arrow

बार काउन्सिलको स्थापना दिवस : १२ बुँदे डडेलधुरा घोषणा पत्र जारी 

logo
राम धामी,
प्रकाशित २०७८ साउन २७ बुधबार
ddl-bar.JPG

डडेलधुरा । सक्षम मर्यादित र व्यवसायीक कानुन व्यवसायी निर्माणका निमित्त नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० अन्तर्गत गठित नेपाल बार काउन्सिलको २८ औँ स्थापना दिवस बुधबार डडेलधुरामा भव्य रूपमा मनाइएको छ । 

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा क्रियाशील अधिकांश कानुन व्यवसायीहरू तथा सरोकारवालाहरू सहभागी सो कार्यक्रम पश्चात् नेपाल बार काउन्सिलको प्रदेश स्तरीय संरचना गठन गर्नका लागी सम्बन्धित निकायमा पहल प्रयास गर्ने गराउने लगायत १२ बुँदे डडेलधुरा घोषणा पत्र जारी गरिएको छ । 

घोषणा पत्रमा सुदूर पश्चिमको कानुनी इतिहास लेखनका लागी प्रदेशस्तरीय समिति गठन गरिएको छ । कानुनी विषय सन्दर्भको वार्षिक बुलेटिन प्रकाशित गर्न अधिवक्ता डा. केदारचन्द्र भट्ट, अधिवक्ता विष्णुदत्त भट्ट, उद्धवराज भट्ट, कृष्णबहादुर ऐर र सु.प. कानुन समाज सदस्य रहनेगरि पाँच सदस्यीय समिति गठन गरि जिम्मेवारी दिने र हरेक परिषद् दिवसमा सो को विमोचन गर्ने गराउने घोषणा पत्रमा जनाइएको छ । 

डडेलधुराका बासिन्दा स्व. प्रधान न्यायाधीश रत्नबहादुर विष्ट र कञ्चनपुरमा क्रियाशील स्व. वरिष्ठ अधिवक्ता विश्वेश्वरप्रसाद भट्टको जीवनी योगदान र दर्शन सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन तयार गरिने घोषणा पत्रमा जनाइएको छ । कानुन व्यवसायीहरूको आचारसंहिता पूर्ण रूपमा पालन गर्न र कार्यान्वयन गर्ने आवश्यक भएको हुँदा सोको अनुगमन गर्न बार काउन्सिलका प्रदेश पार्षद् प्रकाश पाण्डेयको संयोजकत्वमा हरेक वार युनिटका अध्यक्ष सदस्य रहनेगरि प्रदेश स्तरीय अनुगमन समितिको गठन गर्न नेपाल वार काउन्सिललाई आग्रह गर्ने घोषणा पत्रमा भनिएको छ । 

उच्च अदालतले बार बेन्चको बैठक गर्दा आफ्नो क्षेत्राधिकार भित्र रहेका बार इकाईहरूका अध्यक्ष तथा सचिवलाई अनिवार्य रूपमा आमन्त्रण गर्न आग्रह गरिने घोषणा पत्रमा उल्लेख छ । नेपाल बार एसोसिएसनको पुनर्संरचना गरि प्रदेशस्तरीय बार एकाइ वा उच्च अदालतको बार गठन गर्दा सबै बार एकाइको प्रतिनिधित्व हुने गरी गठन गर्न नेपाल वार एशोसिएशनलाई आग्रह गर्ने, कानुन ब्यवसायीहरुको क्षमता र कार्यक्षेत्रको विकासका लागि रणनीतितक योजनाका आधारमा प्रदेश स्तरीय रणनीतिक योजना तर्जुमासरि अगाडी बढाउने घोषणा पत्रमा जनाइएको छ । 

सुदूरपश्चिम प्रदेशका सबै अदालतबाट न्याय सहज छिटो छरितो र प्रभावकारी बनाउन भूमिका निर्वाह हुनुपर्ने, अर्धन्यायिक निकाय र स्थानीय तहका न्यायिक समितिको कार्य क्षमताको अभिवृद्धि तथा प्रभावकारी बनाउन ठोस योजना बनाइ कार्यान्वयन गर्न वार युनिटहरूको भूमिका आवश्यकता महसुस भएमा सो का लागी सकारात्मक भूमिका निर्वाह गर्ने र न्याय क्षेत्रमा अघोषित साँटगाठको कुरा आएकाले सो को निदानका लागी सम्बन्धित पक्ष आजैको मितिबाट शुद्धीकरण अभियानको थालनी गर्ने गराउने घोषणा पत्रमा उल्लेख गरिएको छ । 

उच्च अदालत दिपायलका मुख्य न्यायाधीश तेजबहादुर कार्कीको प्रमुख अतिथ्यता र नेपाल वार काउन्सिलका पार्षद् अधिवक्ता प्रकाश पाण्डेयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको समेत सहभागिता रहेको डडेलधुरा जिल्ला अदालत बार इकाईका अध्यक्ष अधिवक्ता लालबहादुर जाग्रीले बताए । काउन्सिलको स्थापना दिवस नेपालका सात वटै प्रदेशमा एक साथ मनाइको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ