काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेको छ। मङ्गलवार राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले प्रतिनिधि सभामा सभामुख सापकोटाको राजीनामा मागेका हुन् ।
श्रेष्ठले सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै राजीनामा माग गरेका हुन् । राष्ट्रिय सभा बैठक सुरु भए लगत्तै एमालेका सांसदहरूले अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रेष्ठलाई बोल्न समय दिएका थिए ।
‘हामी सोध्न चाहन्छौं–कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसिसकेपछि मर्यादा कसैले पनि उलङ्घन गर्नहुन्न । त्यो कुर्सीको गरिमालाई जोगाउनु चाहिँ पर्छ । यदि कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने त्यो कुर्सीको महत्त्वलाई बुझ्न सकिन्न भने त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायक हुँदैन र हामीले भनिराखेका छौँ –तत्काल उहाँले निकास दिनुपर्छ भनिरहेका छौँ । त्यो भनेको राजीनामा हो । आज नेपालमा चाहिँ सदनदेखि सडकसम्म यो कुरा उठिरहेको छ । विश्वले के भनेको होला । आज 'कोईसन' उठिरहेको छ । गैर सांसदलाई सदनमा राखेर विधेयकहरु ल्याईन्छन । गैर सांसदहरूलाई सांसद भनेर संसद्मा राखिन्छ भने त्यो सदनको त्यो संविधानको रक्षा भएको कि भएन ?’ श्रेष्ठले भने।
सो क्रममा उनले सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदहरूलाई कारबाही गरेको सूचना टाँस नगरेर पदीय मर्यादालाई कायम गर्न नसकेको आरोप लगाएका छन् ।