arrow

बाँकेको राप्ती नदीमा सौहार्द वातावरणमा दुर्गा भवानी मूर्ति विसर्जन गरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३० शनिबार
devi-bhagawai.JPG

नेपालगन्ज । विजया दशमीको पहिलो दिन अर्थात् घटस्थापनादेखि पुजा शनिवाराका लागि राखिएका दुर्गा भगवतीका मूर्ति शनिवार विसर्जन गरिएको छ । बाँके जिल्लाभरका विभिन्न ठाउँमा राखिएका दुर्गा भगवतीका मूर्ति ९ दिनसम्म पूजा आराधना गरी शनिवार धूमधामका साथ विसर्जन गरिएको छ ।

नेपालगन्जमा राखिएका दुर्गा भगवतीका मूर्तिलाई नेपालगन्ज परिक्रमा गराई डुडुवा गाउँपालिका ५ कम्दीपुलस्थित राप्ती नदीमा विसर्जन गरिएको जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन बाँकेले मूर्ति विसर्जनका लागि कडा सुरक्षा व्यवस्था मिलाएको थियो। सुरक्षा व्यवस्था मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री , नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की, जिल्ला प्रहरी बाँकेका प्रमुख श्याम कृष्ण अधिकारी,सशस्त्र प्रहरी बाँके प्रमुख एसपी अशोक बम,अनुसन्धान विभाग बाँकेका प्रमुख उप-अनुसन्धान निर्देशक नरेन्द्र गिरी आफै सडकमा तैनाथ रही भिड व्यवस्थापन गरेका थिए। यसबर्षको दुर्गा भगवती मूर्ति विसर्जनमा सुरक्षा व्यवस्था निकै कडा पारिएको लुम्बिनी प्रदेश सभा सदस्य याकुब अन्सारीले बताए। 

No description available.

बाँकेको नरैनापुर, खजुरा र कोहलपुरलगायतका ठाउँमा मूर्ति विसर्जन गर्न लागि सम्बन्धित स्थान र सडकमा समेत ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको एसपी अधिकारी बताए। कम्दीस्थित राप्ती नदीमा मूर्ति विसर्जन गर्नेको ठुलो सङ्ख्यामा भिड हुने भएकाले त्यहाँ ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बाँके प्रमुख एसपी बमले बताए। कम्दी जाने स्थानमा प्रत्येक १०० मिटरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरेको एसपी अधिकारीले भने। मूर्ति विसर्जन गर्न जाने मुख्य प्रवेशद्वार त्रिवेणी मोडमा प्रहरी निरीक्षक ईश्वर देव गिरीको कमान्डमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी ,ट्राफिक प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

मूर्ति विसर्जनका लागि अन्दाजी ४ सय बढी सवारीसाधन राप्ती नदीमा गएको अनुमान गरिएको एसपी अधिकारीले भने। मूर्ति विसर्जन गर्न जाने क्रम अझै जारी रहेको छ। मूर्ति विसर्जनमा कुनै पनि सामाजिक सदभाब नखल्बलियोस भनेर हिन्दु धर्म गुरु,मुस्लिम धर्म गुरु मौलाना जमाल अहेमद कादरी,मुस्लिम अगुवा एवम् संविधानसभा सदस्य भोला सिद्धिकी, नेकपा एमालेका नेता मो. हारुन कादरी, मुस्लिम सङ्घ नेपाल बाँकेका अध्यक्ष मो. कादिर अन्सारी ,शिव सेना नेपाल बाँकेका अध्यक्ष दीपक लोध लगायत प्रजिअसहित सबै सुरक्षा प्रमुख दिनभर सडकमै रहेर मूर्ति विसर्जन गर्न जानेलाई सहज बनाएका थिए। त्यस क्रममा शिव सेना नेपालले मूर्ति विसर्जनका क्रममा महत्त्वपूर्ण भूमिका निभाउने पत्रकार,समाजसेवी, सुरक्षा प्रमुख लगायत अन्यलाई सम्मान गरेको थियो।

मूर्ति विसर्जन गर्न जानेहरूका लागि नेपालगन्जको त्रिवेणी मोडमा हरेक विजया दशमीमा झैँ शनिवार पनि नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहनाले हजारौँ धर्मावलम्बीलाई बिरयानी तथा पानी खुवाएका छन् ।त्यस्तै त्रिवेणी मोड मै लक्ष्मी मिडियाका प्रमुख सुनिल भण्डारीले धर्मावलम्बीलाई मिठाई वितरण गरेका थिए। मूर्ति विसर्जन गर्न जानेहरूलाई ठाउँ-ठाँउमा पानीको समेत व्यवस्था गरिएको थियो।

नरैनापुर मूर्ति विसर्जन
 बाँकेको नरैनापुरमा पनि मूर्ति विसर्जन गरिएको छ। मूर्ति विसर्जनमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह आफै नदीमा पुगेका थिए। आफू मुस्लिम भएपनी हिन्दु धर्मलाई बढी माया गर्ने अध्यक्ष शाह आफै नरैनापुर देखि राप्ती नदीसम्म पुगेर मूर्ति विसर्जन कार्यमा सहभागी भएको नरैनापुर २ का अध्यक्ष मसुद अहमद शाहले बताए।

 नरैनापुरको मूर्ति विसर्जन एकदमै शान्त वातावरणमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष शाहले बताए। करिब १७ हजार बढी मानिसहरू सहभागी जनमानसले ६ वटा वडाका ५२ स्थानका मूर्ति विसर्जन गरिएको अध्यक्ष शाहले बताए। त्यति ठुलो जनमानसमा पनि अध्यक्ष शाहको उपस्तिथितिमा एकदम शान्तपुर्वक मूर्ति विसर्जन गरिएको अध्यक्ष शाहले भने।

मूर्ति विसर्जनमा ४ सय बढी सवारीसाधन प्रयोग गरिएको थियो भने मूर्ति विसर्जन नरैनापुर ४ हुलासपुरस्थित राप्ती नदीमा गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ