arrow

बैङ्कको ब्याजदरमा स्थिरता कायम रहे लगानीकर्ताहरुको बजारप्रति आकर्षण बढ्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
nepal-stock-exchange-nepse.jpg
फाइल तस्बिर

काठमाडौँ। गत भदौ २ गते शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अङ्क ३ हजार १ सय ९८ मा पुगेर बन्द भयो। त्यसयता घट्दै गएको बजार दुई महिनाको अवधिमा करिब २० प्रतिशतले घटेर २ हजार ५ सय विन्दुमा झरेर बन्द भयो। पछिल्लो समय नेप्से परिसूचक घट्नुको मुख्य कारण राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत शेयर कर्जासम्बन्धी व्यवस्था गरेको ४ र १२ करोडको सीमा र बैङ्कहरूको ब्याजदर वृद्धिलाई लिइएको छ।

राष्ट्र बैङ्कले गत साउन २९ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीतिमा शेयर धितो राखेर एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन सक्ने व्यवस्था गरेको छ।

यो नीतिका कारण बजार लगातार ओरालो लागेको लगानीकर्ताको बुझाइ छ। लगानीकर्ता उक्त नीतिको विरुद्धमा सडकमा पनि ओर्लिएका थिए। लगानीकर्ताको दबाब बढ्दै गएपछि राष्ट्र बैङ्कले साना लगानीकर्ताको हितको लागि यस्तो व्यवस्था गरेको प्रतिक्रिया दिएको थियो।

शेयर विश्लेषक रवीन्द्र भट्टराईका अनुसार बजार घट्नुको प्रमुख कारण आम लगानीकर्ताको मनस्थितिमा राष्ट्र बैङ्कको नीति बस्नुका साथै त्यसै समयमा बैङ्कहरूले निक्षेप र कर्जामा बढाएको ब्याजदर पनि हो। उनी भन्छन्, ‘बजार बढिरहेको समयमा राष्ट्र बैङ्कले ४ र १२ करोडको व्यवस्था गरिदियो। यो व्यवस्थाले गर्दा ठुला लगानीकर्तालाई त प्रभाव पर्‍यो नै ती लगानीकर्ताका प्रभावमा साना लगानीकर्ता पनि परे।’

बजार २८०० को विन्दुमा अडिन्छ भन्ने आँकलन गर्दा गर्दै बैङ्कहरूले ब्याजदर बढाएपछि बजार घट्न थालेको थियो। राष्ट्र बैङ्कले बैङ्कहरूको ब्याजदरमा अङ्कुश लगाएपछि बैङ्कहरूले ब्याजदर एक अङ्कमा झारेका छन्। त्यसले गर्दा पछिल्लो समय बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ। ‘ब्याजदर र शेयर बजारको सम्बन्ध उल्टो हुन्छ। ब्याजदर बढ्यो भने बजार घट्छ । ब्याजदर घट्यो भने शेयर बजार बढ्छ।’ भट्टराईले भने।

राष्ट्र बैङ्कले ब्याजदर १० प्रतिशतसम्म बढाउन सक्ने व्यवस्था गरेमा बैङ्कहरूले कर्जा र निक्षेपको ब्याज स्थिर राख्न सके शेयर बजारमा सकारात्मक प्रभाव देखिने भट्टराईको भनाई छ। उनले भने, ‘अब बैङ्क हरूले बचत र ऋणको ब्याज कसरी लिएर जान्छन् ? बढाउने, घटाउने अथवा स्थिर हुने, के हुन सक्छ ? त्यसले नै बजारको दिशा निर्धारण गरिरहेको हुन्छ। नेपाल राष्ट्र बैङ्कले पछिल्लो समयमा बैङ्क वित्तीय संस्थाको ब्याज बढाउने वा घटाउने भन्ने कुरामा १० प्रतिशतको जुन किसिमको सीमा तोकिदिएको छ, त्यो सीमाले ब्याजदरमा स्थिरता कायम गर्नको लागि सहयोग गर्न सक्छ भन्ने आशा गर्न सकिन्छ।’ यदि त्यसले ब्याजदरको स्थिरता कायम गर्ने काम गर्‍यो र ब्याजदर स्थिर हुने स्थिति आयो भने त्यसले लगानीकर्ताहरूलाई बजार प्रति आकर्षित गर्ने भट्टराईको बुझाइ छ।

घटबढ बजारको स्वाभाविक नियम नै हो। तर पछिल्लो समय निरन्तर बढिरहेको बजारमा गिरावट आउँदा लगानीकर्ता केही हदसम्म निराशमा देखिएका छन्। जसको प्रभाव स्वरुप परिसूचकसँगै दैनिक कारोबार रकममा पनि कमी आएको छ। यसअघि गत साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा अहिले दैनिक औसत ३–४ अर्बको हाराहारीमा कारोबार भइरहेको छ।

बजार घटबढमा बैङ्कको ब्याजदरले प्रत्यक्ष प्रभाव पार्ने हुँदा राष्ट्र बैङ्कको पछिल्लो निर्देशनले बजार बढेको अर्थशास्त्री बताउँछन्। शेयर बजार बढ्नका लागि बैङ्कको ब्याजदर एक अङ्कमा झर्नुपर्ने अर्थशास्त्री डा. भरतसिंह थापा बताउँछन्। उनका अनुसार राष्ट्र बैङ्कले बैङ्कहरूलाई ब्याजदरको सीमा तोकिदिएकाले त्यसको प्रभाव बजारमा देखिन थालेको छ।

योसँगै आम लगानीकर्ताका लागि निकै चासोको विषय छ आगामी दिनमा बजारको दिशा कस्तो होला ? तर, राष्ट्र बैङ्कको नीतिसँगै बैङ्कको ब्याजदर वृद्धिले केही खस्किएको बजारको आगामी दिशा पनि बैङ्कहरूले कायम गर्ने ब्याजदरले नै निर्धारण गर्ने अर्थशास्त्री थापा बताउँछन्। बैङ्कहरूले अहिले राष्ट्र बैङ्कको निर्देशनमा ब्याजदर घटाएका भए पनि निक्षेप कम हुँदै गएपछि ब्याजदर बढाउने सम्भावना रहेको उनी बताउँछन्। थापाले भने, ‘अहिले पनि निक्षेप सङ्कलन कम रहेको छ भने कर्जा लगानी बढेको छ।

यसले बैङ्कमा पैसा कम हुँदै जान्छ र आगामी दिनमा राष्ट्र बैङ्कले ब्याजदर बढाउन फुकुवा गर्न सक्ने सम्भावना छ।’ फेरि ब्याजदर बढ्यो भने केही हदसम्म बजारमा प्रभाव पर्ने थापाको आँकलन छ। तर, पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको निकै उत्साहपूर्ण सहभागिता भएकाले बजार धेरै नघट्ने पनि उनको बुझाइ छ। थापाले भने, ‘विश्व बैङ्क र आईएमएफ बैङ्कहरूलाई ब्याजदरको विषयमा स्वतन्त्र छोड्नु पर्छ भनिसकेको छ।

अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्ध राम्रो बनाउनका लागि पनि राष्ट्र बैङ्कले केही महिना पछि अर्को निर्णय गर्न सक्छ। त्यसपछि बैङ्कले पैसा जोहो गर्न पनि ब्याजदर बढाउँछन्।’ ब्याजदर बढ्ने बित्तिकै बजारमा नकारात्मक प्रभाव पर्ने थापाले बताए। ‘ब्याजदर स्थिर नभएसम्म बजारमा सकारात्मक सङ्केत देखिँदै छ। राष्ट्र बैङ्कले ब्याजदर कम हुने गरी निर्णय नगरिकन बजार सच्चिन गाह्रो छ।’ थापाले भने, ‘तर, बजार धेरै तलसम्म पनि झर्दैन। किन झर्दैन भने स–साना लगानीकर्ता धेरै बजार प्रवेश गरेका छन्। साना लगानीकर्ता बजारमा खेल्दैनन्। एक पटक किनेर त्यत्तिकै छोड्नेहरू धेरै छन्। गाउँ गाउँका लगानीकर्ता बजारमा प्रवेश गरेका छन्।’

सीडीएस एन्ड क्लियरिङ्गका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको सङ्ख्या ४५ लाख ३९ हजार ९०० पुगेको छ। मेरो शेयरको प्रयोगकर्ता पनि सोही अनुपातमा बढेर ३६ लाख ५२ हजार पुगेका छन्। दोस्रो बजारमा कारोबारका लागि ८ लाखभन्दा बढीले त युजर नेम र पासवर्ड लिइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ