arrow

पर्यटन क्षेत्र पुनरुत्थानका लागि सरकार निजी क्षेत्रबीच सहकार्य आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
chandra-dhakal-Lumbini-fncci.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण सङ्कटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्र बिच सहकार्यको जरुरी रहेको बताएका छन्।

मङ्गलवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घको कार्य योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठुलो सङ्कट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए। पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्व तयारी स्वरूप गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने धारणा राखेका छन्।

“हामीले नेपाल उद्योग वाणिज्य महासङ्घको तर्फबाट गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भनेर सरकारसमक्ष आग्रह गरिरहेका छौँ,” ढकालले भने, “पर्यटन क्षेत्र अहिले सुस्त छ भनेर हात बाँधेर बस्नु हुँदैन, विमानस्थल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिनुपर्छ।”

कार्यक्रममा ढकालले लुम्बिनी पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेको र लुम्बिनी क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा लुम्बिनी पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखेका छन्।

ग्लोबल आइएमई बैङ्कका अध्यक्षसमेत रहेका ढकालले आफूहरूले हालै मात्र ग्लोबल आईएमई बैङ्कका कर्मचारीलाई सुविधा स्वरूप उपलब्ध गराउँदै आएको वार्षिक १५ दिनको बिदामध्ये सात दिन अनिवार्य रूपमा नेपालभित्रै घुम्नुपर्ने व्यवस्था गरेको स्मरण गराए।

उनले भने, “ग्लोबल आइएमई बैङ्कमा लगभग ३५ सय कर्मचारी छन्, ती कर्मचारीको परिवारले सात दिन मात्र पनि आन्तरिक गन्तव्यमा घुम्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखेर नै यस्तो व्यवस्था गरेका हौँ, यो व्यवस्थाले लुम्बिनीसहित पोखरा, चितवन लगायतका क्षेत्रको पर्यटनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौँ।”

सरकारले ल्याएको बिदा पर्यटनसम्बन्धी कार्यक्रम कार्यान्वयन हुन नसकी रहेका बेला आफूहरूको सानो प्रयासले दूरगामी महत्त्व राख्ने ढकालको विश्वास छ।
ढकालले निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्ने, लगानी गर्ने क्षेत्रका रूपमा सम्मान दिनका लागि निजी क्षेत्रको एकताबद्ध आवाज बनाउनुपर्नेमा जोड दिए। 

बजेट, मौद्रिक नीति तथा कर सम्बन्धी नीतिमा हाल निजी क्षेत्रको सुझाव समेटिन सुरु भएको स्मरण गर्दै यसमा अझै अपुग रहेको उनको भनाइ छ। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ महासङ्घको संस्थापक र सबैभन्दा पुरानो सदस्य समेत भएकाले यसको सुझावले महासङ्घलाई नै मार्ग निर्देश गर्ने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ