arrow

गाईजात्रा विशेषः 

केपीको टेलिफोन सम्वाद नबुझ्दा विद्याले पारिन् बित्यास

logo
बाबु नेपाली,
प्रकाशित २०७८ भदौ ७ सोमबार
oli-vidya-telephone.jpg

केपी शर्मा ओली र विद्यादेवी भण्डारी बीचको सम्बन्ध गाढा रहँदै आएको छ । ओली एमालेका अध्यक्ष र भण्डारी राष्ट्रपति । ओली अध्यक्ष भएकै बेलामा भण्डारी पार्टीकी उपाध्यक्ष थिइन् । ओलीकै जोडबलमा भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति बन्न सफल भइन् । त्यो पनि एक कार्यकालमात्र हैन दुई कार्यकाल । अहिले पनि जारी नै छ त्यो यात्रा । 

ओली र भण्डारीबीचको सम्बन्ध अजबको छ । ओली प्रधानमन्त्री हुँदा र भण्डारी राष्ट्रपति हुँदा ओली छिनछिनमा भेट्न बालुवाटारबाट शितलनिवास गइरहन्थे । उनी पदीय मर्यादा उल्लंघन गर्थे । भेट्न किन गएको भनेर कसैलाई पनि थाहा हुँदैनथ्यो । अर्थात् बताउने जरुरी ठानिदैन थियो । 

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बिना काम भेट्न पनि हुँदैन । तर ओली थाहा नदिई स्वाट्टै शितलनिवास छिर्थे । मिडियाले अलिकति तलमाथि पारे भने अरिंगाल खनिए जसरी खनिन्थे ओली । तर आफ्नो मर्यादाको ख्याल कहिल्यै गर्दैनथे । 

नभन्दै उनीहरु बीचको गुपचुप भेटले गर्दा नै दुई पटकसम्म संसद विघटन गरियो । संसद छलेर अध्यादेश ल्याइयो । संसद छलेरै विभिन्न संवैधानिक निकायमा असंवैधानिक तरिकाले नियुक्तिहरु गरियो । 

दुवैबीच औपचारिक कार्यक्रममा पनि अनौपचारिक हर्कत भइरहे । ओली र भण्डारी मिलेर संविधानको धज्जी उडाइरहे । 

सोही क्रममा ओली प्रधानमन्त्री छँदै उनले संसदबाट विश्वासको मत जित्न नसकेपछि गलत हर्कत अपनाएर फेरि प्रधानमन्त्रीको शपथ खाए । त्यो शपथ भने आलोचनात्मक भयो । 

ओलीले शपथमा खानुपर्ने कशम खाएनन् । वाचा निभाएनन् । भण्डारीले पनि पर्दैन भने ठिकै छ भनिन् । ओलीले ‘त्यो पर्दैन’ भने विद्याले ‘हिही’ हाँसेर टारिन् । 

यो प्रसङ्ग संविधानको धज्जी उडाउन काफी थियो । शपथको खिलापमा थियो । ख्यालठट्टा थियो । लोकतन्त्रमाथिको गाईजात्रा थियो । 

अहिले ओली प्रधानमन्त्री छैनन् । प्रधानमन्त्रीबाट हटेपछि ओलीले भण्डारीलाई बालकोटबाट टेलिफोनमा संवाद गर्दा हुन् । किनकि प्रमुख प्रतिपक्ष दलको नेता बिना कारण राष्ट्रपतिलाई भेट्न जान त मिलेन । तसर्थ बालकोटबाटै गरिएको यो गाईजात्रे टेलिफोन सम्वाद–
ओलीः नमस्कार गरेँ राष्ट्रपति ज्यू । 
भण्डारीः नमस्कार । के हो तपाई भेट्न नआउने ? 
ओलीः त्यो पर्दैन । अहिले आइरहन मिल्दैन । 
भण्डारीः म आउँछु नि त । 
ओलीः त्यो मिल्दैन । अहिले पोर्टफोलियो फरक छ । 
भण्डारीः हामीलाई पोर्टफोलियोले कहिले रोकेको थियो र । 
ओलीः त्यो हो । म सत्ता बाहिर भएकाले तपाईलाई अप्ठेरोमा पार्न सक्छन् । 
भण्डारीः अप्ठेरोमा पर्न त उनीहरुसँग दुई तिहाई हुनुपर्यो नि । 
ओलीः अप्ठेरोमा पर्ने भए पनि केही छैन म राजनीतिमा व्यवस्था गर्छु । 
भण्डारीः मलाई सल्लाह त दिइरहनुस् है मैले के के गर्ने भनेर । 
ओलीः म भन्दै जान्छु नि । 
भण्डारीः तपाईले नै भनेको सुझाव मानेर प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा देउवालाई गएँ पनि नभनी हिँडिदिएँ नि म । 
ओलीः ठीक गर्नुभयो । गर्ने नै त्यस्तै हो । 
भण्डारीः अरु के के गर्ने ? 
ओलीः असहयोग । तर बुद्धि पुर्याएर । 
भण्डारीः दल फुटाउने अध्यादेश मेरो टेबुलमा आयो के गरौं ? 
ओलीः त्यो हुन्छ त कहीँ........(ट्यार्र टुर्र फोनको आवाज बुझिएन) । 
भण्डारीः हुन्छ हुन्छ एक दिन अल्झाउँछु । अर्को दिन पारित गर्दिन्छु ।
एक दिनपछि, 
ओलीः हैन त्यो अध्यादेश किन ल्याउन दिनुभयो ? 
भण्डारीः तपाईले नै हुन्छ भन्नुभयो । त्यसैले । 
ओलीः बित्यास नै पार्नुभयो नि । सम्वाद नबुझेर बित्यास पार्नुभयो । 
भण्डारीः अब के हुन्छ ? 
ओलीः केही हुँदैन । कुचोले बढार्नु पर्ने एमालेका केही नेताहरुलाई यही अध्यादेशबाट बाहिर फालियो । जे भयो ठीकै भयो । 
भण्डारीः कसरी नि ? 
ओलीः ऊ (माधव नेपाल) भएको भए भागबण्डा गर्दा हैरान हुन्थ्यो । अब ढुक्क भइयो नि त । 
भण्डारीः मलाई पनि राम्रै होला नि है ? 
ओलीः मपछि पार्टीको बागडोर सम्हाल्ने तपाई त हो नि । ढुक्क हुनुस् । 
भण्डारीः मलाई यो रहर छ । 
ओलीः तपाईका सबै रहर पूरा गर्दै त आइरहेको छु नि । यो पनि पूरा हुन्छ चिन्ता नगर्नुस् । 
भण्डारीः हस् कमरेड अभिवादन ।

ओलीः त्यो पर्दैन । 
भण्डारीः हिहि..।।


 



नयाँ