arrow

यूएन प्रि-स्याट प्रश्नपत्र लिक प्रकरण: एक डीएसपीको सूचनाले प्रहरी संगठनको गरिमा बचायो

तीन प्रहरीलाई बर्खास्त गर्न सिफारिस, जवानदेखि एसपीसम्म ११ लाई विभागीय कारवाही

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
DS-Pathak-DSP.jpg

काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन)को शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको प्रि-स्याट छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ प्रकरणमा ११ जना प्रहरी दोषी रहेको पुष्टी भएको छ ।

प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले प्रहरी महानीरिक्षक शैलेश थापा क्षेत्रीलाई बुधबार बिहान छानबिन सकेर प्रतिवेदन बुझाएको हो । प्रहरी महानीरिक्षाको सचिवालयका डीआइजी वसन्त लामाको संयोजकत्वमा गठित समितिले छानबिन सकेर ५५० पृष्ठ लामो प्रतिवेदन प्रहरी महानीरिक्षक थापालाई बुझाएको प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिए ।

प्रतिवेदनमा समितिले प्रश्नपत्र लिक प्रकरणमा मुख्य दोषी देखिएका प्रहरी नायब निरीक्षक जनक थापा, परिचर सुरेश बम र हवल्दार कुमार शाहलाई प्रहरी सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको छ । हवल्दार शाहले यूएन शाखाबाट प्रश्नपत्र झिकेर भाइबरमार्फत आउट गरेको पुष्टी भइसकेको छ ।

को-को परे कारवाहीमा ?

प्रश्नपत्र लिक भएपछि गठित छानबिन समितिले तीन दर्जन प्रहरी कर्मचारीलाई छानबिनको दायरामा तानेर सोधपुछ गरेको थियो । सो क्रममा उनीहरुले चलाएका मोबाइल, समाजिक संजाल लगायतका प्रविधिको प्रयोगको समेत अनुसन्धान गरिएको थियो ।

सो क्रममा संलग्नता पुष्टी भएपछि समितिले दुई एसपीसहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । कारवाहीमा पर्नेमा यूएन शाखाका प्रमुख रहेका एसपी अनुपमशमशेर जबरासमेत छन् । यूएन शाखामा रहेको प्रश्न उनीसँगै चाबी भएको दराजमा थियो । तर उनी घर भएको समयमा प्रश्न चोरी भएको थियो ।

यसैगरी परीक्षा संचालन समितिका एसपी वेद विष्टसमेत विभागीय कारवाहीका लागि सिफारिसमा परेका छन् । यस्तै प्रहरी निरीक्षक ईश्वरी भण्डारी पनि कारवाहीका लागि सिफारिसमा परेका छन् । उनीहरुले प्रश्नको सुरक्षा गर्न नसकेको प्रतिवेदनमा भनिएको छ ।

यसैगरी डीएसपी रुपेश खड्का, अर्का डीएसपी सुगन्ध श्रेष्ठ, प्रहरी निरीक्षक दिलीप क्षेत्री, प्रहरी नायब निरीक्षक केदार तिमिल्सिना, प्रहरी नायब निरीक्षक सुनील भण्डारी, प्रहरी नायब निरीक्षक केशव कार्की, प्रहरी सहायक निरीक्षक अशोक कार्की, प्रहरी जवान सुनिता नेपाललाई पनि विभागीय कारबाहीका लागि छानविन समितिले सिफारिस गरेको छ । डीएसपी खड्का पहिले यूएन शाखामा नै कार्यरत थिए । 

ती डीएसपी जसले प्रश्नपत्र बाहिरिएको सूचना दिए

प्रि-स्याट प्रश्नपत्र आउट भएको सुचना प्रहरी प्रधान कार्यालयले परिक्षार्थीबाट नै पाएको थियो । सो सुचना पाएपछि प्रधान कार्यालयले पहिले सत्यतथ्य बुझेको थियो । र सुचना भरपर्दो भएको पाइएपछि प्रधान कार्यालयले आन्तरिक छानबिन अघि बढाएको थियो ।

आउट भएको प्रश्नपत्र परिक्षार्थी रहेका युएन शाखामा नै कार्यरत डीएसपी बासु पाठकलाईसमेत पुगेको थियो । उनले प्रश्नपत्र आइलागेपछि तत्कालै सो बारे उपल्लो निकायमा जानकारी दिएका थिए । र प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको रहस्य खुलेको थियो । त्यसपछि प्रधान कार्यालयले डीआइजी नेतृत्वमा छानबिन समिति बनाएर छानविन थालेको हो । समितिलाई समेत डीएसपी पाठकले दिएको सुचना नै छानबिनका लागि सहयोगी बनेको थियो ।

‘डीएसपी बासु पाठकले दिएको सुचनाले नै यो प्रकरणको छानबिनका लागि एउटा चित्र तयार गर्यो, यसले प्रहरी संगठन भित्रको विकृतीलाई मात्रै रोकेन, संगठनको गरिमालाईसमेत उचाइ थप्यो,’ छानबिन समितिका एक सदस्यले भने । 

११९ जनाको हातमा पुगेको थियो प्रश्नपत्र

छानबिन समितिले तयार गरेको छानविनपछिको प्रतिवेदन अनुसार प्रश्नपत्र लिकभएपछि परिचर हुँदै विभिन्न तहका ११९ प्रहरी कर्मचारीसम्म पुगेको पाइएको छ ।

प्रधान कार्यालयले १५ र १६ गतेका लागि सातै प्रदेश र उपत्यकामासहित गरी २ हजार ४ सय परिक्षार्थीहरुसँग प्रिस्याट परिक्षा लिंदै थियो । तर १६ गतेको परिक्षा अगावै प्रश्नपत्र बाहिरिएको पुष्टी भएको थियो । त्यसपछि प्रधान कार्यालयमा भएको परिक्षाका लागि भने नयाँ प्रश्नपत्रको सेट तयार गरेर परिक्षा संचालन गरेको थियो । 

सबै परीक्षा रद्द
यूएन शाखाको लापरबाहीका कारण प्रश्नपत्र बाहिरिएको ठहर गर्दै छानबिन समितिले सबै परीक्षा रद्द गर्न प्रतिवेदनमार्फत प्रहरी महानीरिक्षकलाई सिफारिस गरेको छ । समितिले सबै परीक्षा रद्द गरेर नयाँ परिक्षा लिन भनेको हो । सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेर अनुसन्धान गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ