arrow

नेपाली सेनामा दशैं : रोचक छ इतिहास, अनौठो छ परम्परा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
nepai-army-dashin.jpg

काठमाडौं । नेपाली सेनामा दशैं मनाउने आफ्नै शैली छ । सेनाले आफ्नै परम्परा अनुसार दशैं मनाउने गरेको छ । क्याम्प भित्र मनाइने दशैं मौलिक र पृथक रहने गर्छ । हरेक ब्यारेकमा देवीको मन्दिर स्थापना गरिएको पाइन्छ । त्यहाँ आफ्नै परम्परा अनुसार पुजाअर्चना गरिन्छ । दशैंमा ति मन्दिरमा हुने पुजा विषेश हुन्छ ।

सेनाले दशैंमा जमरा राख्नेदेखि फुलपाती भित्राउनेसम्मका कार्यलाई हर्षोल्लासका साथ मनाउँदै आइरहेको छ । काठमाडौंको वसन्तपुरमा भने दशैं घरमा फुलपाती बढाइ भब्य गर्ने परम्परा छ । यसका लागि सेनामा छुट्टै युनिट नै छ । वसन्तपुरमा दरबार हेरचाह अड्डासँगको सहकार्यमा दशैंलाई भब्य बनाउने गरेको छ । दशैं घरमा नेपाल सरकारले दरबन्दी स्थापना गरेर कर्मचारी नै राखेको पाइन्छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले सेनाले परम्परादेखि चलिआएको संस्कृती र परम्परासहित मौलिकतालाई जोगाउँदै पृथक शैलीबाट दशैं मनाउने गरेको बताए । उनले सेनाको दशैंको विशेष कार्यका लागि छुट्टै पल्टन नै रहेको जानकारी दिए । वसन्तपुरमा रहेको सो पल्टनले दशैंमा विषेश तयारीसहित भब्य रुपमा जमरा राख्नेदेखि फुलपाती भित्राउनेसम्मको काम गर्छ ।

वसन्तपुरमा दशैं घर

हनुमानढोका नेपाली सेनाका लागि विशेष महत्वको स्थान हो । वसन्तपुरमा मुलकोत अड्डा नै छ । सैनिक निशानीसमेत वसन्तपुरमा नै राख्ने गरिन्छ । यहाँ राखिएका कतिपय निशानी अन्यत्र लैजान मिल्दैन । कतिपय खारेज भएका निशानीहरु पनि त्यहाँ छन् । सेनाले आफ्नो निशानी र कोत अड्डामा दशैंमा विषेश पुजा गर्ने गरेको छ । हनुमानढोकास्थित दशैंघरमा घटस्थापनाका दिन सेनाले विधिपूर्वक जमरा राख्ने गरेको छ । दशैं घरको सुरक्षाका लागि त्यहाँ शार्दुलजङ्ग गुल्मका सेनाहरु खटिने गरेका छन् । जमरा राखेको दिनमा नै त्यहाँ बोकाको बलि दिएर पूजा गर्ने परम्परा छ । त्यसरी चढाइएको बोको दशैं घरमा कार्यरत कर्मचारीहरुले खाने प्रचलन छ ।

मल्लकालिन गुल्म

वसन्तपुरमा रहेका परम्परा र संस्कृतीको रक्षा गर्ने मुख्य दायित्व शार्दुलजङ्ग गुल्मलाई छ । सो गुल्म मल्लकालीन सैनिक गुल्म हो । यसलाई पृथ्वीनारायण शाहले निरन्तरता दिएका हुन् । यो गुल्ममा खटिने सैनिकको पोशाक नै फरक हुन्छ । यो गुल्मले वसन्तपुरमा हुने २६ वटा जात्रामा सहभागिता जनाउने गरेको छ ।

शार्दुलजङ्ग गुल्मका हनुमानढोकामा खटिने सेनाहरु नियमित सैनिक पोशाकमा कम देखिन्छन् । उनीहरु मल्लकालीन शैलीको कालो कपडा र टाउकोमा कालै टोप लगाएर बस्ने गर्छन् । उनीहरुले बोक्ने हतियार पनि परम्परागत शैलीको हुन्छ । जसले नेपाली सेनाको एउटा युग स्मरण गराउँछ । 

गोरखादेखि फूलपाती

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि गोरखाबाट फूलपाती ल्याउन थालिएको हो । फूलपातीका दिन हनुमानढोकामा विशेष कार्यक्रम हुने गर्छ । परम्पराअनुसार गोरखाबाट ल्याइएको नौ प्रकारका फूलपाती सेनाले हनुमानढोकामा भब्य कार्यक्रम गरेर भित्राउने गरेको शार्दुलजङ्ग गुल्मका गुल्मपति मेजर असिम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार गोरखाबाट एउटा टुकडीले फूलपाती बोकेर धादिङको जीवनपुरसम्म हिडाएरै ल्याउँछ । त्यहाँ हनुमानढोकाबाट अर्को टोली पुग्छ । यसरी जाने टोलीमा दरबार हेरचाह अड्डाका ६ जना र सेनाका २ जना हुन्छन् । उनीहरुले जीवनपुरबाट स्वयम्भूहुँदै जमलसम्म फूलपाती ल्याउँछन् र शार्दुलजङ्ग गुल्मका गुल्मपतिको नेतृत्वमा ६० जनाको टोलीलाई जमलमा बुझबुझारथ गर्छन ।

शार्दुलजङ्ग गुल्मका टोलीले जमलबाट त्यो फूलपाती हर्ष बढाइ गर्दै बाजागाजासहित हनुमानढोकामा भित्राउने गरेको छ । यसरी फुलपाती लिन जाँदा मुल निशानी, मल्ल कालिन झण्डा र शार्दुलजङ्ग गुल्मको झण्डा जमलसम्म लगिन्छ । त्यहाँबाट वसन्तपुर पुर्याएर मुल चोकमा बलि दिइन्छ । त्यसपछि नासल चोकमा विधिवत पुजाअर्चनासमेत गरिन्छ ।

टुँडीखेलमा बढाइँ

फुलपातीका दिनमा सेनाले टुँडिखेलमासमेत फुलपाती बढाइ गर्ने प्रचलन छ । सो कार्यक्रममा गणतन्त्र आउनुअघि राजाले राष्ट्रप्रमुखको हैसियतामा सहभागिता जनाउने गरेका थिए । गणतन्त्रपछि भने राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिको विशेष आतिथ्यता रहँदै आइरहेको छ । यो प्रचलन पृथ्वीनारायण शाहका पालादेखि नै शुरु भएको बताइए पनि ठ्याक्कै सुरुवाती समय यकिन छैन ।

अष्टमी पूजा र कालरात्री

नेपाली सेनाले अष्टमीका दिन हनुमाढोकामा पुनः विशेष पुजा गर्ने प्रचलन छ । सो दिनमा हतियार राखिएका मूलकोतमा बलि दिएर पूजा गर्ने प्रचलन छ । यो दिनलाई कालरात्रीको दिन भनिन्छ । त्यस दिन दशैं घर र मुलकोतमा गरी १०८ बोका र राँगाको बलि दिइन्छ । बलिका लागि ५४ बोका र ५४ वटा राँगा यसरी बलि दिन ल्याइएको राँगा र बोका सकेसम्म कालो रंगकै चाहिन्छ । यस्तै कुनै चोटपटक नलागेको तथा अंगभंग नभएको हुनुपर्छ भन्ने मान्यता छ । यसरी दिने बलिलाई नवदुर्गा जगाउने भनिन्छ । 

तलेजु मन्दिर खुल्ने

दशैंको नवमीका दिन तलेजु मन्दिरमा समेत बलि दिने गरिएको छ । यो मन्दिर वर्षमा एक दिन नवमीकै दिन मात्र खुल्ने गरेको छ । सोही दिनमा सेनाका हरेक ब्यारेकहरुमा रहेका मौलोहरुमा पनि बलि दिने परम्परा छ । यसरी बलि दिनका लागि आवश्यक पर्ने राँगा तथा बोकाहरुको व्यवस्थापन छुट्टै गुल्मले गर्ने गर्छन । यस्तै मार हान्न विषेश व्यक्ति नै ल्याइन्छ ।

प्रधानसेनापतीबाट निशानीमा पुजा

सेनाका देशैभरि रहेका गुल्म तथा गणहरुका फरक-फरक निशानी छन् । यी निशानीहरु हिन्दू देवीदेवतालाई मानेर बनाइएका हुन् । फरक-फरक गण, गुल्म अनुसार फरक(फरक निशानी छन् । ती हरेक निशानीहरुमा दशैंमा बली दिइन्छ । यो प्रचलनले सेनाको बल बढाउने विश्वास छ । काठमाडौंमा भने हनुमानढोकामा राखिएको निशानीलाई प्रधानसेनापतिले पूजा गर्ने प्रचलन छ । यसैगरी देशभरका ब्यारेकहरुमा रहेका निशानीहरुमा सम्बन्धित युनिट प्रमुखले पुजा गर्ने गर्दछन् । कतिपय स्थानमा नवमीका दिनमासमेत पुजा गर्ने गरिएको पाइन्छ ।

 



नयाँ