arrow

विद्युत् प्राधिकरणको जमिन मुनी तार बिछ्याउने कामले गति लिएन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
NEA.jpeg

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण जमिन मुनी तार बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले जमिन मुनी तार बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए । 

उनले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्‍याउन प्राधिकरण प्रतिबद्ध रहेको पनि बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी समेत गरे । 

उनले करिब ९५ प्रतिशत नेपालीहरूको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्‍याउन सघाउ पुर्‍याएको स्मरण गराए । 

प्रबन्ध निर्देशक घिसिङले भने, ‘अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायहरूले समस्या खडा गरिरहेका छन् र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले पहल  गरिरहेको छ । ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढनेछौं । प्रत्येक नेपालीको घरघरमा, गाउँ गाउँमा अहिले करिब करिब ९५ प्रतिशत विद्युतीकरण भइसकेको छ । यसबाट हरेक घरमा हाम्रो पोल पुगेको छ । यो सूचना प्रविधिको विकासका लागि ठुलो इन्फास्ट्रचर हो । कुनै पनि फाईवर तान्नु पर्यो‍ भने त्यही पोल यूज हुन्छ । र फाइबर होम भनेर जुन हामी अहिले डिजिटल नेपालको अवधारणा अन्तरगत आइरहेको छ । त्यो नेपाल विद्युत् प्राधिकरणको ईन्फास्ट्रचरले धेरै सहयोग गरेको छ ।’

प्रबन्ध निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणले कन्जुमरहरुबाट वार्षिक करिब ७० अर्ब आयआर्जन गरिरहेको जानकारी पनि दिनु भयो । 



नयाँ