arrow

सुदूरपश्चिममा १९ प्रतिशतले लगाए खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
Covid-vaccine-corona.jpg

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी यहाँ चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । झण्डै २५ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिमका नौवटै जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप (दुवै मात्रा) लगाउने काम सकिएको छ ।

“पहिलो मात्रा लगाउनका लागि केन्द्रबाट खोप आएपछि सुरु हुन्छ”, निर्देशनालयका कोभिड-१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भने, “अहिले तत्काल खोप अभियान चलायमान छैन ।” सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा एक लाख ७५ हजार ४२८ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसैगरी कञ्चनपुरमा ९३ हजार ५४९, अछाममा ४२ हजार ५३४ ले कोरोनाविरुद्धको खोप लगाएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी बैतडीमा ४१ हजार ६८८, डोटीमा ३६ हजार ४९४, दार्चुलामा २६ हजार ४७४, बझाङमा २५ हजार ७९१ ले खोप लगाएका छन्् भने डडेल्धुरामा २१ हजार ४३६ र बाजुरामा १२ हजार १८ लाई कोरोनाविरुद्धको खोप लगाइएको कोभिड-१९ सम्र्पक व्यक्ति जोशीले जानकारी दिए । 

यहाँ कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनलगायतका खोप लगाइएका थिए । पहिलो चरणमा खोप अभियान सञ्चालन गर्दा यहाँ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलगायत गरी ३८ हजार ३०२ ले खोप लगाएको निर्देशनालयले जनाएको छ ।

कोरोनाका कारण सुदूरपश्चिम प्रदेशमा २४५ ले ज्यान गुमाएका छन् । कोरोनाबाट थलिएको सुदूरपश्चिममा अवस्थामा सामान्य बन्दै गएसँगै स्थानीय प्रशासनले गरेको लकडाउन खुकुलो बनाउनका साथै जनजीवन सामान्य बन्दै गएको छ । 

सङ्घीय, प्रदेश र स्थानीय पालिकाले यहाँ स्वास्थ्य पूर्वाधार निर्माण र स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण थप्न पहल गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ