arrow

यसकारण पनि प्रधानमन्त्रीबाट हट्न चाहन्थे ओली

logo
राजनीतिक व्यूरो,
प्रकाशित २०७३ साउन ८ शनिबार
kp-oli.jpg.jpeg
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा बिरुद्ध संसदमा आफ्नो नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावको बारेमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली आफै सरकारबाट वहिर्गमन गर्न गर्न चाहेको बताए। ओलीसँग भएका कुरालाई उदृत गर्दै प्रचण्डले भनेका थिए, ' ओलीजीले कि तपाइ एक्सन लिनुस कि म लिन्छु भन्नुभएको थियो। यसको अर्थ उहाँले सत्ता हस्तान्तरण नगर्ने भएपछि कि उहाँले हामीलाई बाहिर पठाउनुपर्‍थ्यो की हामीले उहाँलाई वाहिर पठाउनुपर्‍थ्यो। यो अवस्था जानाजान ओलीजीले सिर्जना गर्नुभएको हो। '
 
नौ महिना अघी २०७२ साल असोज सरकार बनाउनु अघी दुईवटा कम्युनिष्ट पार्टी एमाले र माओवादीको समेत एकिकरण गरेर कम्युनिष्ट केन्द्र समेत बनाउन सकिने भन्दै सार्वजनिक भाषण दिने ओली र प्रचण्ड अहिले एक अर्कालाई खुइल्याउने काममा लागेका छन्। ९ महिना अघी सँगै मर्ने बाँच्ने झै गरेका उनीहरुका बीचमा 'पारपाचुके' हुने भएको छ। यो गठवन्धन टुट्नुको पछाडी ओली नै कारक भएको प्रचण्ड र माओवादी वृत्तको आरोप छ। गठवन्धनको संस्कृती र मर्म विरुद्ध गएर ओलीले गरेका हर्कतका कारण सहकार्य टुट्ने अवस्था आएको माओवादीको बुझाइ छ। 
 
संविधान कार्यान्वयनका क्रममा हुने ३ वटा चुनावमा माओवादीलाई सँगै सरकारमा लिएर हिड्दा फाइदा नपुग्ने भएका कारण एमाले माओवादीसँग सहकार्य तोड्न चाहन्थ्यो। तर त्यसको अपजस आफूलाई नआओस र एकलौटी माओवादीलाई नै जाओस भन्ने एमाले चाहना थियो। सत्ताका लागि माओवादीले गठवन्धन टुटाएको आरोप एमाले लगाउन चाहन्थ्यो। ' राष्ट्रवादी ' आवरणमा गठन भएको सरकार विघटन गराउन विभिन्न शक्ति केन्द्रको माओवादी गोटी भएको आरोप उसलाई एमाले लगाउन चाहन्थ्यो। परिस्थिति एक हदसम्म भयो पनि त्यस्तै। त्यसका लागि उसले सरकारको केहि महिना नेतृत्व गर्न छोडेर पनि ११ महिना पछिको ठूलो दल बन्ने रणनीति बनाएको थियो। सरकारमा हुँदा पनि लड्डु नहुँदा पनि लड्डु पाइने भएपछि उसले केहि महिना पछिको फाइदा हेरेको थियो। यहि रणनीति अन्तर्गत माओवादीलाई चिढ्याएर गठवन्धन तोड्ने काम गरेको एमालेका रणनीतिकार नेताहरु बताउँछन। त्यसैले पनि एमाले माओवादीलाई सरकारमा पनि चिढ्याउने र बाहिर पनि चिढ्याउने अवस्थामा थियो। माओवादीको स्थानियस्तरबाट प्राप्त रिपोर्टमा पनि एमालेसँगको सहकार्य तोड्न सुझाव आएपछि माओवादी पनि यो निर्णय गर्न प्रेरित भयो। 
 
ओली सरकारमा आए लगत्तै देशवासीलाई एउटा भरोसा दिलाउने प्रयास गरेका थिए। नयाँ नयाँ सपना देखाएका थिए। विकासका पुलिन्दाहरु वाँडेका थिए। महत्वाकाँक्षा पनि बढेको थियो। भुराजनितिक अवस्थामा तत्कालिन अवस्थामा भोगेको परिस्थितिबाट फाइदा उठाउँदै उनले त्यसलाई आफ्नो राजनीतिक फाइदामा प्रयोग गर्न खोजे। केहि सफल पनि भयो। राष्ट्रियताको विषयमा उनले आफूले उठाएका बिषय अव्वल सावित गराउन खोजे। परिस्थिति उनको विरोध गर्नु अराष्ट्रिय हुनु झै बन्यो। यहि कुराको फाइदा लिएर उनले आफ्ना विरोधी, प्रतिपक्षी र सरकारमा रहेका माओवादीलाई पनि रक्षात्मक बनाए। तर उनको यो राष्ट्रवादको आवरण कतिपय अवस्थामा उघ्रिन थालेपछि उनी पनि रक्षात्मक बन्ने अवस्था पनि आयो। उत्तर र दक्षिणसँगको सम्वन्धका कारण फेरवदल हुने अवस्थामा पुगेको नेपाली राजनीतिमा उनले उत्तर कार्ड प्रयोग गरेको आरोप लागिरहँदा उनको सरकारले सञ्चार माध्यममा प्रकाशित हुम्लाको सीमाभित्र ४ किलोमिटर प्रवेश गरेर चीनले संरचना बनाएको समाचारको बारेमा केहि धारणा सार्वजनिक नहुनुले उनको राष्ट्रियता भनेको भारतको मात्र विरोध होकी भन्ने आशंका पनि बढ्यो। भारतले गरेको अतिक्रमण र हेपाहा प्रवृतीबाट आजित नेपाली सहयोगको नाममा अर्को अतिक्रमण सहन तयार थिएनन र छैनन पनि। यसबाट ओली रक्षात्मक बने। यि बाहे अरु कारणहरुले पनि उनलाई तथा  उनको पार्टीलाई सरकारबाट हट्न प्रेरित गरेको छ। तर अझै पनि केहि दिन संवैधानिक तथा अन्य अलमल गराएर उनी सत्ताको स्वाद भने लिन लालायित देखिएका छन्। 
 
बजेट कार्यान्वयनमा जटिलता
ओली नेतृत्वको सरकारमा रहँदै माओवादी उनलाई नीति तथा कार्यक्रम नै पेश गर्न नदिने तयारीमा थियो। तर उसको तयारी परिपक्व नहुँदा त्यो असफल भयो। सरकार बच्यो। तर सरकार बचाउन गरिएको विभिन्न सम्झौता र सहमतिले ओली दवावमा परे। तर त्यो दवावलाई उनले बजेट मार्फत मेटाउने प्रयास गरे। सामान्य खर्च समेत देशको आयले नधान्ने बजेट बनाएका ओली नेतृत्वको सरकारले कतिपय महत्वाकाँक्षी योजना मात्र सारेन आम नागरिकलाई लोभ्याउने खालका कार्यक्रम पनि ल्याए। कर्मचारीलाई तलव बढाए। मनमोहन अधिकारी पालाको झैं लोकप्रिय हुने नाममा एमालेका बिष्णु पौडेलले ओलीसँगको परामर्शमा माओवादीलाई सम्वोधन हुने खालका कार्यक्रमलाई वाइपास गरि एमालेमुखी बजेट ल्याए। जुन वजेट पास हुँदा एकातिर कार्यान्वयनमा एमाले नेतृत्वको सरकारलाई नै घाँडो हुने अवस्था थियो भने अर्कातिर सरकारबाट हट्ने अवस्था आउँदा एमालेले ल्याएको लोकप्रिय बजेट कार्यान्वयन हुन नदिन काँग्रेस माओवादी एक भए भन्ने आरोप लगाउन पाइने हुँदा ओलीका लागि अहिलेको सरकार भन्दा यसपछि प्राप्त हुने राजनीतिक लाभ बढी थियो। यसकारण ओली सरकार छोड्न चाहन्थे। 
 
माओवादीसँगको सहमति र सम्झौता
सरकार टिकाउन माओवादीसँग विभिन्न वुँदे सहमति र सम्झौता गरेका ओलीलाई आफ्नै पार्टी र विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरु र तिनका प्रतिनिधीहरुले दवाव बढाएका थिए। संक्रमणकालिन न्यायको नाममा विगतका फौजदारी अभियोग लागेकाहरुलाई छुट दिने गरि भएका सहमतिले एमालेलाई विभिन्न फोरममा रक्षात्मक बनाएको थियो। तर भित्रभित्र एमालेसँग सम्वन्धितहरुले माओवादी नेतृत्वका विरुद्ध देश विदेशमा मुद्धा मामिला गर्न थालेपछि एकातिर माओवादी शसंकित भयो भने अर्कातिर ओलीलाई पनि दवाव वढ्दै गयो। यो अवस्थामा अबका चुनावसम्म सँगै जाने अवस्था दुवै पार्टीका लागि थिएन। वहाना दुवैलाई चाहिएको थियो गठवन्धन तोड्न। प्रचण्डले अविश्वास प्रस्ताव संसदमा पेश गर्दा यस विषयमा कुरा राखेर यसको पुष्टी पनि गरे। 
 
आशा जगाइए अनुसार काम गर्न नसक्ने परिस्थिति
प्रधानमन्त्री ओलीले यस ९ महिनामा जनतामा आशा जगाउने भरोसा दिलाउने काम गरे। योजना सुनाए। सपना देखाए। तर त्यो सबै कुरा तबमात्र सहजताका साथ सम्भव हुन्थ्यो जब उनले देशभित्र र बाहिरका सबै शक्तिहरुलाई मिलाएर लैजान सक्थे। एकलाई प्रयोग गर्दै अर्कालाई साइजमा राख्ने तरिकाबाट त्यो सम्भव थिएन। यसले गर्दा जनतामा आशा जगाइए अनुसार काम हुने अवस्था थिएन। यसले ओलीको लोकप्रियता घट्ने निश्चित थियो। त्यसैले पनि उनी सत्ताबाट बाहिरिन चाहन्थे। तर यसका लागि उनले विपक्षी र माओवादीले आफूलाई काम गर्न दिएनन भन्ने आरोप लगाएर निस्कने चाहन्थे। यो उनको लागि उपयुक्त मौका थियो। 
 
संविधान कार्यान्वयनमा समस्या
संविधान निर्माण पछि कार्यान्वयनमा ठूलो समस्या देखिदै आएको थियो। मधेश तथा जनजातीहरुको एउटा हिस्साले संविधान वहिष्कार गर्ने घोषणा गरेर विरोधमा उत्रिदै आएको छ। सरकारले घोषणा गरेको स्थानिय निकायको चुनाव पनि सहजताका साथ हुन सक्ने अवस्था थिएन। काँग्रेस, माओवादी लगाएत आन्दोलनरत दलहरु एमालेले गर्ने भनेको चुनावको विरोधमा थिए। त्यसका लागि आन्दोलनरत दलहरुलाई मनाउने र स्थानिय निकायको सीमा निर्धारणका लागि गठन भएको समितिको प्रतिवेदन कुर्नुपर्ने काँग्रेसको न्यूनतम शर्त थियो। यो अवस्थामा एकातिर बाँकी १८ महिनामा संविधान कार्यान्यन सहजताका साथ हुने कुरामा एमाले सशंकित थियो। संविधान आएको दुई बर्षमा पनि कार्यान्वयन नभएको अपजस ओली लिन चाहँदैन थिए। त्यसैले उनले सरकार छोड्ने वातावरण आफै बनाइरहेका थिए। 
 
प्रतिवद्धता पुरा नहुने संकेत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएदेखि अहिले सम्म दर्जनौ चर्चित भाषण तथा गफहरु गरेका छन्। झण्डै दुई दशक अगाडी महाकाली सन्धी हुँदा स्याटलाईटबाट विजुली निर्यात गर्ने गफ दिएर चर्चा कमाएका प्रधानमन्त्री ओलीले एक बर्षमा यस्तो गर्छु उस्तो गर्छु भनेर प्रतिबद्धता जनाएका थिए। तर त्यस्ता दर्जनौ प्रतिवद्धता बाँकि ३-४ महिनामा पुरा नहुने र त्यसको जवाफ फेरि पटक पटक दिनुपर्ने भएपछि आफूलाई काम गर्न दिइएन भन्ने सहजिलो उपाए अपनाएर उनले सत्ताबाट बाहिरन माओवादीलाई किनारामा पार्ने प्रयास गरे। अहिले समिकरणले पनि यस्तै संकेत गर्छ।    
 
हावाबाट विजुली 
हावाबाट विजुली निकाल्ने योजना सुनाएको भाषणलाई प्रधानमन्त्रीले जग हसाउने गरी दिएर भाषणहरु मध्ये जनताले सवै भन्दा बढी उडाए। यही नै सवै भन्दा बढी चर्चित हावा गफ भयो प्रधानमन्त्री ओलीको । हावाबाट विजुली निकाल्नका लागि उनले जिम्मेवारी दिने भनेको कम्पनी नक्कली रहेको पुष्टी भएको थियो। अनि उनको गफ पनि नक्कली नै सावित भयो। आफ्ना भनाइहरु एकातिर मजाक र अर्कातिर नक्कलीहरुले पनि आफूलाई पनि अप्ठ्यारोमा पार्न थालेपछि ओली सत्ताबाट वाहिरन नै राजी भए।
 
चुलोचुलोमा ग्यासको पाईप
प्रधानमन्त्री ओलीको अर्को चर्चित गफ थियो घरघरका चुलो चुलोमा ग्यासको पाईप जोड्ने। मुलुकमा ग्यास नपाएर जनताले बजारमा पनि भोकै रहनु परेको, महिनौ लाईनमा बस्नु परेको र दाउराले पकाउनु परिरहेका बेला ओलीको त्यो हावादारी गफले जनतालाई थप पिडा दिएको थियो। उनीहरु ओलीको गफबाट हास्न भन्दा रिसाउन र उनीप्रति आक्रोस पोख्न तम्सीएका थिए। हाल ग्यासको सहजता भएपनि उनले घरघरमा ग्याँस पुर्‍याउने प्रतिबद्धता पुरा नहुने अवस्थामा त्यस्ता प्रश्नबाट बच्न पनि उनी सत्तामा बसिराख्न चाहदैन थिए।
 
एक बर्षमा लोडसेडिङ अन्त्य 
प्रधानमन्त्री ओली निर्वाचित भएकै बेला देखि एक बर्ष भित्रमा लोडसेडिङ अन्त्य गर्ने दावी गर्दै आईरहेका थिए। उनको यो गफमा विश्वास नगर्नेहरुलाई उनले राम्रो काम गर्न खोज्दा पनि हास्नेहरुलाई केही गर्न सकिदैन भन्दै संभव भएको दावी गर्दै आईरहेका थिए। उनले एक बर्षमा लोडसेडिङ अन्त्य गर्ने दावी गरिरहेकै बेला अन्य समयमा भन्दा बढी लोडसेडिङ भईरहेको थियो। लोडसेडिङ केहि घटाउन उनले 'राष्ट्रवादी' बन्नकै लागि विरोध गरिरहने भारतबाट थप विजुली किन्ने सहमति गरेर आफ्नो 'राष्ट्रवादी' चरित्र पनि देखाए। यसको अर्थ भारतसँग विजुलीमा परनिर्भरता अझ बढाए। लोडसेडिङबारे ओलीको बोली खेर जान नदिन भन्दै व्यङग्यका क्रममा इन्द्रजालका उपाय सिक्न समेत सुझाएका थिए। हावाबाट बिजुली निकाल्ने, जिओ थर्मल प्लान्टबाट बिजुली निकाल्ने भन्दा इन्द्रजालका उपाय सजिला हुने भन्दै ओलीको बारेमा खुवै टिप्पणी भएका थिए। यस्ता कुरा सुन्नुभन्दा सरकारबाट बाहिरिनुनै ठीक भन्ने अवस्थामा ओलीका पुगेका थिए। 
 
फोहोरबाट इन्धन 
प्रधानमन्त्रीले ओलीले पटक पटक दोहोर्याउने गरेको अर्को गफ थियो फोहोरबाट ईन्धन। काठमाडौमा फोहोरबाट ईन्धन निकाल्न सकिने र केही दिनमै ईन्धनबाट निकालिएको इन्धन काठमाडौंबासीलाई बाडिने भाषण प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भए लगत्तै गरेका थिए। तर अहिले सम्म पनि कही कतैपनि फोहोरबाट इन्धन निकालेर ग्यास तथा पेट्रोलियम पदार्थको बैकल्पीक व्यवस्था भएको भरपर्दो आधार देखिएको छैन्। यस्ता कुराहरुको जवाफ खोज्न थालिएपछि ओली रक्षात्मक बन्नु स्वभाविक थियो। यो अवस्थामा प्रधानमन्त्रीबाट बाहिरनु नै उनका लागि सहज बाटो हुन्थ्यो।
 
काठमाडौंमा इलेक्ट्रीक बस 
काठमाडौमा विजुलीबाट चल्ने बस चलाउने योजना प्रधानमन्त्रीले निकै सजिलैसंग सुनाएका थिए । केही हप्तामै त्यस्ता बस काठमाडौंमा सर्रर्र चल्न थाल्छन भनेर प्रधानमन्त्री ओलीले भनेको पनि महिनौ विति सकेको छ। तर विजुलीबाट चल्ने बसको कुनै छाँटकाँट छैन्। 
 
घरघरमा धारो
प्रधानमन्त्री ओलीले अब सार्वजनिक रुपमा धारोमा पानी थाप्ने दिनहरु अन्त्य भएको घोषणा समेत गर्न भ्याए। अब प्रत्येक घरमा धारो हुने घोषणा गरे। तर यो घोषणा कार्यान्वयन कसरी र कहिले हुन्छ भन्ने बारेमा ओलीले केहि बताएनन। अहिले पनि लाखौं नागरिक स्वच्छ खानेपानीको अभावमा रहेका छन्। नेपालमा अहिले पनि स्वच्छ खानेपानीको अभावमा धेरै नागरिक प्रत्येक बर्ष पानीजन्य कारणले रोग लाग्ने गरेको र कैंयौले ज्यान समेत गुमाउने गरेका छन्। 
 
तुईनमुक्त मुलुक
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पहिलो निर्णय प्रधानमन्त्री ओलीले मुलुकलाई तुईनमुक्त बनाउने भन्ने गरेका थिए। उनले मुलुकलाई तुईनमुक्त बनाउने घोषणा गरेपनि त्यस्तो अभियान भने अहिले सम्म केही देखिएको छैन्। त्यसैले यसलाई पनि विज्ञहरुले प्रधानमन्त्रीको अनावश्यक महत्वकांक्षी गफको संज्ञा दिएका छन्। 
 
बोली र व्यवहारमा फरक
प्रधानमन्त्री ओलीले भाषणमा जति चमत्कारका कुरा गरेका छन्, त्यतिकै ठिक उल्टोरुपमा व्यवहार देखाए। संविधानका प्रावधानहरु कुल्चने, मन्त्रालय फुटाउने, आधा दर्जन उपप्रधानमन्त्रीहरु बनाउने, मन्त्री पदलाई जागिरको रुपमा स्थापित गर्ने, मन्त्रीहरु पनि थपेर यसअघिका सबै रेकर्ड तोड्ने, मुलुकलाई अनावश्यक आर्थिक व्ययभार थप्ने, लोडसेडिड बढाउने, भूकम्प पीडित अझै व्यवस्था गर्न नसक्ने, कालोबजारी मौलाउने कुरा ओलीको भाषण विपरितको व्यवहार हो। त्यसैगरी राष्ट्रियताको कुरा गर्ने अनि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम छोडेर सञ्चालन अनुमति नपाएको हिमालयन एयरबाट चीन सफर गर्ने उनको अर्को व्यवहार विपरितको गफ मतदाताहरुले समेत रेकर्डमा राख्न थालेपछि ओली सरकारमा भन्दा बाहिर बस्नै उपयुक्त सम्झि बाहिरिने सोचमा पुगेको बताइन्छ। तर पनि उनी अझै केहि दिन प्रक्रियागत रुपमा अल्मल्याएर सरकारमा भने टिकिरहन चाहको उनको पछिल्ला गतिविधीले देखाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ