arrow

पोखरालाई उज्यालो शहर बनाउन स्मार्ट र हाइमास्ट लाइट राखिने

logo
हरि पन्त,
प्रकाशित २०७८ असोज २७ बुधबार
pokhara-2.jpg
तस्वीर–फाइल ।

पोखरा । पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकहरुमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरिने भएको छ ।

पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा पर्यटकीय शहर पोखरालाई उज्यालो शहरका रुपममा विकास गर्न बत्ती जडान कार्य हुन लागेको हो ।

हाइमास्ट लाइटले शहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातिको समयमा यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीहरुलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

स्मार्ट सडक बत्ती र हाइमास्ट लाइट जडान तथा विस्तार कार्य गर्न सहमति भएर काम अगाडि बढाइएको पोखरा ५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

महानगरपालिकाले नगरभित्रको ८० किमी क्षेत्र भित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा हाइमास्ट लाइट जडान गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको उनले बताए ।

महानगर र विद्युत प्राधिकरणबीच हाइमास्ट लाइट जडानका लागि सहमति भएपछि प्राधिकरणको तर्फबाट रु १२ करोड ७५ लाख ८९ हजार बजेट स्वीकृत भएर बोलपत्र आह्वान लगायतका काम अघि बढेको थियो ।

विद्युत प्राधिकरणसँगको सहकार्यमा पोखरा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती राख्नका लागि कार्य अगाडि बढेको छ । सम्झौता अनुसार सो योजनाको लागतमा महानगरपालिका र प्राधिकरणको बराबर साझेदारी रहनेछ ।

पोखरा महानगरपालिकाले साझेदारी गर्ने रकम मध्ये रु एक करोड ५० लाख प्राधिकरणको खातामा जम्मा गरिसकेको छ । दसै लगत्तै निर्माण कम्पनीलाई काम थालनी गर्न विद्युत प्राधिकरणले पत्राचार गरिसकेको बताइन्छ ।

यसैगरी पोखरा महानगरपालिका भित्रको ढललाई व्यवस्थापन गर्नका लागि गुरु योजना तयार पार्न पोखरा महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी विभाग र जापान अन्तर्राष्ट्रिय समन्वय संस्था (जाइका) बीच सहमति भएको छ । सहमति अनुसार दुई वर्षमा सो आयोजनाले पोखराको सम्पूर्ण ढल व्यवस्थापनको गुरु योजना तयार पार्नेछ ।

उक्त कार्यको लागि जापानले निजी कम्पनी छनोट गरी सकेको र नोभेम्बरको (कार्तक) पहिलो हप्ताबाट विज्ञहरुको टोली पोखरामा खटिइ आउने महानगरले जनाएको छ । 

दीर्घकालीन विकासको सोच सहित महानगर अगाडि बढेको र उक्त कार्यले यस महानगरलाई सुरक्षित र स्मार्ट सहर निर्माण सघाउने महानगर प्रवक्ता नेपालीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ