arrow

वर्षातकै बेला बडम गाउँमा खानेपानीको हाहाकार 

logo
राम धामी,
प्रकाशित २०७८ साउन ३१ आइतबार
tap-water.jpeg

डडेलधुरा । डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका-२ बडम गाउँमा वर्षातको समयमा पनि खानेपानीको हाहाकार मच्चिएको छ । बडम क्षेत्रका १२ गाउँमा वर्षौँदेखि खानेपानीको हाहाकार मच्चिएको हो । वर्षातको यो समयमा गाउँ भन्दा तल रहेका कुवाबाट स्थानीयले खानेपानीको जोहो गरे पनि गर्मीयाममा भने पानीको चरम अभाव भोग्ने गरेका छन् । बडमगाउँका १२ वटा बस्तीहरूमा करिब आठ सय घरधुरी छन् । १२ वटा बस्तीमध्ये अहिले कुनै पनि बस्तीमा खानेपानीको उचित प्रबन्ध हुन सकेको छैन । 

२०५१ साल र त्यसपछि बनेका खानेपानी योजनाहरू मर्मत सम्भारको अभावमा जीर्ण बन्दा बडम गाउँमा पानीको चरम अभाव चुलिएको हो । १५ देखि ३० मिनेटको पैदल दुरीमा रहेका कुवाबाट उकालो बाटोमा पिठ्युँमा पानीका ग्यालेन बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता बडम गाउँवासीको छ ।

गर्मीयाममा नौलाको पानी सुक्ने भएकाले गाउँभन्दा एक घण्टाको पैदल दुरीमा रहेको रडुवा खोलाबाट पानीको जोहो गर्नुपर्ने बाध्यता बडम गाउँवासीको रहेको स्थानीय पार्वतीदेवी अवस्थीले बताइन् । रातीको १२ बजे सम्म र बिहान ३ बजे देखिनै खानेपानी भर्न कुवामा बस्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिइन् ।
 
२०५१ सालमा पहिलो पटक खानेपानी योजना लागू भई गाउँमा खानेपानी पुगे पनि दुई वर्ष यता धारामा पानी नआएको स्थानीय जग्वा भुलले बताए । त्यसपछि २०६९ साल यता गाउँमा आठ वटा धारा बने पनि धारामा पानी नआएको उनी बताउँछन् । योजनामा रकम मात्रै आउने तर धारामा पानी नआउँदा पानीको हाहाकार भएको उनले बताए ।

गत आर्थिक वर्षमा काम सम्पन्न गर्ने लक्ष्यकारसाथ बाकल र बडम गाउँलाई सिमोटेर बृहत् खानेपानी योजना लागु गरिएको भए पनि ठेकेदारको ढिलासुस्तीका कारण योजना सम्पन्न भएको छैन । एक करोड ९० लाख लागतमा सङ्घीय सरकारको समपुरक बजेटमा बृहत् खानेपानी योजना लागू गरिएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कवीन्द्र विष्टले बताए । 

कोरोना महामारी र बर्सातका कारण योजना समयमै सम्पन्न नभएको उनले जानकारी दिए । ठेकेदारलाई कडाइका साथ चाडै योजना निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिइसकेको र केही दिनभित्रै योजना सम्पन्न हुने उनको भनाई छ । खानेपानीको चरम अभाव झेलिरहेका बडम गाउँका बासिन्दाहरूले पटक पटक योजना माग गरे पनि सुनवाइ नभएको स्थानीय अगुवा रामचन्द्र अवस्थीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ