arrow

मालदिभ्स विरुद्धको जितमा मनिष हिरो, २२ वर्ष पछिको खुशी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
manish-dangi-football.jpg

काठमाडौं। साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अन्तिम समयमा गोल गर्दै तीन अङ्क जोडेको छ। मालदिभ्सको मालेमा शुक्रबार राति भएको खेलमा नेपालले आयोजकलाई १–० गोल अन्तरले पराजित गर्दै उत्कृष्ट शुरुआत गरेको हो । नेपालका लागि ८६औँ मिनेटमा मनिष डाँगीले उत्कृष्ट गोल गर्दै नेपाललाई तीन अङ्क दिलाए । 

मनिषले मध्य भागमा पाएको बललाई मालदिभ्सका चार रक्षात्मक खेलाडीहरूलाई छक्क्याउँदै सुन्दर गोल गरे। उनले मालदिभ्सको रक्षापंक्तिलाई छलाउँदै अघि बढेर गोल गरेको दृश्य नेपाली फुटबलमा लामो समय सम्झिने दृश्य रहने छ। खेलको ६९औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका मनिषले नेपाललाई एक स्मरणीय गोल दिएका छन्

खेल अवधिभर मालदिभ्सले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । नेपालको रक्षापंक्तिले मालदिभ्सको आक्रमणहरूलाई निस्तेज पारिरहे। नेपाली रक्षापंक्तिले अनुशासित भएर खेल्दै मालदिभ्सलाई गोल गर्ने कुनै मौका दिएनन्। नेपाली कप्तान किरण चेम्जोङले सधैँ झैँ केही उत्कृष्ट बचाउहरू गरेका थिए।

नेपालले पनि केही राम्रा आक्रमणहरू गरेको भए पनि गोलमा परिणत हुन सकेको थिएन। नेपाली टोलीले एक ढिक्का भएर खेलेको कारण जित हात पार्न सफल भएको हो । नेपालले सन् १९९९को साफ खेलकुदमा मालदिभ्सलाई पराजित गरेपछि यो पहिलो पटक मालदिभ्सलाई पराजित गरेको हो ।

 

नेपाली टोलीले २२ वर्ष पछि मालदिभ्सलाई पराजित गरेको हो। यसअघि २२ वर्षको अवधिमा मालदिभ्ससँगको ७ खेल खेलेको नेपाल ५मा पराजित र २ बराबरीमा टुङ्गाएको थियो। 

खेलपछिको प्रेस सम्मेलनमा खुसी देखिएका नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल जितको हकदार रहेको बताएका छन्। उनले मालदिभ्स विरुद्धको खेलका हिरो मनिष डाँगी रहेको र नेपाली टोली प्रतियोगिताको उपाधिको दाबेदार पनि रहेको बताए। 

अहिलेको नेपाली टोलीलाई खारिन अझै समय चाहिने र समय पाएमा यो टोली खारिँदै जाने विश्वास पनि प्रशिक्षक अलमुताइरीले लिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ