arrow

सुदूरपश्चिमका मुद्दा बोकेर राज्यमन्त्री सुनार काठमाडाैँमा, सङ्घीय सरकारसँग राखे माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
man bahadur sunar.png

काठमाडौँ । सुदूरपश्चिमका विभिन्न मुद्दाहरू लिएर प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार काठमाडौँ आएका छन् ।

राज्यमन्त्री सुनारको नेतृत्वमा महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर), भीमदत्त नगरपालिका ११ का समाजसेवी पूर्णानन्द जोशी, मुरारी सिंहलगायतको टोली काठमाडौँ आएको हो ।

केही दिनअघिको भारी वर्षाका कारण सुदूरपश्चिमलगायत देशभरका किसानहरूले अर्बौँको क्षति व्यहोरेका छन् । राज्यमन्त्री सुनारले बाढीका कारण धान बाली डुबानमा परेका पीडित किसानहरूलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।

'सरकारले राहत उपलब्ध गराउँछु भनेर मात्रै हैन, किसानलाई तत्काल खातामा नगद पैसा जाने गरेकी क्षतिपूर्ति दिनुपर्छ उसले आफ्नो व्यवस्था आफैँ गर्छ,' राज्यमन्त्री सुनारले भने । 

प्रधानमन्त्री शेरबहादुर देउवालगायतकाे टाेलिले गरेकाे सदुरपश्चिम भ्रमणकाे सन्दर्भ निकाल्दै उनले भने, 'राहतकाे व्यवस्था गर्छाैँ भनेर टारेर हुँदैन, तत्काल व्यवस्था गर्नुपर्छ,' हाम्राकुरासँग उनले भने ।

दुई दिनअघि काठमाडौँ आएको राज्यमन्त्री सुनार नेतृत्वको टोलीले गठबन्धन सरकारको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् । यसबाहेक टाेलिले सबैजसाे मन्त्रीहरूसँग भेटघाटसँगै छलफल गर्ने बताएकाे छ ।

के-के छन् राज्यमन्त्री सुनारका मुद्दा ?

पीडित किसानलाई राहत

बाढीका कारण धान बाली डुबानमा परेका पीडित किसानलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न राज्यमन्त्री सिंहले सरकारसँग आग्रह गरेका छन् ।

'सरकारले किसानको क्षति अनुसार नगद राहत दिँदा आवश्यक कुराहरूको व्यवस्थापन गर्न किसानलाई सहज हुने' उनको भनाइ छ ।

यस विषयमा आजै (मङ्गलवार) बैठक रहेको एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवसँग छलफल गर्ने कार्यक्रम रहेको राज्यमन्त्री सुनारले बताएका छन् ।

महाकालीमाथिको पुल हजार मिटर लामो हुनुपर्ने

महाकाली नदीमाथि बनिरहेको ४ लेनको पक्की पुलको दुरी लम्ब्याउनु पर्ने माग राज्यमन्त्री सुनारले राखेका छन् ।

'महाकाली नदीमा बाढी आउँदा पुल सुरु हुने स्थानसम्म नै डुबान पर्ने भएका कारण ८ सय मिटर लामो भनिएको पुलको लम्बाई २ सय मिटर बढाउनु पर्ने' माग राज्यमन्त्री सुनार नेतृत्वको टोलीको छ ।

'अहिले महाकाली नदीमा आएको बाढीले धेरै यतासम्म डुबानमा पारेको छ, पुल बन्न लागेको स्थानसम्म बाढी आउँदा पुल काम नलाग्ने हुनसक्छ, त्यसैले पुललाई १ हजार मिटर लामो बनाउनु जरुरी देखिन्छ,' उनले भने । 

यीलगायतका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवसँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको राज्यमन्त्री सुनारले बताएका छन् ।

भाइरल रोड पुनःनिर्माण

महाकाली नदीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ओदालीस्थित ६ लेनको सडक भत्किएको छ ।

कञ्चनपुरको भाइरल रोडका नामले समेत चिनिएको यो रोड तत्काल पूननिमार्णका लागि पनि राज्यमन्त्री सुनार नेतृत्वको टोलीले सरकारसँग आग्रह गरेको छ ।

सुख्खा बन्दरगाह निर्माण

कञ्चनपुरको महाकाली नगरपालिका–१ मा निर्माण प्रक्रिया अघि बढेको देशकै गौरवको आयोजना सुक्खा बन्दरगाहको निर्माण प्रक्रिया तिव्ररूपमा अघि बढाउन समेत राज्यमन्त्री सुनारले आग्रह गरेका छन् ।

सुक्खा बन्दरगाहसँगै अन्तर्देशीय व्यापारिक केन्द्र स्थापना हुने भएका कारण तत्काल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने राज्यमन्त्री सुनारको माग छ ।

भारतका दुई प्रदेशसँगै कञ्चनपुरदेखि महाकाली किनार हुँदै दार्चुला किङ्करसम्मको कोरिडोरले चीनलाई समेत जोड्न सक्छ।

'यसरी कञ्चनपुरको सुख्खा बन्दरगाह त्रिदेशीय केन्द्र समेत बन्छ, त्यसैले पनि निमार्ण प्रक्रियालाई तीव्रता दिन जरुरी छ,' राज्यमन्त्री सुनारले भने ।

दोधारा चाँदनी सुख्खा बन्दरगाहमा एकीकृत जाँच चौकी निर्माण स्थलको कार्यलाई तीव्रता दिन राज्यमन्त्रीले आग्रह गरेका छन् ।

विमानस्थल पुनः सुचारु गर्न पहल

यस्तै लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मजगाउँ विमानस्थल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउन  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेसँग भेटघाट गर्ने कार्यक्रम रहेको राज्यमन्त्री सुनारले बताएका छन् ।

विमानस्थल पुन सञ्चालनका लागि भएको सम्झौता अनुसार आजै भेटेर छलफल गर्ने र तत्काल सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन आग्रह गर्ने उनले बताए ।

यस्तै दार्चुलाको गोकुलेश्वर विमानस्थल समेत तत्काल सञ्चालनमा ल्याउन काम अघि बढाउन आग्रह गर्ने राज्यमन्त्री सुनार नेतृत्वको टोलीले जानकारी दिएको छ ।

महाकाली प्रादेशिक अस्पताल सुधार

महाकाली प्रादेशिक अस्पतालको सेवा सुविधा सुधारलगायतका विषयलाई समेत ध्यान दिन सङ्घीय सरकारलाई राज्यमन्त्री सुनार नेतृत्वको टोलीले आग्रह गरेको छ ।

सुदूरपश्चिमकै प्रमुख अस्पतालका रूपमा रहेको महाकाली प्रादेशिक अस्पतालमा सेवा सुविधा विस्तारका लागि अध्यक्ष कृष्णप्रसाद जोशीले समेत आग्रह गरेका छन् ।

यस विषयमा टोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग छलफल गर्ने कार्यक्रम रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ