arrow

सुँगुरको प्रतिमा निर्माणको चौतर्फी चर्चा: किराँत समूदायमा यसकारण पवित्र छ सुँगुर

logo
केदार कटुवाल
प्रकाशित २०७८ भदौ ३ बिहिबार
sugur-pratima.jpg

उदयपुर । पछिल्लो साता बेलका नगरपालिकामा किराँतहरुको आस्था र धरोहरको केन्द्र मानिएको बराहा अबतार मानिएको बँदेल (सुँगुर)को प्रतिमा स्थापनाले निकै चर्चा बटुल्यो । प्रतिमा निर्माणको विषय निकै आलोचित बन्न पुग्यो । करिब ६० लाख रुपैयाँ खर्च गरेर सुँगुरको प्रतिमा बनाएपछि सामाजिक संजाल राम्रैसँग तात्यो ।

प्रतिमा निर्माणको पक्ष र विपक्षमा बहस भए । धार्मिक र साम्प्रदायिक आक्षेपहरु लगाइए । कतिपयले यसलाई अनावश्यक खर्चका रुपमा बुझे । सुँगुरलाई फोहोरी पशुका बारेमा बुझनेहरुका लागि अभियन्ताहरुले किराँत संस्कृतिमा सुँगुरको महत्वबारे बुझाउने कोशिस गरे ।

किराँत साँस्कृतिक केन्द्र मानिएको बेलका नगरपालिका-७ मैनामैनी क्षेत्रमा विकासका पुर्वाधारले गति लिइरहेको अवस्थामा सुँगुरको पनि प्रतिमा बन्नु अनौठो थिएन । यो संस्कृतिको जगेर्ना र पर्यटक लोभ्या्उने काइदा थियो । केही वर्ष अघिसम्म विकासका पुर्वाधारले गति नलिदा मैनाराजा मैनीरानीको मन्दिरका साथै थुप्रै ऐतिहासिक पुरातात्त्विक र पर्यटकीय क्षेत्रको अस्तित्व संकटमा परेको थियो । पछिल्लो समय किराँतहरुको आस्था र धरोहरको केन्द्र मानिएको यस क्षेत्रमा बराहा अबतार मानिएको बँदेल ‘सुँगुर’ को प्रतिमा स्थापनाले चर्चा पाउनुलाई धेरैले अनौठो मानेका छन् ।

ललित कला प्रतिष्ठानको मुर्ति बिभागबाट तयार पारिएको बँदेलको प्रतिमा साथै त्यसको वरिपरिको साजसज्जा समेत ५८ लाखमा नगरपालिका संग सम्झौता गरि धनु याख्खाले निर्माण कार्य शुरु गरेको नगर प्रमुख दुर्गा कुमार थापाले जानकारी गराएका छन् । यसै बर्ष पार्क निर्माणका लागि प्रदेश सरकारबाट २५ लाख बिनियोजन भएको हो । उनका अनुसार बेलका नगरपालिका बहुजातीय ,बहुभाषिक, बहुसांस्कृतिक नगर भए पनि मैनामैनी ९० प्रतिशत किराँतहरुको बसोबास भएको क्षेत्र हो । किराँतहरु धर्म ,संस्कृति ,संस्कारमा यसको महत्व हुने र नजिकै बराहक्षेत्र पनि भएकाले यसको थप महत्व रहेको थापाले बताए ।

प्राप्त जानकारी अनुसार मैनामैनी क्षेत्र प्रचुर पर्यटकीय संभावना बोकेको र मैनाराजा मैनीरानी क्षेत्रमा तीन फिट जमिन खन्नासाथ मुर्ति फेला पर्ने गरेकाले यसको संरक्षण र सुरक्षित गरिएको बताइन्छ । त्यतिमात्र होइन उदयपुर-भोजपुर जोड्ने सुनकोसी नदमा चुहार-हसनपुर पुल निर्माणाधीन अबस्थामा छ । अन्तर्राष्ट्रिय राजमार्गका रुपमा किमाथांका जोड्ने सडक सोही स्थानबाट बन्ने भएकाले प्रदेश नं १ को महत्वाकांक्षी आयोजना मुन्धुम पदमार्गको थालनी बिन्दु पनि यहीँ रहेकाले यस क्षेत्रको बेग्लै महत्व रहेको नगर प्रमुख थापाले बताए ।

उक्त क्षेत्र अत्यन्तै संवेदनशील मानिएको लोपोन्मुख गिद्ध संरक्षित क्षेत्र सुगाचारी सोही स्थानमा पर्ने र अहिले पनि यहाँ आठसय जति गिद्धको बासस्थान रहेकाले पनि यो क्षेत्र ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको उनले बताए । विविध हिसाबले उक्त नगरपालिका महत्वपूर्ण भएकाले विविधताका लागि सुँगुरको प्रतिमा विशेष क्षेत्र , संरक्षित क्षेत्र, जातीय धार्मिक बहुल्यताको पहिचान गर्दै यस नगरपालिकाको वाडा १ र २ मा थारु बाहुल्यता भएकैले थारु संग्रहालय निर्माण सम्पन्न भएको छ ।

नगर प्रमुख थापाले आफू संविधानको परिपालक भएकाले सबै जातजाति, धर्म, सम्प्रदायको पहिचानका लागि हरदम लागिपरेको बताउँदै सुँगुरको प्रतिमा निर्माण गरेर संस्कृतिको जगेर्ना गर्ने प्रयास गरेको दाबी गर्छन ।

किराँतहरुको आस्था र बिश्वासको धरोहर मानिएको मैनीरानीलाई स्थानीयले सीतामाता, पार्बती, सुम्निमा र मैनाराजालाइ शिव, हिमालय पर्बतका छोरा, पारुहाङ भन्ने गरेका छन । तर यस क्षेत्र बिस्तारै अतिक्रमणमा परिरहेकाले विभिन्न तरिकाले संरक्षणको प्रयास गरिएको स्थानीय जनप्रतिनिधिहरुबताउँछन् ।

त्यस क्षेत्रमा अझैपनि लिच्छविकालिन शिव पार्वतीको मुर्ति सहितको मन्दिर संरक्षणको पर्खाइमा छ । चारैतिरबाट अतिक्रमणमा पर्न थालेको मन्दिर क्षेत्रमा पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण मानिएका ईटा ढुंगा समेत लोप हुँदै गएका छन् । पुल र सडक निर्माण कार्यले गति लिन सकेको छैन । बिद्युत बिस्तार भर्खरै भए पनि खानेपानीको समस्या ज्यूँकात्यूँ छ । हाङ्माचुङ डाँडामा रहेको मन्दिरका पुजारी मार्छा पाछाका रहेका छन र अधिकांश त्यहि पाछाका किराँतहरुको बसोबास रहेको छ । उनीहरु आफुलाइ ऋषि मुनिका सन्तान बताउने गरेको इतिहासविदहरुको तर्क छ ।

त्यस क्षेत्रबाट पुर्वीतर्फ देखिने बराहक्षेत्र हिन्दु धर्मावलम्बी माँझ महत्त्वपूर्ण मानिन्छ । हिन्दुहरुका प्रमुख चार धाम कुरुक्षेत्र, हरिहर क्षेत्र, मुक्ति क्षेत्र र बराह क्षेत्रको बराह पुराण, स्कन्द पुराण र महाभारतमा समेत बर्णन पाइन्छ । बराह अवतार भगवान बिष्णुको तेस्रो अवतार हो । हिरण्याक्ष दैत्यले पृथ्वी चोरेर पाताल पुर्याएको किंवदन्ती छ । त्यही बेला पृथ्वी र बेदको रक्षा गर्न बिष्णुले बराह अवतार लिइ दैत्यको संहार गरेपछि उनी कोका र कौशिका नदीको संगममा बसेको धार्मिक भनाइ छ ।

पृथ्वी बचाउन हामफालेको स्थल मैनामैनीको बराह बँदेलको प्रतिमा निर्माण स्थललाइ मानिए स्वरुप त्यस ठाउँमा स्मारक बनाउन लागिएको नगर प्रमुख थापाले प्रष्टीकरण दिएका छन । साँस्कृतिक केन्द्र भए पनि खोज अनुसन्धानको अभाव रहेको र नेपाली राजनीतिका युग पुरुष महामानब तथा साहित्यकार वीपी कोइरालाको कृति ‘सुम्निमा’मा बर्णित थलो यही मानिन्छ । त्यसैले पनि किराँत साँस्कृतिक केन्द्र मान्न सकिने इतिहासकार हरुको मत रहेको छ ।

त्यतिमात्र होइन पूर्वी पहाडको बहुसंख्यक जाति किराँतीका लागि सुँगुर एक पवित्र जनावर मान्ने गर्छन । किराँतीहरुको जन्म, मृत्यु, विवाह जस्ता मुख्य सांस्कृतिक अभ्यासमा सुँगुर अनिवार्य मानिन्छ । किराँतीहरु सुँगुरलाई गौरवका साथ आफ्नो जातीय भोजनको रुपमा लिने पनि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ