arrow

स्वीकृति लिएरै गएका दुई हजार बढी नेपाली अफगानिस्तानमा, परराष्ट्रले पायो १५ सयको तथ्याङ्क

उद्धारका लागि तेस्रो मुलुकको भर

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ भदौ १ मंगलबार
foreign-affairs-1-ministry.JPG
फाइल तस्बिर

काठमाडौं । श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेकामध्ये करिब १५ सय जनाको तथ्याङ्क परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । तालिवानी समूहले सत्ता नियन्त्रणमा लिएपछि नेपाल सरकारले त्यहाँ रहेका आफ्ना नागरिकको तथ्याङ्क खोजी गरिरहेकोमा परराष्ट्र मन्त्रालयले हालसम्म करिब १५ सय जनाको तथ्याङ्क प्राप्त भएको जनाएको हो । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले करिब १५ सय नेपालीको तथ्याङ्क मन्त्रालयसँग प्राप्त भएको जनाएकी हुन् । उनले अन्य सरकारी निकायसँग भएको आधिकारिक आँकडा भने फरक हुनसक्ने उनले बताएकी छन् ।

‘हालसम्म करिब १५ सय जनाको तथ्याङ्क आएको छ, यद्यपि, वास्तविक आँकडा यो भन्दा पनि बढी हुनसक्छ,’ लम्सालले हाम्राकुरासँग भनिन् । 

वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले २ वर्षयता २ हजार १ सय २२ जनालाई अफगानिस्तानका लागि श्रम स्वीकृति दिएको बताए । 

दुई वर्षका लागि मात्रै श्रम स्वीकृति दिइने हुँदा आधिकारिक रूपमा अफगानिस्तान गएका नेपालीको सङ्ख्या २ हजार १ सय २२ रहेको निर्देशक भट्टराईले बताए । 

‘त्यो सङ्ख्या मध्ये केही देश फर्किसकेका होलान्, कोही अनौपचारिक तरिकाले तेस्रो मुलुकबाट अफगानिस्तान गए होलान्, वास्तविक तथ्याङ्क फरक हुनसक्छ,’ वैदेशिक रोजगार विभागका निर्देशक भट्टराईले भने ।

परराष्ट्र र वैदेशिक रोजगार विभागको तथ्याङ्कका आधारमा अफगानिस्तानमा २ हजारको हाराहारीमा नेपाली रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । 

अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये केहीको उद्धार भएको, केही उद्धारको क्रममा रहेका, केही सुरक्षित अवस्थामा रहेको र केहीले आफै सुरक्षित स्थानमा रहन सक्ने जानकारी दिएको मन्त्रालयकी परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताएकी छन् । 

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न नेपाल आफ्नै नेतृत्वमा सम्भव नभएका कारण अमेरिका, जापान, क्यानडा, जर्मनी, ईयु र युएन अन्तर्गतका एजेन्सीहरूलाई आग्रह गरिएको प्रवक्ता लम्सालले बताइन् । 

‘विभिन्न देश एवं संस्थाहरूलाई तपाइहरूको कर्मचारी उद्धार गर्दा हाम्रो नेपालीहरूलाई पनि उद्धार गर्दिनुस् भनेर लिखित रूपमा अनुरोध गरेका छौं, प्रवक्ता लम्सालले भनिन् ।

सोही आग्रह अनुसार अमेरिका र बेलायती दूतावासमा कार्यरत नेपालीहरूको उद्धार लगभग भइसकेको एवं हुने निश्चित भएको परराष्ट्रको भनाइ छ ।

तर, नेपाल आफैले अफगानिस्तानबाट नेपालीलाई ल्याउन सक्ने अवस्था नभएकै कारण बाँकी नेपाली कहिले नेपाल आइपुग्छन् अथवा अफगानिस्तानबाट उनीहरूको उद्धार कहिले हुनसक्छ भनेर ठ्याक्कै भन्न नसकिने उनको भनाइ छ ।

उद्धारका क्रममा कुनै पनि नेपाली नछुटुन् भनेर परराष्ट्रले पहल गरिरहेको बताएको छ । सामाजिक सञ्जालबाट समेत आआफ्नो मान्छे वा आफन्त अफगानिस्तानमा भएमा कहाँ छन्, कुन ठाउँमा छन् भन्ने जानकारी उपलब्ध गराउन सकेमा सहज हुने परराष्ट्रको भनाइ छ ।

सोमबार अफगानिस्तानबाट अमेरिकाले उद्धार गरी कुवेत पुगेकामध्ये सोमबार १ सय १८ जना नेपाली स्वदेश भित्रिएका छन् । अनौपचारिकरुपमा समेत अफगानिस्तानमा नेपाली गएको हुनसक्ने भएका कारण ठ्याक्कै कति नेपाली छन् भन्ने विषय भने अन्योलपूर्ण देखिन्छ ।

गृह मन्त्रालयले भने मङ्गलवार १ सय ४० नेपाली नेपाली अफगानिस्तानबाट तेस्रो मुलुक हुँदै काठमाडौं आइपुगेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ