arrow

नेपाली काँग्रेसको समाजवाद:  वीपीदेखि रामचन्द्रसम्म

logo
लाओस राई
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
lawos-Ramchandara.jpg

नेपाली जनता अन्धकारको युगबाट स्वतन्त्र, सार्वभौम र आत्मिक भएको ७१ वर्ष भयो । अघिका वर्षहरूमा नेपाली जनता दमन र अन्धकारको भुमरीमा बाँच्न बाध्य थिए । निरङ्कुश राणा शासन त्यसको कारक थियो । स्वतन्त्रता, मानव आधिकार र आदर्शको तागत एवं व्यक्तिको क्षमता के हो भन्ने कुरा कुन चराको नाम हो भने जस्तै थियो जनतालाई । किनकि मान्छे पशुजस्तै हरेक समय शासकको निम्ति काममा व्यस्त हुन्थे-जस्तो गधा भारी बोक्छ । मृत्यु नभएसम्म आदेशको पालन गर्नुको कुनै विकल्प थिएन । त्यो इतिहास भइसकेको कालो दिनबाट स्वतन्त्र, आधुनिक र अधिकार सम्पन्न युगमा नेपाल र नेपाली जनतालाई नेपाली काँग्रेसले पुर्‍याएको हो । आजको दिनमा देश आइपुग्नु ७१ वर्ष अघि नेपाली काँग्रेसले गरेको सशस्त्र क्रान्तिको उपलब्धि हो ।

राजनीतिक परिवर्तनको निम्ति सशस्त्र क्रान्ति ,सामाजिक रूपान्तरणको निम्ति समाजवाद र आर्थिक उन्नतिका निम्ति जमिनको स्वामित्व जनतामा, जसको जोत उसकै पोत भन्ने  जस्ता जनमुखी कार्यक्रम वीपीले विद्यमान आधारभूत अन्तर्विरोध समाप्त गर्न र  समाजवाद निर्माणको निम्ति अघि सारेका योजना थिए। स्वतन्त्रता बिनाको समाजवाद निरङ्कुश र त्यस्तो समाजवादले व्यक्तित्व विकासको पक्षमा बाधक हुने हुनाले विकासको निम्ति पनि व्यक्तिगत स्वतन्त्रता अनिवार्य छ भन्ने वीपीको भनाइ थियो । र त्यही कुरालाई काँग्रेसले आदर्श मान्यो । अन्ततः नेपाली काँग्रेस प्रजातान्त्रिक समाजवादी पार्टी बन्यो ।

नेपालको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणको  प्रसङ्ग उल्लेख गरिरहँदा अग्रजहरूले गरेका सङ्घर्ष, योगदान र बलिदानको धेरै महत्त्व रहेको बुझ्न सकिन्छ । तथापि ती परिवर्तनको चरणहरू पुरा गर्न अरू विभिन्न पक्षहरूको पनि प्रभाव थियो । जस्तो की तत्कालीन समयमाको विश्व परिवेश, राजनीतिक घटना र  त्यसको प्रभाव परिवर्तन कारण थियो । जसले प्रजातान्त्रिक आन्दोलनलाई सैद्धान्तिक रूपमा थप बलियो हुन मद्दत मिल्यो । त्यसैले ती राजनीतिक चरणहरूलाई प्रस्ट गर्न केही घटनाक्रमका चरणहरूको संक्षिप्त टिप्पणी गर्दै नेपालको सन्दर्भमा वीपीको प्रजातान्त्रिक समाजवाद र त्यसका आधारहरू आज शेरबहादुर देउवा र रामचन्द्र पौडेलको समयसम्म आइपुग्दा त्यो समाजवादी आदर्श कस्तो अवस्थामा पुग्यो त्यसको बारेमा तुलनात्मक ढङ्गले चर्चा गर्दा अझै उपयुक्त हुन्छ ।

दोस्रो विश्व युद्धको अन्त्य, उपनिवेशवादको विरुद्धमा उठेको जागरण, वित्तीय पुँजीको भूमण्डलीकरणले निर्माण गरेको वर्गीय समाज, मार्क्सवादी दर्शनको अन्तर्राष्ट्रियकरण, स्वाधीनता र सार्वभौमिकताप्रति जनताको आकर्षणलगायत अरू विभिन्न महत्त्वपूर्ण पक्षहरूको अन्तर्राष्ट्रियकरण र पुनर्जागरणको प्रभाव, राजनीतिक अधिकारको निम्ति उत्पन्न लहरका सेरोफेरोमा नेपाली काँग्रेसको सशक्त सशस्त्र क्रान्तिको बलले २००७ सालको राणा  शासनको अन्त्य(राजनीतिक परिवर्तन) भयो । जनता नयाँ युगमा प्रवेश गरे । पहिलो पटक जनताले व्यक्तिगत स्वतन्त्रताको अनुभूति गरे । वीपी प्रजातान्त्रिक समाजवादको संस्थागत र सामाजिक रूपान्तरणमा लागिरहेका थिए । लामो सङ्क्रमणकालीन अवस्थाको कारण २०१५ मा वीपी प्रधानमन्त्री भए ।

समाजवादको आधारभूत संरचना निर्माण गर्दागर्दै दुई वर्षको छोटो समयमा नै उनी सत्ता च्युत हुन पुगे । सत्ता सँगसँगै उनका समाजवादी संरचनाहरू कुनै  विघटित भए भने कुनै अपहरित भए । समाजवादको मुख्य लक्ष्य जमिनमाथि जनताको स्वामित्व, शिक्षामा अधिकार र जनवादी स्वास्थ्य, जसलाई वीपीले दुहुना गाई (पौष्टिक आहाराको) को संज्ञा दिएका थिए । यी आधारभूत आवश्यकता तथा अन्तर्विरोधको अन्त्यको निम्ति समाजवादी कार्यक्रमलाई आन्दोलनको रूपमा अघि बढाएको थियो । तर सत्ता कब्जा भएसँगै ३० वर्षसम्म प्रजातान्त्रिक समाजवादको आन्दोलनका सबै  कार्यक्रमहरू पूर्ण रूपले स्थगित भए ।

सत्ता प्राप्त, स्थिरता र सत्ताच्युतको प्रसङ्गको बारेमा लेखिरहँदा केही क्षण सन् १८७१ मा पेरिस कम्युनको पहिलो पटक सत्ता प्राप्तिको र च्युतको घटना उल्लेख गर्दै तत्कालीन नेपालको घटनाको उल्लेख गर्दा अझै प्रस्ट हुन्छ ।  १८७१ मा सर्वहारा एवं श्रमजीवी वर्गले सत्ता कब्जा गरे । वर्गीय सत्ता वा सर्वहारा वर्गको अधिनायकत्व स्थापित पनि भयो । तर उनीहरूकै कमजोरीबाट उक्त सत्ता ७२ दिनपछि पुँजीपति र पुराना सत्ता साझेदारहरूले ढालिदिए । त्यो एक प्रकारले फ्रान्सेली श्रमजीवी तथा सर्वहारा वर्गको दुर्भाग्यपूर्ण समय थियो । त्यस्तै वि.स.२००७ सालमा प्रजातन्त्र स्थापना, २०१७ सालमा वीपी अपदस्त भए । सत्ता कब्जा र च्युत प्रसङ्गमा पेरिस कम्युनको पतन र प्रजातान्त्रिक (वीपी) सरकार माथिको ‘कु’ प्रसङ्ग एउटा मिल्दो उदाहरण हो । तर यी दुवै सत्ताको उदय र पतनको  पृष्ठभूमि, कारण र उद्देश्य फरक, फरक थिए । पेरिसमा पुँजीपतिहरूले कम्युनिष्ट अधिनायकत्व समाप्त गरे भने नेपालमा संवैधानिक राजाले प्रजातन्त्रको हत्या गरे । फरक पृष्ठभूमिमा निर्माण भएका सत्ता भए पनि दुवै सत्ताले भनेको जस्तो राजनीतिक यात्रा नै गर्न नपाएको यथार्थ हो ।

मूलतः वीपीको प्रजातान्त्रिक समाजवाद आजको समयसम्म कति प्रयोगमा आयो ? जनतासँग समाजवादले हातेमालो कत्तिको गर्‍यो ? के जनता समाजवादसँग आकर्षित भई सूक्ष्म रूपले गुण र दोष केलाउँदा त्यसभित्रका राम्रा नराम्रा धेरै पक्षहरू पाउन सकिन्छ । ती विषयमा केन्द्रित भएर अनेक जिज्ञासाहरूसँगै हिजो र आजको अवस्थालाई तुलनात्मक रूपले हेर्नुपर्दछ । ३० वर्षपछि ०४८ मा काँग्रेस पुरानै (प्रजातान्त्रिक समाजवाद)राजनैतिक नारा कै आधारमा सत्तामा पुग्यो । विद्यमान आधारभूत अन्तर्विरोधको अन्त्यको निम्ति गिरिजाप्रसाद कोइराला नेतृत्वको काँग्रेस सरकारले समाजवादको आधार स्तम्भको रूपमा स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता महत्त्वपूर्ण पक्षलाई प्राथमिकता दिँदै प्रत्येक गाउँ विकास समितिमा स्वास्थ्य चौकी, प्राथमिक तथा माध्यमिक विद्यालय स्थापना गर्ने कार्यक्रम बनायो । रोजगारी सृजनाको निम्ति बन्द र जीर्ण उद्योगलाई सञ्चालनमा ल्यायो । ४९ देखि ५१ सम्म जति पनि योजना आयो ती सबै समाजवाद आधार  निर्माणको निम्ति नै थियो । त्यो ३ वर्षको अवधिमा समाजवादको आधारहरू गुणात्मक रूपमा निर्माण नभएको भन्न मिल्दैन ।

गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री भए पनि रामचन्द्र पौडेल, शेरबहादुर देउवा नै सरकारमा मन्त्रीहरू थिए । नयाँ जोस, जाँगर र  सृजनशील क्षमताले गर्दा केही वर्ष राम्रै कामहरू भएका थिए । तर ०५१ पछि जब उदारीकरण र निजीकरण जस्तो पुँजीवादी मार्गमा काँग्रेस हिँड्न थाल्यो । त्यस बेलादेखि समाजवाद काँग्रेसको देखाउने दाँत जस्तै भयो । सबै उद्योग बेचियो, जनशक्ति बेचियो, विश्व बजारमा नेपाली श्रमिकको खैलाबैला र बेहाल सुरु भयो । शिक्षा, स्वास्थ्य जस्तो अति  महत्त्वपूर्ण पक्षलाई व्यापारीकरण गरियो । स्वास्थ्य सेवा महँगो हुनाले जनता अस्पताल जानै नसक्ने अवस्थामा पुगे । नदी, वनजंगल सबै विदेशी कम्पनीलाई दिइयो र यस्तै अराजक आर्थिक क्रियाकलापले वीपीको प्रजातान्त्रिक समाजवाद ध्वस्त भयो । यस्तो मरभुमी समान अवस्था भइरहँदा रामचन्द्र पौडेल, शेरबहादुर देउवा लगायत पुँजीवादी अर्थशास्त्रीहरू दर्शक भूमिकामा रहे ।

०६३ पछि गिरिजाप्रसाद कोइरालाले देशको नायकत्व गरे । माओवादीलाई लोकतान्त्रिक व्यवस्थामा अभ्यस्त गराउँदैमा समय बित्यो । सुशील कोइरालाले  समाजवाद उन्मुख राज्यलाई संविधानमा उल्लेख गर्न सफल देखिए पनि मुख्य रूपमा प्रजातान्त्रिक समाजवादको मर्मलाई भने प्रष्टसंग संविधानमा उल्लेख गर्न सफल भएनन् । संविधान जारी भएपछि लोकतान्त्रिक समाजवाद लक्ष्य लिएका काँग्रेसले ६३ देखि ७८ सम्मको १५ वर्षको लामो अवधिमा लोकतान्त्रिक समाजवादको आधार निर्माण गर्न के कस्ता समाजवादी कार्यक्रम र योजनाहरू प्रस्तुत गर्‍यो ? त्यसको प्रभाव कस्तो रह्यो । त्यसको बारेमा काँग्रेसमा समाजवादको वकालत गर्ने नेता रामचन्द्र पौडेलको भूमिका कस्तो रह्यो ? र कस्तो हुनुपर्थ्यो ? ती पक्षलाई पल्टाउने हो भने उनले दलाल पुँजीवादीहरूको घेरा  तोड्ने प्रयास मात्र गरेको तर सफल हुन सकेको देखिएन । तर पनि विधिको शासन र समाजवादको वकालत भने सधैँ गरिरहेका छन् । यो पक्ष उनको राजनीतिक यात्रामा सबैभन्दा सकारात्मक पक्ष मान्न सकिन्छ ।

तथापि पार्टीभित्र जिम्मेवारी दिने कुरामा निर्णय गर्दा आफन्तलाई हेर्ने बानीबाट पौडेलसँग कार्यकर्ता दुखित छन् । समावेशीको कुरा लेख्दा, बोल्दा उनले धेरै उचाल्ने गरेका छन् । तर कार्यान्वयन उल्टो हुने गरेका उदाहरणहरू प्रशस्त छन् । किनकि न उनी नेता चिन्न सक्छन् , न कार्यकर्ताको उचित मूल्याङ्कन गर्न नै सक्छन् । तर पारदर्शी मूल्याङ्कन गर्न भने चाहिँ छोड्दैनन्  । र उनीसँग जति सहयोगी, सहपाठीहरू छन् ती अर्धज्ञानी, अर्ध पुँजीवादी र अवसरवादी स्वभावका मात्र देखिन्छन् ।  त्यस कारण उनले  धोखा खान्छन् । पौडेलको राजनीतिक दौरानमा भइरहेको यी कमजोरीहरूले समाजवादलाई सही कार्यान्वयन र मूल्याङ्कन गर्दैन । न्याय हुँदैन ।

हुन त मान्छेमा अनेक कमजोरीहरू हुन्छन् । त्यो नौलो कुरा होइन । त्यस कारण रामचन्द्र पौडेलसँग पनि कमजोरीहरू छन् । तथापि ती कमजोरी भन्दा उनमा ठुलो चुनौतीको सामना गर्ने क्षमता र तागत राख्ने हिम्मतको कारण उनी आजसम्म राजनीतिमा जीवित छन् । उनले जीवनलाई राजनीतिसँग अन्तर घुलित गरेको पनि त सत्य हो । अवसरलाई जनताको निम्ति परिणाम दिन नसकेको घटना उनका दोष हुँदाहुँदै पनि राजनीतिक लडाइमा लडिरहने बानी पौडेलको सबल पक्ष हो । त्यसको पछिल्लो उदाहरण ओलीले  प्रतिनिधि सभा विघटनको घटनलाई असंवैधानिक र प्रतिनिधि सभाको पुन स्थापना हुनुपर्छ भन्ने अडानलाई लिन सकिन्छ । समाजवादलाई जीवन शैलीमा बदलौँ भन्ने आदर्श स्थापित गर्न लागिरहने पौडेलले पार्टी भित्रको सङ्घर्षमा अवसरवादीहरूसँग हात मिलाउन छाडे भने नेतृत्व पुग्न असहज छैन ।

जतिसुकै प्रतिकुल अवस्था भए पनि नडगमगाउने पौडेलले लामो समयदेखि भन्दै आएको राजनीतिक आदर्श कृषि क्रान्तिको माध्यमबाट समाजवादको निर्माण, थापित लोकतान्त्रिक संवादले आर्थिक, राजनैतिक, व्यक्तिगत स्वतन्त्रता जस्ता महत्त्वपूर्ण पक्षको सुनिश्चितता दिन सकियो भने पौडेल सामाजिक रूपान्तरणको सन्दर्भमा वीपीको पथ यात्री भएको पुष्टि हुनेछ । समाजवाद वीपीको समयदेखि पौडेलको समयसम्म आइपुग्दा कसरी रूपान्तरित हुनुपर्ने थियो ? कसरी भयो ? यसले वैज्ञानिक स्वरूप कसरी लिन पर्ने थियो ? व्यवहारिक पक्ष कस्तो हुनुपर्ने थियो ? ४८ देखि आजसम्म समाजवाद वीपीको सपना सम्झँदै जनशक्तिको उच्चतम सदुपयोग र राष्ट्रिय पुँजी निर्माणमा जोड दिएको पाइन्थ्यो भने आज समाजवाद रामचन्द्रको पालामा आइपुग्दा अराजक र अनियन्त्रित प्रवृत्तिको हुँदैन थियो । समाजवादका प्रथम आधारहरू विघटित हुनबाट जोगिन्थ्यो ।

समानता, सद्भाव ,र सामाजिक सन्तुलन भत्किएर व्यक्तिवाद, अहङ्कारवाद र परिवारवाद मौलाउँदैन थियो । स्वाधीन, आत्मनिर्भर र एकता लडेर पराधीन, परनिर्भर र खण्डीकृतको अवस्थामा पुग्दैन थियो । समाजवाद जुन ढङ्गको हुनुपर्ने थियो त्यो ढङ्गको नभएको कारण  यस्तो तरल र पराधीन अवस्थामा चलिरहेको लोकतान्त्रिक समाजवादलाई वर्गीय सम्बन्ध समाप्त गर्न, सद्भाव थापित गर्न र लोकतान्त्रिक समाजवादको स्वरूपमा परिवर्तन जस्ता महत्त्वपूर्ण पक्षको सुधार गर्न समाजवादी नेता रामचन्द्र पौडेलले हिम्मत गर्नुपर्छ अनि मात्र पौडेल नेतृत्वको लागि काबिल सिद्ध हुन्छन् । अन्यथा वीपीले थालनी गरेको लोकतान्त्रिक समाजवाद रामचन्द्रको समयमा आदिम साम्यवाद जस्तै कथा हुने छ । जय नेपाल । (लेखक काँग्रेस नेता हुन्)    



नयाँ