arrow

अविरल वर्षा: देशभर ९० हजारभन्दा बढी मानिस प्रभावित, सप्तकोशी र नारायणीको बहाव उच्च

चार हजार ५०० घर डुबानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
duban.jpg
फाइल तस्विर।

काठमाडौं। पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ एक विज्ञप्ति जारी गरी पछिल्लो तीन दिनमा मनसुनजन्य घटनाबाट नौ जनाको मृत्यु भएको र पाँच जना घाइते भएका जनाएको छ । उक्त अवधिमा ४२ घर पूर्ण क्षति भएको तथा सात सय ५६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यो वर्षाबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

प्राधिकरणले नेपालमा अधिकांश भेगमा वर्षा भएको र तराईको केही जिल्लामा डुबान तथा पहाडी क्षेत्रमा पहिराका घटना भइरहेको जनाएको छ । मुख्यगरी भारी वर्षाका कारण  धेरै क्षेत्रमा जनजीवन प्रभावित हुन पुगेको छ । अझै १५ गतेसम्म नै वर्षाको सम्भावना भए पनि आजदेखि भने केही घट्ने अनुमान गरिएको मौसम विज्ञान विभागले जनाएको छ । आज मात्रै विषयगत क्षेत्रमा सरकारी निकाय, सहयोगी तथा सरोकारवाला निकायको बैठक बसी जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा समन्वयात्मक रूपमा अघि बढ्ने निष्कर्ष निकालिएको छ । 

खोज, उद्धार तथा आश्रयस्थल तथा खाद्यान्न व्यवस्थापनमा स्थानीय तहसँगको समन्वयमा काम भइरहेको जानकारी गराइएको छ । खानेपानी सरसफाइ, प्राथमिक स्वास्थ्य सेवाका लागि समन्वयात्मक रूपमा अघि बढ्ने निर्णय पनि भएको छ । आवास पुनर्निर्माण तथा पुनर्स्थापना लागि यसअघि जारी भएको कार्यविधिअनुसार अघि बढेको जनाइएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, विभिन्न ठाउँमा कटान सुरु

पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

नदीको बहाव बढेसँगै अहिले ब्यारेजका ३८ वटा ढोका खुल्ला गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । चतरामा समेत कोशी नदीको जलस्तर बढेका कारण कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आङ्कलन गरिएको छ ।

यसैबीच सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेपछि श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान सुरु गरेको छ । नदीमा पानीको बहावमा आएको उतारचढावका कारण उक्त क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । सप्तकोशी नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको उनले जानकारी दिए । 

गरैया टापुका २० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । स्थानीयवासीलाई सुरक्षित स्थानमा ल्याउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको र उद्धार गर्ने कार्य भइरहेको उहाँले जानकारी दिए । 

नारायणीले सतर्कता तह पार गर्‍यो : उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ । नारायणी नदीले देवघाटस्थित बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नदी तटीय क्षेत्रका बासिन्दाले आज रातिसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताए । “नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,” पङ्गेनीले भने, “नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा ठुलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ ।” 

जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा नारायणी नदीको तटीय क्षेत्रमा बसोबास रहेको भन्दै ती स्थानमा डुबान र कटानको समस्या देखिएको पङ्गेनीले बताए । 

त्यसैगरी जिल्लाका अन्य खोलामा समेत बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । बर्खामा बाढी र पहिराको उच्च जोखिम रहेको भन्दै उद्धारका लागि सुरक्षाकर्मीसहितको उद्धार टोली तयारी अवस्थामा राखिएको उनले बताए । 

देवघाटको बाढी मापन केन्द्रका अनुसार आज अपराह्न ४ः४५ बजे नारायणी नदीमा पानीको बहाव ७.७ मिटर रहेको छ । नारायणी नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता तहको विन्दु मानिएको छ भने नौ मिटरलाई खतराको तह मानिएको छ । नारायणी नदीमा पानीको बहाव अहिले पनि निरन्तर बढ्दो क्रममा रहेको बाढी मापन केन्द्रले जनाएको छ । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ