- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलामको बारेमा केही कुरा भन्नु भन्दा पहिला प्राय सबैले साहित्यकार भूपी शेरचनको कविता सम्झने गर्दछन्। सुन्दरताको कदर स्वरूप ‘पहाडकी रानी’ उपनाम पाएको इलाम जिल्ला हावापानी, जैविक विविधता तथा धार्मिक तथा पर्यटकीय स्थानहरूको लागि देश विदेशमा परिचित ठाउँ हो।
चियाको राजधानी तथा अन्य नगदे बालीको खानी इलाम आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। अर्थोडक्स चिया, अलैँची, अदुवा, अकबरे खुर्सानी, ओलन (दूध), अम्लिसो, आलु र अतिथि सत्कारको कारण इलामलाई ‘अ’ को जिल्ला भनेर पनि चिनिने गरिन्छ। नेपालकै पहिलो चिया बगान भएको ठाउँ इलामको वातावरणीय अवस्थितिलाई देख्दा यसलाई प्रकृतिको अनुपम उपहार भन्दा पनि अत्युक्ति नहोला।
हरियालीले भरिपूर्ण चियाबारीका कान्लाहरूबीचको कन्याम, चिया बगान र संसारकै तेस्रो अग्लो कञ्चनजङ्घा हिमालसँगै सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रसिद्ध श्रीअन्तु, रामसार संरक्षित क्षेत्रको सूचीमा रहेको नौ कुने माईपोखरी, इलामकै अग्लो ठाउँ सन्दकपुरका साथै सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, सानो पाथीभरा लगायतका धार्मिकस्थलहरू चर्चित गन्तव्यहरू हुन्। झापा जिल्लाको चारआलीबाट मेची राजमार्ग हुँदै इलामका विभिन्न ठाउँहरू पुगिन्छ। झापाबाट झण्डै ४० किलोमिटर जति घुमाउरो बाटोमा उकालो लागेपछि हरियो भरियो प्राकृतिक सौन्दर्यले भरिपूर्ण कन्याम पुगिन्छ भने त्यहाँबाट पनि ४० किलोमिटर जति नै पछि सदरमुकाम इलाम बजार पुगिन्छ। काठमाडौंबाट सडक वा हवाईमार्गबाट झापा पुगेपछि इलाम तर्फको यात्रा सुरु गर्न सकिन्छ। इलाम नाम रहनु पछाडीको एउटा किंवदन्ती घुमाउरो बाटोसँग नै सम्बन्धित छ। ‘इ’ र ‘लाम’ दुई शब्दको लिम्बु भाषामा अर्थ ‘घुमाउरो’ र ‘बाटो’ हुन्छ। इलामका प्राय बाटोहरू डाँडामा घुम्दै घुम्दै अघि बढेको देख्दा सो किंवदन्ती सान्दर्भिक लाग्छ।
झापा कटेर कोल्बुङको उकालो लागेपछि नै इलामका पर्यटकीय गन्तव्यहरू देखिन थाल्छन्। मेची राजमार्गको कुटीडाँडा खण्डबाट ११३३ वटा खुट्किला चढेर पाथीभरा मन्दिर पुग्न सकिन्छ। ताप्लेजुङमा रहेको पाथीभरा देवीको बहिनीको रूपमा मानिएकोले यसलाई सानो पाथीभरा भन्ने गरिन्छ। मन्दिरको नजिक रहेका दुईवटा पोखरीको छेउमा हाँसको आकृति भएका ढुङ्गाहरू रहेको यो ठाउँलाई हाँस पोखरी पनि भन्ने गरेको पाइन्छ। शनिवार र मङ्गलवार विशेष भिड लाग्ने मन्दिर परिसरबाट मौसम सफा हुँदा तराइ फाँटहरू, इलामका चियाबारी र भारतकाका भू–भागहरू पनि देख्न सकिन्छ।
मन्दिर दर्शन र दृश्यावलोकन पछि राजमार्गमा झरेर हर्कटे हुँदै अघि बढेपछि पुगिने अर्को ठाउँ हो, कन्याम। इलाम भन्ने बित्तिकै सबैभन्दा पहिला सोचिने ठाउँ कन्याम नै हो, त्यसैले त यहाँ बाह्रैमास पर्यटकको घुइँचो लाग्छ। तराईबाट उक्लिनेहरूको लागी त कन्याम प्राकृतिक एसी हो, एकै दिनमा घाम लाग्ने, हुस्सु लाग्ने, पानी पर्ने मौसम त यो ठाउँको विशेषता नै हो। टाढा टाढासम्म देखिने चिया बगान र पृष्ठभूमिको कञ्चनजङ्घा हिमशृङ्खलाले सुन्दरतालाई झन् निखार प्रदान गर्छ। चियाका बोटहरूलाई कुर्सी बनाएर सुस्ताउँदै रमाइरहेका पर्यटकहरूको पनि यहाँ भिड हुन्छ। विशेषगरी तराईका जिल्लाहरूका साथै छिमेकी देश भारतबाट पनि गर्मी छल्न ठुलो सङ्ख्यामा पर्यटकहरू कन्याम आउँछन्। परम्परागत लुगा लगाएर घोडा चढ्दै चिया बगान वरिपरि घुम्न पाइनु पनि कन्यामको अर्को चर्चित विशेषता हो। अहिले कन्यामको सडक पनि फराकिला र आकर्षक बनाइएका छन् जसले वरिपरिको सौन्दर्यलाई थप मजबुत बनाएको छ। नेपाल सरकारले घोषणा गरेको सय उत्कृष्ट पर्यटकीय गन्तव्यमा कन्याम – फिक्कल – अन्तु सर्किट परेसँगै यो क्षेत्रकै महत्त्व झन् बढेको छ।
साहित्यकार भूपी शेरचनको कविता म सम्झिरहेछु। उनले इलाम घुमेपछि देशैभरि इलाम छर्न मन लागेको यसरी वर्णन गरेका छन् -
“आफ्नो वरिपरि
भीर, पाखा र कान्लाभरि
थुम्का थुम्का चिया, र
झुम्का–झुम्का अलैँची उमारेर
सन्तोषले एक्कासि सस्मित उठेको झैँ
हरियो भरियो इलामलाई देख्ता मलाई
नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो...” -भूपी शेरचन
कन्यामको रमाइलो घुमघाम सकेर राजमार्गमा ७ किलोमिटर जति अघि बढेपछि, फिक्कल बजार पुगिन्छ जुन पूर्वी इलामको लागि मुख्य व्यापारिक केन्द्र हो। अर्ग्यानिक चिया, अलैँची, घिउ, बम्बईसन, ललिपप, छुर्पी, चिज, बाँसका सजावटका सामान आदि इलामको कोसेली किन्ने ठाउँको रूपमा पर्यटकमाझ यो ठाउँ चर्चित छ। प्रायः चिसो हावापानी भइरहने यो ठाउँमा पर्यटकका लागि खानपिन तथा विश्रामको राम्रो प्रबन्ध छ।
फिक्कल बजार पुग्नु भन्दा केही अगाडि मेची राजमार्ग छाडेर छिपिटारबाट ओरालो बाटो अघि बढ्दा कोणधारी धुपी–सल्लाको जङ्गलले घेरिएको अन्तुडाँडा पुगिन्छ। सिद्धि खोलासम्म ओरालो झरेर त्यसपछि झण्डै २३२८ मिटर उँचाइसम्म उकालो चढेपछि अन्तुडाँडाको ‘भिउ टावर’ पुगिन्छ। झण्डै ११ किलोमिटर सडक लगभग कालोपत्रे भएको छ, कार वा जिप ‘भिउ टावर’को केही तलसम्म पुग्छन् भने मोटरसाइकलमा डाँडा सम्मै पुग्न सकिन्छ, जहाँ वाट देखिने सूर्योदयको तथा सूर्यास्तको दृश्य अत्यन्तै मनमोहक हुन्छ। सूर्योदय र सूर्यास्तका किरण कञ्चनजङ्घा हिमशृङ्खलामा पर्दाको परिदृश्य अवर्णनीय छ। सो दृश्यावलोकनका लागि आउने पर्यटकहरू अघिल्लो दिन ‘भिउ टावर’ बाट सूर्यास्तको अवलोकन पश्चात् केही तल पर्ने भन्ज्याङमा बसेर भोलिपल्ट झिसमिसेमै उकालो चढ्ने गर्दछन्। भन्ज्याङमा आकर्षक र सुविधा सम्पन्न होटेल, होमस्टे तथा कटेजहरूको पनि राम्रो बन्दोबस्त छ भने त्यहाँ रहेको अन्तुपोखरी र वरिपरिका आकर्षक चिया बगानहरू घुमेर समय बिताउन पनि सकिन्छ। अन्तुपोखरीमा ‘बोटिङ’ गर्दै चारैतिरको चिया बगान हेर्दा बेग्लै आनन्दको महसुस हुन्छ। अन्तुडाँडा र वरिपरिको क्षेत्रमा कोइली, भिङगुमा, नेहुला, हङराथो, हुकुस, कोकले, कालिजलगायतका चराचुरुङ्गी पाइने हुनाले चरा अवलोकनकर्ताहरूको लागि पनि यो ठाउँ उपयोगी छ।
अन्तुडाँडा र वरिपरिको ठाउँहरू घुमेपछि पुन फिक्कल फर्केर सदरमुकाम इलाम बजार पुग्न सकिन्छ जहाँबाट विविध प्राकृतिक तथा धार्मिक स्थल घुम्न पाइन्छ। इलाम बजार पुगेपछि अरनिको सांस्कृतिक सङ्ग्रहालय, माईस्थान मन्दिर, भीमसेनस्थान मन्दिर, नारायणस्थान मन्दिर, सिंहबाहिनी मन्दिर, थर्बोलिङ बौद्ध गुम्बा, बजार परिसरबाटै सुरु हुने नेपालको पुरानो चिया बगान र चिया कारखाना, सिद्धिथुम्का, माईपोखरी आदि ठाउँहरूमा घुम्न पाइन्छ। चीनले उपहारको रूपमा पठाएको चिया झण्डै डेढसय वर्षअघि इलाम बजार क्षेत्रमा रोपिएको थियो त्यसैले सो पुरानो चिया बगान नेपाल – चीन सम्बन्धको ऐतिहासिक कसीको रूपमा रहिआएको छ। त्यसैगरी बजारबाट केही बेर उकालो लागेपछि पुगिने इलाम भ्यु टावर वरिपरिको पहाडी दृश्य अवलोकनको लागि उपयोगी छ।
बजारबाट बिब्ल्याँटे हुँदै मेची राजमार्ग छाडेर १४ किलोमिटर जति उक्लेपछि, २१२१ मिटर उचाइमा रहेको माईपोखरी इलामको अर्को पर्यटकीय गन्तव्य हो। चाँप, गुराँस तथा अन्य लोपोन्मुख जडीबुटीको जङ्गलले घेरिएको यो जलाशय विश्व रामसार क्षेत्रमा पनि सूचीकृत छ। नौ वटा कुना रहे पनि एक कुनाबाट हेर्दा अर्को कुना नदेखिने माईपोखरीको विशेषता हो। जैविक विविधताको अध्ययन गर्न रुचिराख्ने पर्यटकका साथै धार्मिक आस्था राख्नेहरूमाझ पनि माईपोखरी चर्चित नाम हो। स्थानीयका अनुसार मङ्सिरको एकादशीमा माईपोखरीमा ठुलो धार्मिक मेला पनि लाग्छ।
त्यसैगरी माईपोखरीबाट झण्डै २२ किलोमिटर कच्ची बाटो मार्फत खुर्सानीटार, कालपोखरी हुँदै नेपाल - भारतको सिमानामा रहेको सन्दकपुरसम्मको यात्रा गर्न सकिन्छ। सोही बाटोबाट इलामको सबैभन्दा लामो टोड्के झरना पनि हेर्न पाइन्छ। त्यसका साथै बाटोको वरिपरिको जङ्गल दुर्लभ रेडपाण्डाको वासस्थान पनि हो। सन्दकपुर इलामकै सबैभन्दा अग्लो ठाउँ भएकोले यो पनि सूर्योदय र हिमाली दृश्यावलोकनको लागि प्रख्यात छ। सन्दकपुरबाट कन्चनजंघादेखि सगरमाथासम्मका हिमालहरू हेर्न पाइन्छ। श्रीअन्तु, सिद्धिथुम्का र सन्दकपुरको विशेष आकर्षण भनेकै आकाश नै झलमल पार्ने चित्ताकर्षक सूर्योदयको दृश्य हो। यी तीन डाँडाहरू मध्ये सन्दकपुरमा हिउँ पनि पर्ने भएकाले हिउँदमा हिउँ खेल्ने पर्यटकको पनि घुइँचो लाग्छ।
इलाम घुम्न कुनै मौसमको छेकबार नभए पनि वर्षा सकिए पछिको समयलाई विशेष मानिन्छ किनकि आकाश खुलेसँगै आँखाले नभ्याउन्जेल देखिने चिया बगानसँगै टलक्क टल्किने हिमालले वातावरण नै बेग्लै बनाउँदछ। इलाम घुम्न आउने पर्यटकलाई लक्षित गरी खुलिरहेका सुबिधासम्पन्न होटेलका साथै होम स्टेको पनि राम्रो व्यवस्थाले इलाम घुम्न आउने पर्यटकलाई सहजता प्रदान गरिरहेको छ। इलाम धेरै पहिला देखि नै प्लास्टिकका झोला निषेधित क्षेत्र भएकोले अन्य ठाउँबाट घुम्न जानेहरु पनि यो नियमसँग परिचित हुनु जरुरी छ।
प्राय चर्चामा रहने यी ठाउँहरू बाहेक इलाममा खासै प्रचारप्रसार नभएका अन्य धेरै पर्यटकीय स्थलहरू छन्। ती स्थानहरूमा पनि उचित पूर्वाधारको विकास गरे सो क्षेत्रको मात्र नभई देशकै समृद्धिमा त्यसले महत्त्वपूर्ण खेल्छ भन्दा अत्युक्ति नहोला।