एक सय ५४ मेलमिलापकर्ताले लिए शपथ, गुणात्मक नतिजाको अपेक्षा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
245
Shares
काठमाडौँ। काठमाडौँ महानगरपालिकामा सूचीकृत एक सय ५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराएकी छन्। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’ कार्यक्रममा उनीहरूलाई शपथ गराइएको हो ।
कार्यक्रममा कार्यवाहक प्रमुख एवं न्यायिक समितिकी संयोजक डंगोलले भनिन्, ‘मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षा गरेका छौँ। कति संख्यामा मेलमिलापका सत्र सञ्चालन भए, त्यो हाम्रा लागि नतिजा होइन। सत्रबाट कति ओटा विवादको मेलमिलाप भयो । त्यो नतिजा हो ।’
कार्यक्रममा प्रस्तुतिकरण गर्दै पूर्व न्यायाधीश द्वारिकामान जोशीले विवाद अदालतमा पुग्दा विषय विमुख भइसकेको हुन सक्ने भएकोले विवाद निरूपणका लागि स्थानीय तहमा समाधान गर्नु जत्तिको प्रभावकारी उपाय अरू नहुने बताए ।
‘नागरिक वा व्यक्तिले जान्नै पर्ने कानुनी व्यवस्था र यसको प्रयोग’का विषयमा प्रस्तुतिकरण गर्दै उनले, कानूनी अज्ञानताबाट कसैलाई क्षमा नहुने बताए ।
अधिवक्ता पुनदेवी महर्जनले ‘मानव अधिकार तथा र महिला अधिकारसम्बन्धी कानूनी तथा संवैधानिक व्यवस्था’ विषयमामा प्रस्तुतीकरण गर्दै, विवाद सिर्जना हुने कारण, अवस्था, मनोवृत्ति स्थानीय जनप्रतिनिधिभन्दा नजिकबाट अरूलाई थाहा नहुने भएकोले स्थानीय विवाद निरूपण दिगो र प्रभावकारी हुने धारणा राखे ।
अभिमुखीकरणमा कार्यपत्र प्रस्तुत गर्दै महानगरका निर्देशक वसन्त आचार्यले मेलमिलापबाट दुवै पक्षको गुम्ने कम र प्राप्त गर्ने धेरै हुनुपर्ने बताउँदै वडाबाट स्थानीय बासीलाई यो पक्षमा नियमित सचेत गराइरहनु पर्ने बताए ।
विवादका पक्षलाई यो अनुभूति भएपछि मेलमिलापको वातावरण सहज हुने उनको भनाइ थियो ।
महानगरपालिकाले कानुन तर्जुमा गरेर न्यायिक विकेन्द्रीकरण गरेर विवादसम्बन्धी निवेदन वडा कार्यालयमा दर्ता गराउन सकिने व्यवस्था मिलाएको छ ।
वडाबाटै निवेदन दर्ता वा दरपीठ हुने, दर्ता भएको निवेदनमाथि महिला सञ्जालले मेलमिलापकर्तामार्फत आपसी छलफलको वातावरण तयार पार्ने व्यवस्था छ। वडाबाटै विवाद समाधान हुन् । त्यसको प्रमाणीकरणका लागि मात्र विषय केन्द्रमा आओस् भन्ने कानूनको मनसाय छ ।