arrow
ADVERTISEMENT

तिहारमा गाई र गोरुसँगै किसानको विशेष पूजा गरिँदै, यस्तो छ महत्व  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
cow-worship.jpg

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको शुक्रबार चौथो दिन । कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने तिहारको चौथो दिन गाई, गोरु र हलि पूजा गरी मीठो खानेकुरा खान दिइँदैछ । गौमाताको रुपमा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको चलन हो । 

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने चलन रहेको हो । 

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको समितिले जनाएको छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिएको हो । गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधै प्राप्त हुने धार्मिक विश्वास छ । रक्षाबन्धनको दिन बाँधिएको रक्षाबन्धन यसै दिन गाईको पूजा गरी पुच्छरमा बाँधिदिए मृत्युपछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

त्यसैगरी वर्षभरि जोतिदिने गोरुलाई पनि यस दिन विशेष पूजा गरिन्छ र मीठामीठा परिकार खान दिने चलन छ । गोरुलाई भगवान शिवको बाहन साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । 

यसै दिन वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यस दिन खेतबारीमा काम गर्न नजाने चलन केही ठाउँमा रहेको पाइन्छ । 

नेपालजस्तो कृषिप्रधान देशमा हलि र किसानको महत्व अझ बढी नै रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ