arrow

महिनौँदेखि टेलिफोन सेवा अवरुद्ध

logo
राम धामी,
प्रकाशित २०७८ असोज २४ आइतबार
business-telephone-systems.jpeg

डडेलधुरा । डडेलधुराको भित्र मधेस क्षेत्र परशुराम नगरपालिकाका दर्जनौँ बस्तीहरूमा महिनौँदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । 

परशुराम नगरपालिका-७ सादनीस्थित नमस्ते टेलिफोन सेवाले काम गर्न छाडेकोले महिनौँदेखि परशुराम नगरपालिकाका वडा नं. ५, ६, ७ र ८ का दर्जनौँ बस्तीहरूमा टेलिफोन सेवा अवरुद्ध भएको परशुराम नगरपालिका-७ का वडाध्यक्ष केशव बोहराले जानकारी दिए । 

नेपालीहरूको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट वञ्चित हुनाका साथै दसैँको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो गर्न थालेका छन् ।

महिनौँदेखि टेलिफोनको टावरले काम नगर्दा नगरपालिकाकाको झन्डै आधा बस्तीका सेवाग्राहीमा सञ्चार आदान-प्रदानमा प्रत्यक्ष असर परेकाले नेपाल टेलिकमको डडेलधुरास्थित कार्यालयलाई पटक पटक जानकारी गराउँदा पनि समस्या समाधानका लागि पहल नगरिएको वडाध्यक्ष बोहराको गुनासो छ । 

गत असार महिनादेखि सादनीमा रहेको नमस्तेको टावरले काम गर्न छाडेको स्थानीय अगुवा भरतबहादुर धानुकले बताए । महिनौँदेखि टेलिफोनले काम गर्न छाडेकाले परशुराम नगरपालिकाको पश्चिमी क्षेत्रका हजारौँ सेवाग्राही सञ्चारको मारमा पर्दै आएको उनको गुनासो छ । दसैँको मुखमा एक अर्कालाई शुभकामना आदानप्रदान गर्नसमेत नसकिएको धानुकले बताए । 

पटक पटक विद्युत् अवरुद्ध हुने गरेकाले सादनीस्थित टेलिकमको टावरमा विद्युत् जडानको भर गर्नुभन्दा सौर्य ऊर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई स्थानीयले अनुरोध गरेका छन् । उक्त नेटवर्कको क्षमता बढाउन र निरन्तर सञ्चालनका लागि टेलिकम कार्यालय डडेलधुरालाई सम्पर्क गर्दा फोन नउठ्ने गरेको परशुराम नगरपालिका-६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले बताए । 

यस विषयमा नेपाल टेलिकमको डडेलधुरा कार्यालयमा कार्यालय र कार्यालय प्रमुखको टेलिफोन नम्बरमा पटक पटक सम्पर्क गर्न खोज्दा पनि फोन नउठाइएका कारण सम्पर्क हुन सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ