arrow

साम्बाको अभाव खड्कियो, भएको भए छनोट हुन्थ्यौं : कप्तान नगरकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
Football-women-afc-ujb.jpg
फाइल तस्विर।

काठमाडौं। उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियनकप २०२२ छनोट खेलमा सहभागी भएर आज नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । सहभागी भएको छनोट प्रतियोगितामा सामान्य सावधानी अपनाउन नसक्दा टोली प्रतियोगिताबाट नै बाहिरिन पुग्यो । जसको अर्थ टोलीमा अनुभवको कमी निकै नै खड्कियो । 

नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले घुँडाको शल्यक्रिया गरेर आराम गरिरहेकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा'को कमी टोलीमा निकै भएको प्रतिक्रिया दिइन् । कप्तान नगरकोटीले सावित्रा टोलीमा भएको भए प्रतियोगितामा नेपाली टोली छनोट हुने थियो भनेर स्पष्ट पारिन् ।

उज्बेकिस्तानको भ्रमणलाई यादगार बनाउँदा बलिया टोलीमाथि नेपालले राम्रो प्रदर्शन गर्‍यो । यसमा कसैको दुई मत छैन । फिफा वरियतामा नेपालमा भन्दा निकै माथि रहेको फिलिपिन्समाथि अन्तिम मिनेट सम्म अग्रता लिए पनि कायम राख्न नसक्दा पराजित हुन पुग्यो । त्यहाँ टोलीको अनुभव कमी रहेको स्पष्टै देखिन्थ्यो । दोस्रो खेलमा हङकङलाई गोल रहित बराबरीमा रोकेर पनि नेपालको अघिल्लो यात्रा बढ्न सकेन ।  पहिलो खेलमा नतिजा सुम्पिनु निकै दुर्भाग्य रह्यो । तर स्वदेश फर्किएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नयाँ खेलाडी भए पनि प्रदर्शन राम्रो गरेको भन्दै अनुभव दिलाउन धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताको खाँचो रहेको प्रतिक्रिया दिए ।

दक्षिण एसियामा सीमित हुँदै गरेको नेपालले एसियन छनोट खेल्नु एक ठुलो मौका र अनुभव सँगाल्ने खेलको रूपमा पनि हेरिएको थियो । दक्षिण एसियामा बलियो टोलीमा गनिने नेपालले अपेक्षा अनुसार प्रदर्शन गरे पनि लिएको अग्रता कायम राख्न नसक्नु टोलीको कमजोरी भएको मुख्य प्रशिक्षक फिलिप्सले बताए ।

भ्रमण समग्रमा राम्रो भएको तर छनोट हुने लक्ष्य भने अधुरो रहेको भन्दै कप्तान नगरकोटीले दुख व्यक्त गरिन् । टोलीले राम्रो खेले पनि आगामी दिनमा अझै अगाडि बढ्न टोलीको मिहिनेत धेरै खाँचो रहेको बताइन् । फिलिपिन्सविरुद्धको खेलमा लिड गरिरहे पनि अन्तिम तिर टोलीले लयलाई निरन्तरता दिन नसकेकाले नतिजा सुम्पिनु परेको बताइन् । उनको प्रतिक्रियासँगै नेपालको कमी कमजोरी पनि छर्लङ्ग देखिएको छ । टोलीमा अनुभवको निकै खाँच पक्कै हो । सम्बन्धित निकायले टोलीको खेल विकासका लागि अन्तर्राष्ट्रिय भ्रमण तथा प्रतियोगिता धेरै भन्दा धेरै सञ्चालन गर्नु पर्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ