- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारबारे छलफल तिव्र बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठवन्धन आवद्ध दलका शीर्ष नेताहरुबीच आज आइतबार विहान छलफल भएको हो ।
छलफलमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहभागी भएको वालुवाटार स्रोतले जनाएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भने पार्टीको कार्यक्रममा उपत्यका बाहिर रहेकाले सहभागी थिएनन् । सो छलफलमा प्रधानमन्त्री देउवाले महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुन इच्छा देखाएको बारे गठवन्धन आबद्ध नेताहरुलाई जानकारी गराएका छन् ।
उच्च स्रोतका अनुसार ठाकुर सरकारमा आए दुई मन्त्रालय दिन सकिने विषयमा कुराकानी भएको छ । तर ठाकुर पक्षले भने तीन मन्त्रालयमा दाबी गरेको छ ।
२९ असारमा प्रधानमन्त्री बनेका देउवा सरकारमा हालसम्म चार फुल मन्त्री र एक राज्यमन्त्री मात्रै छन् । अन्य मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले सम्हाल्दै आइरहेका छन् । लोसपा नेतृ चन्दा चौधरीले सरकारमा सहभागी हुने सम्भावना बढेको जानकारी दिइन् ।
‘प्रधानमन्त्रीज्यूसँग छलफल निरन्तर भइरहेको छ, छलफल सकरात्मक पनि छ, सम्भवतः हामी सरकारमा जान्छौं, दुई वा तीन मन्त्रालय हामीलाई दिने प्रधानमन्त्रीले बताउनु भएको हो,’ नेतृ चौधरीले हाम्राकुरासँग भनिन् । सो समूह सरकारमा सहभागी हुँदा सत्ता गठवन्धनमा रहेका दलले पाउने संख्या भने केही कम हुने छ ।
यसअघि गठवन्धन आबद्ध दलमा भएको सहमती अनुसार कांग्रेसले कूल ७, माओवादी, नेकपा एस र जसपाबीच समान रुपमा एक राज्यमन्त्रीसहित ६/६ मन्त्रालय बाँडफाँड गर्ने सहमति थियो ।
संविधानमा भएको व्यवस्था अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कूल २५ मन्त्री राख्न पाउँछन् । प्रधानमन्त्री देउवाले सकेसम्म सोमबार नभए मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने उनी निकट एक नेताले जानकारी दिए ।