- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्कले ६ अर्ब डलर (करिब ७ खर्ब २५ अर्ब नेपाली रुपैयाँ) ले विश्वको भोकमरी कसरी हट्छ भन्ने पुष्टि गरेमा आफू दिन तयार रहेको भन्दै विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)लाई चुनौती दिएका छन्।
२६ अक्टोबरमा संयुक्त राष्ट्र सङ्घको खाद्य कार्यक्रमका निर्देशक डेभिड बीएस्लेले सीएनएनसँग बोल्दै एलन मस्कको २ प्रतिशत सेयरले विश्वको भोकमरी हटाउन सकिने टिप्पणी गरेका थिए । मस्क र जेफ बेजोसजस्ता अरबपतिले भोकमरीको समस्या समाधानको लागि अघि बढ्नुपर्ने टिप्पणी गरेका थिए ।
सीएनएनको उक्त समाचारको स्क्रिनसट फोटो ट्विटरमा राख्दै एक खोजकर्ता डा. एली डेभिडले मस्कको २ प्रतिशत सेयर ६ अर्ब अमेरिकी डलर हुन जाने उल्लेख गरेका छन् ।
उनले सन् २०२० मा विश्व खाद्य कार्यक्रमले ८.४ अर्ब अमेरिकी डलर सङ्कलन गरेको थियो भन्दै भोकमरी किन हटेन भनेर प्रश्न गरेका छन् ।
यो ट्विटलाई मस्कले रिट्विट गर्दै लेखेका छन्, 'यदि डब्ल्युएफपीले यो ट्विटर थ्रेडमा ६ अर्ब डलरले विश्वको भोकमरी कसरी हटाउँछ भनेर वर्णन गर्न सक्छ भने, म अहिले नै टेस्लाको सेयर बेचेर दिन तयार छु ।'
उनले अघि भनेका छन्, 'तर यो खुला रूपमा हिसाबकिताब हुनुपर्छ, तब मात्रै मानिसहरूले कति रुपैयाँ केमा खर्च भयो भनेर थाहा पाउने छन् ।' ब्लुमबर्गको अरबपति सूचि अनुसार अहिले एलन मस्कको सम्पत्ति ३ खर्ब ११ अर्ब अमेरिकी डलर रहेको छ ।