arrow

मुगु दुर्घटनाका घाइतेको उद्धारमा गृह मन्त्रालयले पठायो दुई हेलिकप्टर : घाइतेलाई नेपालगन्ज ल्याइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
Mugu-hamrakura.jpg.jpeg

काठमाडौँ। गृह मन्त्रालयले मुगुमा यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि दुई हेलिकप्टर पठाएको छ। गृहमन्त्री बालकृष्ण खाणले मुगु जिल्लाको छायानाथ रारा नगरपालिका-७ पिना तपनेखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरूको यथाशीघ्र उद्धार गर्न निर्देशन दिए लगत्तै गृह मन्त्रालयले नेपाली सेना र समिट एयरका गरी दुई हेलिकप्टरलाई घटनास्थल पठाएको हो।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले नेपाली सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पुगिसकेको जानकारी दिए। ‘गृहमन्त्रीको निर्देशन अनुरूप हामीले नेपाली सेना र समिट एयरको हेलिकोप्टरबाट घाइतेलाई नेपालगन्ज ल्याइरहेका छौँ।’ पोखरेलले भने।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई पनि तत्काल घाइतेको उद्धारमा खटिन निर्देशन दिएको छ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईको नेतृत्वमा १० जनाको टोली खटिएको छ। भने घटनास्थलबाट एक किलोमिटर दक्षिण पर्ने पिना प्रहरी चौकी मुगुबाट प्रहरी सहायक निरीक्षक जोरा सिंह खड्काको नेतृत्वमा टोली घटनास्थलमा पुगिसकेको छ।

जुम्ला मुगु सडक खण्डमा नेपालगन्जबाट गमगढीका लागि जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस २५० मिटर तल खस्दा २३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै ३९ जना घाइते छन्। ती मध्ये १७ जनाको अवस्था गम्भीर भएको गृह मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरू उद्धारका लागि घटनास्थलमा पुगेका छन्। घटनाबारे पूर्ण विवरण आइसकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ