arrow

'स्कुल छोड्नु परेमा चार आना सुन वा चालिसको माला बुझाउनु पर्थ्यो' 

 प्रेरणाका श्रोत बिरभान 'सर'

logo
दयाराम पण्डित,
प्रकाशित २०७८ भदौ १७ बिहिबार
birvan-sir.JPG

बाजुरा । खप्तड छेडेदह गाउँपालिका वडा ६ मैतोला निवासी बिरभान नाथ 'सर' ३८ वर्षे शिक्षण पेशा पूरा गरी गत महिना सेवाबाट निवृत्त भए । उनले अस्थायी र स्थायी गरी बाजुराका दूर दराजमा चार दशक भन्दा बढी समय गाउँ बस्तीका सामुदायिक विद्यालयमा अध्यापन गरे । सयै बाल बालिकालाई शिक्षा दिए ।  १० वर्षको उमेरमा विद्यालय गएका बिरभान सरले कक्षा एक देखि चारसम्म गाउँकै आटीचौर स्थित प्रावि स्कुलमा अध्ययन गरे । कक्षा पाँच पढ्नका लागि भानोदय मा.बि. नौविसमा गएर ५  वर्ष डेरा गरी पढाए । 

 २०३८ सालमा माध्यमिक शिक्षा पूरा गरे । एस. एल.सी.मा सेकेन्ड डिभिजन पास भएका नाथ सरको उच्च शिक्षा हासिल गर्ने रहर हुँदाहुँदै पनि जिल्लामा शिक्षक अभावका कारण एस.एल.सी. पछि जिल्लामै शिक्षण पेशामा समाहित हुनुपर्‍यो । बिरभान सर भन्छन् शिक्षा अहिलेको जस्तो त्यति बेला सर्वसुलभ थिएन ।  समुदायलाई आफ्ना बालबालिका पढाउनुपर्छ भन्ने धारणा नै थिएन । अझ दलित र महिलालाई त स्कुल जानुहुन्न भन्ने परम्परागत रुढीवादी मान्यता थियो । कतिले भन्थे छोरीलाई स्कुल पढाए बिग्रिन्छन् । दलितको हकमा त स्कुल जानुपर्छ पढ्नुपर्छ भन्ने सपना नै थिएन ।

 पचासको दशकमा आई पुग्दा पनि छोरीलाई स्कुल पढाउने प्रचलन थिएन । गाउँका मान्यजनकी छोरी उजा विष्टलाई २०५१ सालमा उनकै घरमा गई बुवालाई फकाएर स्कुल भर्ना गरे । त्यसरी २०५२ सालमा दल सार्कीकी छोरीलाई डोटी पढ्न पठाए । दलित र महिलालार्ई स्कुल पढाउन शुरु गरेपछि बल्ल गाउँलेले छोरीलाई पनि स्कुल पढाउनुपर्छ भन्ने चेतना आएको बताउँछन् ।  नाथ सरलाई आफ्नै गाउँको अनुभव छ ,यता सार्कीकी छोरी पहिलो पटक जिल्लाबाहिर पढ्न पठाएपछि दलितका पनि आँखा खुले र बालबालिका पढाउन थाले ।२०२९ सालमा कक्षा तिनमा पढ्दा चालिस रुपैंयामा सेकेन्ड ह्यान्ड किताब साथीबाट किनेर पढेको अनुभव सुनाउँछन् ।

 बाजुरामा शिक्षक नहुँदा छिमेकी जिल्ला बझाङ, अछाम र डोटीबाट शिक्षक आउँथे ।पञ्चायतकलामा बालाबालीकालाई स्कुल पढाउनुपर्छ भन्ने लहर भने चलेको थियो । गाउँ गाउँबाट बालबालिकालाई तानेरै स्कुल भर्ना गर्ने अभियान चलेको थियो । त्यति बेला अहिलेको जस्तो पैसाको सहजता थिएन । घरमा भएको अनाज,गरगहना र अचल सम्पत्ति पढाई खर्च बापत तिर्नु पर्थ्यो । स्कुल छोड्नु परेमा 'चालिसको माला,( चाँदीको माला ) चार आना सुन वा बरपाथे तामाको ताउलो राजा समक्ष बुझाउनुपर्थ्यो ।' 

 उक्त सम्पत्ति स्कुलमा बुझाइसकेपछि मात्र उसको नाम कट्टा गरिन्थ्यो । नाम कट्टा नगरी गयल बसेमा राजाले डाण्थे (दण्डित गर्थे) । दण्डित गर्ने डरले पनि स्कुल भर्ना भएका विद्यार्थीले अनिवार्य आउनु पर्थ्यो। गाउँका स्कुल गुरुकुल शिक्षा जस्ता थिए। शिक्षा कार्यालयले अनुमति मात्र दिन्थ्यो । सबै कुरा गाउँले समुदायले बेहोर्नु पर्थ्यो । माना पाथी उठाएर अनि प्रायजसो भारतको काला पहाड गएर कुल्ली काम गर्ने त्यहाँबाट कमाएर ल्याएको सम्पत्तिले शिक्षकको तलब दिनुपर्थ्यो । आफ्ना बुवाले पनि नैपालबाट कमाई ल्याएको सम्पत्तिले पढाई खर्च बेहोरेको नाथ सरको अनुभव छ । 
२०३७ सालमा बाजुरा जिल्लाको एस एलसी बोर्ड स्थापना भएको हो । सोही सालमा अछाम घर भएका एक जना विद्यार्थी मीनबहादुर स्वार मात्र पास भए । एस एल सी बोर्डमा एक जना मात्र पास भएपछि बल्लतल्ल पाएको बाजुरामा परीक्षा केन्द्र त्यो पनि सदरमुकाम मार्तडमा । परीक्षा बोर्ड ( केन्द्र नै काटिने ) भन्ने खबर आयो । पछिल्लो वर्ष म लगायत ६० प्रतिशत विद्यार्थी एस एल.सी. वर्डमा पास भएपछि परीक्षा बोर्ड पनि बाजुरामै कायम रह्यो । त्यसपछिका साथीहरूले जिल्लामै एस.एल.सी. परीक्षा दिन पाए । हामी पनि एस. एल. सी. पास । बोर्ड काटिने डर पनि हट्यो , नाथ सर त्यो बेलाको खुसी अहिले पनि साट्छन् ।

 गाउँमा पहिलो पटक एस एल सी पास भएपछि ' बुवा धन बिरे नाथले छिमेकी गाउँ आटिचौरबाट उखुको खुदो, ( उखुको रस तताएर बाक्लो बनाएको गुलियो तरल पदार्थ ) ओली गाउँबाट भाँगो ल्याउनुभयो । आमा बिन्दादेबी नाथले घरमा मार्सेका खाजा भुटेर मिठाईका रूपमा गाउँलेलाई भोज खुवाएको राम्रै अनुभव सुनाउनुभयो । '
 एस. एल. सी. पास हुने बित्तिकै उनका लागि शिक्षकको जागिरमा तानातान भयो । शिक्षा कार्यालयको चिठी बोकेर २०३९ सालमा मासिक रु.३२५।– पाउने गरी जनविकास प्राविमा नियुक्ति भए । 



नयाँ