- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जननायक बीपी कोइरालाको धेरैजसो जीवन निर्वासन र जेलमा बित्यो । उनले व्यक्तिगत जीवन एकदमै थोरै समय मात्र बिताए । स्वतन्त्रतापूर्वक र पारिवारिक रुपमा बीपीले धेरै समय बिताउन पाएनन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकारसमेत रहेका उनले धेरै समय राजनीतिक आन्दोलनमै बिताउनुपर्यो । ‘जेल जर्नल’ उनको चर्चित कृति हो । उक्त कृतिमा बीपीले आफ्नो व्यक्तिगतदेखि सार्वजनिक जीवनको बारेमा अनुभव सुनाएका छन् ।
गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’मा बीपीले आफ्नो व्यक्तिगत र राजनीतिक जीवनका बारेमा बोलेका छन् ।
वि.सं.१९७१ मा भारतको बनारसमा पिता कृष्णप्रसाद कोइराला एवं माता दिव्या कोइरालाको कोखबाट जन्मिएका उनी जीवनको अन्तिम कालखण्डसम्म तनावपूर्ण अवस्थामै थिए । विद्यार्थी जीवन बनारस, पटना, कोलकातामा विताएका उनले हिन्दुहरुको चाडपर्वमा परिवारसँग विताएर रमाइलो गरेको प्रसंग विरलै मात्र उल्लेख गरेका छन् ।
जेल जर्नलमा उनले तिहार र भाइटीकाको छोटो प्रसंग उल्लेख गरेका छन् । भाइटीकाबारे उनको छोटो अनुभवको प्रसंग यहाँ हामीले प्रस्तुत गरेका छौं:
'दिदीकहाँबाट आज मलाई भाइटीकाको प्रसाद र भाग आयो । बडो स्नेहसाथ त्यसलाई मैले ग्रहण गरें । दिदीबहिनीको मायामा एउटा कोमलता हुन्छ अरू किसिमको मायामा हुने जटिलता हुँदैन, एकदम सरल । विराटनगरमा इन्दिराले मलाई सम्झिहोलिन्, नलिनी र नूतन दिदीले पनि ।
बुनूको अर्कै भिन्न सामाजिक वातावरण भएको छ-आजको दिन रोममा उसलाई सम्झना भयो कि भएन होला ? मैंले दिदीबहिनीको ठूलो स्नेहको उष्णताको सदैव अनुभव गरेको छु । निश्चल र निष्कपट स्नेहसिक्त आशीर्वादको कुनै अदृश्य प्रभाव हुन्छ भने उनीहरूको स्नेहको कल्याण-कवचले म रक्षित छु ।
आज म झ्यालखानमा छु, दैत्यले घेरिएको बन्दी । मेरो वर्तमान स्थितिमा उनीहरूको मप्रतिको स्नेह हृदयमा झन् गहिरो तलबाट आज उम्लियो होला । भावनाको भौतिक क्षेत्रमा कुनै ठोस परिणाम दिने क्रियात्मक नहोला सही तर आत्मिक सन्तोष र गहिरो अनुभवमा मात्र प्राप्त हुने हार्दिक आनन्द यसको आफ्नो सामथ्र्यको कुरा हो ।'(जेल जर्नल पृष्ठ६०)
आज अमावस्या हो, दीपावलीको अमरात्री । घर-घरमे दिवाली है मेरे घरमें अंधेरा भन्ने विरही गीतको बोल मनमा उठिरहन्छ । भाइटीकाको दिन आज । कान्छी दिदी भान्जीहरूसाथ मलाई टीका लगाउन पाइन्छ भनेर आउनुभएको थियो । पाउनुभएन । फर्केर जानुभयो । टीका र खाने सामान मकहाँ पठाइदिनुुभयो ।
जर्नेलले पोहोर साल टीका लगाउने दिदीबहिनीहरू भए पाइन्छ भनेर टीकाकै दिन मलाई खबर गरेर कहाँबाट दिदीबहिनीहरू आउँथे । त्यसो हुनाले यसपालि पनि पाइन्छ भनेर पहिले जर्नेललाई दसैंको दिन भनेको थिएँ कि पाउने-नपाउने सूचना समयमा नै हाम्रो घरवालाहरूकहाँ पठाउन लगाइदिनुहोला ।
आमाले पनि जर्नेललाई भनेको थियो र कान्छी दिदीलाई पनि पाइन्न भन्ने सूचना नपाएकाले टीका भनेर आउनुभयो । मलाई आज बडो ठूलो निरादर भएको भावना भयो । समयमा सूचना नदिनु र त्यसपछि मैले आज जर्नेललाई सोध्दा सीएनसीबाट अर्डर नआएकाले भनी उत्तर दिनू । मलाई लाग्यो हाम्राप्रति बडो निरादारको व्यवहार हो ।
ममा तीव्र प्रतिहिंसाको भावना जागृत भएको छ । लाग्छ-मौकामा बदला लिन पर्खनुपर्छ मैले । मदालसाले मलाई एकचोटि भनेकी थिइन् कि इख नभएको मानिसले राजनीति गर्न हुन्न । आज त्यो वाक्यलाई झल्ल सम्झें । इख नभएको मानिस, विष नभएको सर्प काम लाग्दैन भन्छन् । नारदको सर्पको सम्झना भो मलाई । (जेल जर्नल पृष्ठ १५३)