arrow

सङ्खुवासभा सामूहिक हत्या प्रकरण : पैसा लुट्न हत्या भएको आशङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
hatya-murder.jpg

काठमाडौँ । सङ्खुवासभामा धारिलो हतियार प्रयोग गरेर एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानमा एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको घटनामा प्रहरीले तालिम प्राप्त कुकुर लगेरै अनुसन्धान गर्ने भएको हो । 

धरानबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटना के कारणले भयो भन्ने अहिले नै खुलेको छैन । प्रहरीले घटनास्थललाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ । 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार हत्याको कारण यही हो भन्न सकिने अवस्था अहिले नै नभए पनि घरमा नगद रहेको आशङ्कामा सोही पैसा लुट्नका लागि परिवारका सबैको हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान छ । सो परिवारका दुई छोराहरू एक जना मलेसिया र अर्का दुबईमा रहेको र विदेशबाट कमाएर पठाएको पैसाले जग्गा किन्ने तयारी हुँदै गर्दा घटना भएको अनुमान गरिएको हो । 

सो घटनामा ६ जनाको शव फरक फरक चार ठाउँमा भेटिएको थियो । अनुसन्धानमा संलग्न प्रहरीले हत्यामा सबैमाथि एकै पटक आक्रमण भएको र भाग्दै गर्दा हत्या गरिएको अनुमान लगाएका छन् ।‘घर भन्दा केही पर खोल्सामा दुई जना महिलाको शव भेटिएको छ, घरबाट माथितर्फ दुई बच्चाको शव भेटिएको छ, खोल्साबाट २५ मिटर पर पुरुषको शव छ, घरभित्र अर्की एक महिलाको शव भेटिएको छ ।’ घटनास्थलमा रहेका एक प्रहरीले भने ।
 
स्थानीय अगुवा चन्द्रभुण्डे गुरुङले मृतकको शव हेर्दा खुट्टामा चप्पल र गमबुटसमेत लगाएर भाग्दै गरेको जस्तो देखिएको जानकारी दिए । ‘मृतकको शव हेर्दा खुट्टामा चप्पल र गमबुटसमेत लगाएर भाग्दै गरेको जस्तो देखिन्छ, करिब १ सय ५० मिटरको दूरीमा अरू घरहरूसमेत छन्, तर कसैले पनि घटना भएको थाहा पाएनन्, अकल्पनीय र रहस्यमय घटना भएको छ,’ गुरुङले हाम्रा कुरासँग भने । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका डिएसपी लाल ध्वज सुवेदीसहितको प्रहरी टोली खटिएको छ । उनी घटनास्थल पुगिसकेका छन् । 
घरमा बौद्धमान कार्की नाम गरेका वृद्ध भने सकुशल भेटिएका छन् । उनले आफूहरू साँझ करिब ७ बजेतिर खाना खाएर सुतेको र बिहान उठ्दा कसैलाई नदेखेको प्रहरीलाई भनेका छन् । त्यसपछि खोजी गर्दा सबैको हत्या भएको पाइएपछि स्थानीयले प्रहरी र जनप्रतिनिधिहरू खबर गरेका थिए । सबैको हत्या हुँदा बाँचेका ती वृद्ध भने कान कम सुन्ने र आँखासमेत राम्रोसँग देख्न नसक्ने अवस्थाका छन् । 

प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी एवम् प्रवक्ता नविनराज राईले घटनामा धारिलो हतियार प्रयोग गरेर बीभत्स तरिकाबाट हत्या भएको देखिएको जनाए । 
घटनामा स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपक कार्की र ३ वर्षीया नातिनी गोमा कार्कीको हत्या गरिएको प्रहरीले जनाएको हो । अहिलेसम्म घटना कसले र के कारणले घटायो भन्ने खुलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ