण तयार गर्न सरकारको पहल नदेखिए पछि मुगलान पस्नु बाहेकको विकल्प नरहेको डोकेबजार-गौरीफन्टा नाकामा लामबद्ध भारत पस्न हतारिएका सुदूरपश्चिमवासीहरू बताउँछन् । 

जहान परिवार सँग बस्न कसलाई मन नहोला र गाउँमा रोजगारी केही छैन मजदुरी नगरी परिवार धान्न नसके भए पछि भारतको गुजरात जान लागेको कैलालीको मसुरियाका भगत विकले बताए । गाउँ र नेपाली बजारमा समेत पर्याप्त रोजगारीको अवसर नपाइने पाइए पनि तलब अत्यन्तै थोरै हुने भएकोले भारतका सहरहरूमा आफ्नो श्रम बेच्न बाध्य हुन परेको मुगलान पस्न हतारिएका नेपालीहरू बताउँछन् । 

भारतको महाराष्ट्र रोजगारीका लागि जान नेपाल-भारत सीमा नाका डोकेबजार पुगेका कञ्चनपुरको शुक्लाफाँटाका नरेश महरा भन्छन् - सरकार फेरिए , नेता फेरिए तर पनि हाम्रो बाध्यता उहीँ छ । छोराछोरीको शिक्षा दीक्षा र परिवारको लालन पालन गर्न भारत नगई हुँदैन । 

दैनिक जीवन यापनका लागि सामान्य आर्थिक जोहो गर्न गाउँ घरमा विकल्प नदेखिए पछि प्रवास जान पर्ने बाध्यताले छल्किएको व्यथा डोकेबजार स्थित नेपाल-भारत सिमानाकामा पुगेका सुदूरपश्चिमवासीको अनुहारमा सजिलै देखिन्थ्यो । 

घाँस काट्दा लडेर श्रीमती घाइते भएको खबर पाए पछि जेठको अन्तिममा घर आएर अहिले श्रीमतीलाई उपचार गर्न सजिलो होला भनेर सँगै भारत लैजान लागेको डोटी जोरायलका जङ्ग शाहीले बताए । गाउँमा थोर बहुत पाखो बारी भए पनि बढ्दो महँगाइका बेला गाउँको आयस्ताले नथेग्ने भएकाले मुगलान पस्न पर्ने बाध्यता भएको शाही बताउँछन् । 

रोजगारीकै लागि बर्सेनि भारतका गल्लीहरूमा भौँतारिन पर्ने सुदूरपश्चिमवासीको पीडा कम गर्न सरकारले प्रवासी नागरिक लक्षित नीति तथा कार्यक्रम ल्याएर उनीहरूको सीप , क्षमता र श्रम स्वदेशमै लगानी हुने वातावरण बनाउनु पर्ने जानकारहरू बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ