arrow

देउवाको कार्यशैलीप्रति गृह जिल्लामा आक्रोश : काँग्रेस डडेलधुराद्वारा रिले अनसन सुरु

logo
राम धामी,
प्रकाशित २०७८ असोज ७ बिहिबार
ddl-ansan.JPG

डडेलधुरा । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँग्रेस डडेलधुराले बिहीबारदेखि रिले अनशन सुरु भएको छ ।  सभापति देउवाको प्रत्यक्ष संलग्नतामा वडादेखि जिल्ला कार्यसमितिले पारित गरेर पठाएका क्रियाशील सदस्यता धाँधलीपूर्ण तरिकाले काटछाट गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै रिले अनशन सुरु भएको हो ।

 तत्काल अवैधानिक वडा अधिवेशन रद्द गरेर बिना कारण हटाइएका र आफूखुसी केन्द्रबाटै थप गरिएका क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गाएर अधिवेशनको प्रक्रिया सुरुवात गर्न माग गर्दै रिले अनसन सुरु गरिएको नेपाली काँग्रेस डडेलधुराका कार्यवाहक सभापति करुणा कर भट्टले बताए । 

जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरेर एकलौटी रूपमा प्रहरी परिचालन गरेर सम्पन्न गरिएको वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर आमरण अनशनमा बस्नु परेको उनले जानकारी दिए ।

 ‘धाँधलीपूर्ण ढङ्गबाट बाँडिएको क्रियाशील सदस्यताको आधारमा सम्पन्न वडा अधिवेशनलाई मान्यता नदिन हामीले केन्द्रीय समिति र निर्वाचन समिति दुवैलाई लिखित जानकारी पठाएको छौँ,’ कार्यवाहक सभापति भट्टले भने, ‘हामीले उठान गरेको सवालका सन्दर्भमा केन्द्रबाट कुनै जवाफ नआएपछि सत्याग्रह नै अन्तिम हतियार भएकाले अन्यायका विरुद्ध अनशन बस्ने निर्णयमा पुगेका हौँ ।’

क्रियाशील विवाद टुङ्गो लगाउन, सम्पन्न भएको वडा अधिवेशनलाई मान्यता नदिन लगायतका माग अघि सारेर नेपाली काँग्रेस डडेलधुराको पार्टी कार्यालय किसुनजी स्मृति भवमा अनशनमा रिले अनशन सुरु गरिएको छ ।  माग पुरा नहुन्जेलसम्म संघर्षका कार्यक्रमहरु जारी रहने नेपाली काँग्रेस डडेलधुराले जनाएको छ । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यहरूको नाम काटेर पार्टी सभापति देउवाको निर्देशनमा केन्द्रबाट नाम थप गरिएको  हो । 

प्रधानमन्त्री तथा सभापति देउवाले परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदलाई जिल्ला सभापति बनाउन पार्टीको विधान विपरीत वडादेखि जिल्ला कार्यसमितिले पारित गरेर पठाएका चार सय ६० क्रियाशील सदस्यता हटाइएको र तीन सय १२ क्रियाशील सदस्यता जिल्लाको सिफारिस बिना नै थप गरिएको नेपाली काँग्रेस डडेलधुराका नेताहरू बताउँछन् । 

गत भाद्र २० गते केन्द्रले रातारात सार्वजनिक गरिएको क्रियाशील सदस्यता विवरण पार्टीको विधान, निर्देशिका र नियमावली विरुद्ध भएको ठहर गर्दै भाद्र २२ गते सम्पन्न नेपाली काँग्रेस डडेलधुराको बैठकले क्रियाशील सदस्यता विवाद नटुङ्गिए सम्मका लागि अधिवेशनका सबै कार्यक्रमहरु स्थगन गर्ने निर्णय गरेको हो । 

जिल्ला कार्यसमितिको निर्णय विपरीत केन्द्रले खटाएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बलमे जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरेर भाद्र २५ गते एकपक्षीय कार्यकर्ताहरूको सहभागितामा वडा अधिवेशन सम्पन्न गरेका छन् । कतिपय वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि आवश्यक सङ्ख्या नपुगे पनि अवैधानिक रुपामा वडा अधिवेशन सम्पन्न गरिएका छन् । 

क्रियाशील सदस्यता विवाद नटुङ्ग्याएर वडा अधिवेशन प्रक्रिया अगाडि बढाएको भन्दै जिल्ला सभापति, उपसभापतिलगायतका पदाधिकारीहरूले वडा अधिवेशन बहिष्कार गरेका थिए । अधिकांश कार्यकर्ताहरूले वडा अधिवेशन बहिस्कार गरेको भए पनि हाल घर घरमा रजिस्टर लगेर हस्ताक्षर गराउन थालिएको छ । 

प्रधानमन्त्री देउवाले जिल्लामा अस्तित्वमा रहेका दुईमध्ये एउटा गुटलाई काखी च्यापेर अवैधानिक काम गरिरहेको भन्दै जिल्ला स्तरीय नेता कार्यकर्ताहरूले तीव्र आक्रोश व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ